भुवन पोख्रेल
‘मेरो सानो दुःखले आज्र्याको मुलुक होइन, सबैलाई चेतना भया’ आजभन्दा धेरै वर्ष अघि नेपाल बाइसेचौबीसे राज्यका रुपमा नेपाल विभाजित थियो । आधुनिक नेपालको एकीकरण गरी सिङ्गो नेपाल बनाउने वीर गोर्खाली पृथ्वीनारायण शाह हुन् । उनकै सम्झनामा पौष २७ गते राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइन्छ । यो दिन केवल एउटाको राजाको जन्मजयन्ती मात्र नभइ सिङ्गो नेपालीको पहिचान बोकेको नेपालीपनको विगुल फुकिएको एकता दिवस पनि मनाइन्छ ।
वि.सं. १७७९ मा आजकै दिन वा पौष २७ गते पिता नरभुपाल शाह, माता कौशल्यावतीदेवीका प्रथम पुत्र पृथ्वीनारायण शाह नै आधुनिक नेपालको खाका कोरेका थिए । उनलाई सम्झिन आवश्यक छ । पृथ्वीनारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्ताबेजले नेपाल अनि देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पर्छ, समग्रमा एकताको सन्देश दिन्छ । ‘घुस लिन्या र घुस दिन्या दुवै राष्ट्रका शत्रु हुन्’, ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो ।’ यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरलल परिभाषा अहिले पनि सान्दर्भिक छन् । आधुनिक नेपालको खाका कोर्ने यिनै राजाले नै गोरखामा देखेको काठमाडौंको सपनालाई सिङ्गो नेपालमा रुपान्तरण गर्दै नेपालमा शाह वंशको हतियारको नयाँ आयाम प्रादुर्भाव गरेका हुन् ।
प्रायः चोर औलामाथि उठाएर उभिएको पृथ्वीनारायण शाहको शालिक वा तस्वीरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिइरहेको, दिइरहनेछ । काठमाडौं र गोरखा बीचमा पर्ने नुवाकोट भू–भागलाई जितेर काठमाडौं छिरेका यिनले काठमाडांैको उत्तरपट्टि रहेको चन्द्रागिरी डाँडाबाट जब काठमाडौंको खाडललाई नियाले त्यस क्षण काठमाडौंको सौन्दर्यताले पृथ्वीनारायण शाहलाई लालायित बनाएको थियो । रणकौशलमा कुशल यी राजाले छापामार शैली अनि रणनीतिहरु लगाएर क्रमशः काठमाडौं, ललितपुर, भक्तपुर, कीर्तिपुर अनि न्य भूभागहरु जितेका हुन् । पृथ्वीनारायण शाहको कुरा गर्दा यिनका साहसी सेनाहरु कालु पाण्डेलगायतलाई इतिहासले बिर्सनु हुँदैन । कीर्तिपुर युद्धमा पृथ्वीनारायण शाहका दाहिने हात मनिएका कालु पाण्डेले वीरगति प्राप्त गरेका थिए ।
परराष्ट्र मामिलामा पनि यिनको कुशल कूटनीति बडो रोचक र प्रेरणादायी छ । ‘नेपाल दुई ढुङ्गा बीचको तरुल हो’ भन्ने दिव्योपदेशले छिमेकी मुलुक भारत र चीनसँगको नेपालको सम्बन्ध कसरी सन्तुलनमा राख्ने भन्ने शिक्षा दिन्छ । ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो, सबैलाई चेतना भया’, भन्ने दिव्योपदेशले नेपालमा रहेका विभिन्न जातजाति र भाषाभाषीप्रतिको सम्मान व्यक्त गर्दछ । अनेकतामा एकता सांस्कृतिक विविधता नेपाली संस्कृतिको विशेष्तालाई पृथ्वीनारायण शाहका पालादेखि नै जगेर्ना गरिएको थियो ।
युद्धका क्रममा धेरै पटकको पराजयपछि विजय भएकोमा रिसले कीर्तिपुरबासीका नाक, कान, काटिदिने आदेश दिएका पृथ्वीनारायण शाहको आजसम्म पनि कीर्तिपुरबासीले पुराना क्रुरताका कथाहरु भन्छन् । जे होस् आधुनिक नेपालका रचयिताको जन्मोत्सवमा सम्पूर्ण नेपाली एकता र मेलमिलाप मिश्रित अमर भावको विकास होस् । एउटा कुरा पृथ्वीनारायण शाह यतिबेला राष्ट्र निर्माणको महायात्रामा निस्केका थिए । युद्ध रणनीतिमा गरिएका प्रयासहरु व्यक्तिगत स्वार्थ र मोलाहिचामा थिएन ।
पृथ्वीनारायण शाहले त्यसबखत राष्ट्रिय एकताको महायात्रामा हार खाएका भए वा विफल नै भएका भए भने आज स्वतन्त्र अनि सार्वभौम नेपाल पक्कै हुने थिएन । यदि पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा हरेस खाएका भए आज स्वतन्त्र अनि सार्वभौम नेपाल पक्कै हुने थिएन । सदन अनि सडक दुवैतर्फ अहिले लोकतन्त्र अनि शक्तिको विकेन्द्रीकरणका नाराहरु छन् तथापि यी सबै संरचना अनि पृठभूमि तयार गरिदिने मान्छेलाई देशबासीले गणतन्त्र आए यता कतै भुल्न पो आँटेका हुन् कि भन्ने भान सबैलाई भएको छ ।
मुलुकको गौरवशाली इतिहासमा कुनै महान योद्धाका राष्ट्र निर्माणमा टेकिएका पाइला कसैले मेटेर मेटिने छैन । भविष्यको सन्ततीले पनि राष्ट्र निर्माणको अभियानमा पृथ्वीनारायण शाहको योगदान कहिल्यै बिर्सन सकिने छैन । तानाशाही राजतन्त्रको पुर्खा भन्दै २०६२÷०६३ को जनआन्दोलनमा पृथ्वीनारायण शाहको शालिकहरु भत्काइयो । २००१ सालपछि सरकारी तर्फबाट नै पुनः राष्ट्रिय एकता दिवसले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्नेछ ।
नेपाल एकीकरणमा योगदान गरेको योद्धाको अवमूल्यन कुनै हालतमा गर्न मिल्दैन । हामीलाई नेपाली नाम, पहिचान र देश दिने राष्ट्र निर्मातालाई पुष २७ गते मात्र एक दिन दिवस मनाएर, शालिकमा माल्यार्पण गरेर, औपचारिक कार्यक्रम सम्पन्न गरेर मात्र हामी नेपालीले उनीप्रतिको सम्मान गरेको ठहरिँदैन । सच्चा सम्मान त त्यतिबेला हुन्छ जतिबेला पृथ्वीनारायण शाहले दिएका दिव्योपदेशलाई अक्षरसः पालना गरी राष्ट्रिय एकता र अखण्डताका लागि एकसूत्रमा सबै नेपाली बाँधिन सक्छौँ । हामी जुन भूगोल र मानचित्रको आकारमा अवस्थित नेपाली भनी गर्व गर्छौँ, त्यसको जग पृथ्वीनारायण शाहले बसालेका हुन् । त्यो समय देखेको त्यो सपना सानो र चानचुने थिएन ।
बाइसे, चौबीसे राज्यलाई एकीकरण गरी पृथ्वीनारायण शाहले नेपाल सिङ्गो राज्यको निर्माण गरेका हुन् । उनले निर्माण गरेको राज्यमा कोही राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बनेर राज गरेका छन्, उनले मान, मर्दन गर्दैमा पृथ्वीनारायण शाहको अवमूल्यन कदापि हुँदैन । सच्चा देशभक्त नेपालीको मनमुटुमा उनी सधैँ अमर रहनेछन् । विसं. २०६८ को जनगणनाअनुसार नेपालमा मुख्य गरी १२५ जातजाति, १२३ भाषाभासी र १० धर्मावलम्बीको बसोबास रहेको छ । नेपाल एउटा सुन्दर फूलबारी हो भने हामी सबै नेपाली यो फूलबारीमा फुलेका फूलहरु हौँ ।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तरी हिमालदेखि दक्षिण तराइसम्म बसोबास गर्ने नेपाली नागरिकलाई नेपाली नामको एउटै धागोले एउटै माला गाँसेको छ । हिमाल, पहाड, तराई कोही छैन पराई, मेचीदेखि काली हामी सबै नेपाली । देशप्रतिको प्रेम र एकताले सबैलाई एकसूत्रमा बाँध्न मद्दत गर्छ । नेपालको सार्वभौमसत्तामाथि कसैले प्रहार ग¥यो भने नेपालीमा अभूतपूर्व एकता हुनुपर्छ । कहिल्यै नमिल्ने राजनीतिक दलहरु पनि राष्ट्रिय अखण्डताको सवालमा एकढिक्का बनेर अघि बढ्नुपर्छ । यही हो नेपालीले गौरव गर्ने परम्परा र वीर पुर्खाहरुले दिएको संस्कारको जगेर्ना । देशप्रेमप्रतिको यही शक्ति र उर्जाले हाम्रो राष्ट्रिय एकता र अखण्डता सदैव सुरक्षित रहने सुनिश्चितता दिन्छ । देशभक्त देशलाई गरिने प्रेम हो भने राष्ट्रियता राष्ट्रप्रतिको भावनात्मक लगाव हो ।
३०१औँ पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा आधुनिक नेपालको राष्ट्र निर्माताको योगदानलाई अवमूल्यन हुनु हुँदैन । पृथ्वीनारायण शाहले आधुनिक नेपालको जग बसालेका थिए । ‘मेरो साना दुःखले आज्र्याको मुलुक होइन, यो चार जात छत्तीस वर्णको साझा फूलबारी हो, सबलाई चेतना भया ।’ जस्ता पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि समयसान्दर्भिक छन् । प्रधानमन्त्री, राष्ट्रपतिले पृथ्वीनारायण शाहप्रति सम्मानका शब्द उच्चारण गर्न कन्जुस्याइ गरेनन् बरु उक्त दिन सार्वजनिक बिदा दिन कन्जुस्या नगरे हुन्छ ।
नेपालको एकीकरण अभियानले नै विश्वमा हामी नेपाली भनेर गौरव गर्न पाएका छौँ । त्यो अभियान सफल नभएको भए त्यो बेला विश्वव्यापी रुपमा छाएको उपनिवेशको प्रभावबाट हाम्रो देश जोगिने थिएन । सरकार प्रमुबाट आएको सकारात्मक अभिव्यक्तिबाट ३०१औँ पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने संकेत छ । नेपालमा अनेकौँ दिवसका नाममा दिइने सार्वजनिक बिदाभन्दा पुस २७ को बिदा महत्वपूर्ण छ । यो पृथ्वीजयन्ती मात्र भन्दा पनि राष्ट्रिय एकता दिवस पनि हो । वर्तमान सरकार सत्ता गठबन्धनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण वा सम्मान गर्दै पृथ्वीजयन्तीका दिन पुष २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ ।
विशाल नेपालको एकीकरणपछि नेपालको कसरी संरक्षण गर्नुपर्छ भन्नेमा पृथ्वीनारायण शाह अत्यन्त सचेत थिए । उनले उत्तरमा ठूलो राष्ट्र चीन र दक्षिणमा ठूलो राष्ट्र भारतको बीचमा कसरी सुरक्षित भएर कस्तो कूटनीति अवलम्बन गर्नुपर्छ भन्ने उसैबेला राम्ररी बुझेका थिए । ‘चीनको वादशाहसँग ठूलो घाहा (राम्रो सम्बन्ध) नराख्नु, दक्षिणका समुद्रको बादशाहसित घाहा त राख्नु तर त्यो महाचुर छ ।
देशका महाजनहरु हाम्रा मुलुकमा अन्यभन्दा दुनिया कंगाल गरी छाड्छन् ।’ भन्ने कुराले उनका उपदेश अहिले पनि सान्दर्भिक छन् । ‘नेपाल दुई ढुङ्गा बीचको तरुल हो, सबैलाई चेतना भया ।’, ‘घुस दिन्या र घुस लिन्या देशका शत्रु हुन्, टक्सार चोखो चलाउनु अदालतको पैसा दरबारमा नहाल्नु’, लगायतका उपदेशमा वर्तमान नेपालको राजनीतिक, आर्थिक र बाह्य कूटनीति झल्केको छ । नेपाल राष्ट्र र नेपाली राष्ट्रियताको जग बसाल्ने बडामहाराजधिराज पृथ्वीनारायण शाहले दिएका अर्तिउपदेशहरु पनि वर्तमान समय सापेक्ष देखिएका छन् ।
नुवाकोटको लडाइँमा पराजय भोगेपछि पिता नरभूपाल शाहको दिमाग असन्तुलनका कारण निधन भएर पृथ्वीनारायण शाह १७९९ सालमा २० साल कलिलो उमेरमा गोर्खाका राजा भए । उनले आफ्ना मामा तत्मालीन पाल्पाका युवराज उद्दोत सेनसँग काठमाडौं उपत्यका विजय गर्नका लागि सल्लाह मागेका थिए । मामाले भान्जालदाई लमजुङ भन्याको गरुड हो, गोर्खा सर्प हो र काठमाडौं भ्यागुतो समात्न सक्छ भन्ने अर्ती दिएका थिए । यही अर्ती अनुसार लमजुङसँग मैत्री कायम राख्न पृथ्वीनारायण शाहले कूटनीति अपनाए । काजी कालु पाण्डेको प्रयासबाट गोर्खा र लमजुङसँग चेपे नदीको किनारामा उनी र लमजुङका तत्कालीन राजा रिपु मर्दन शाहबीच चारबुँदे सन्धि कायम भएको कुरा इतिासमा वर्णन छ ।
पृथ्वीनारायण शाहलाई केही वर्ग र व्यक्तिले भ्रमपूर्ण विचार फैलाए र पृथ्वीनारायण शाहको शालिक ढाले । यस्ताहरुले पृथ्वीनारायण शाहको वास्तविक योगदान र नेपाल राज्यको जग निर्माण गर्ने व्यक्तिको रुपमा भावि पिढीले कहिल्यै बिर्सन सक्दैन । वर्तमान सरकारले पृथ्वीनारायण शाहको एकीकरण अभियान र राष्ट्र निर्माणमा गरेको योगदानलाई महसुस गरेर अहिले राष्ट्रिय एकता र पृथ्वीजयन्तीका उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय ग¥यो । यो निर्माण फेरि नबदलियोस् र निरन्तरता दिइयोस् ।
कसैको दबाब र प्रभावमा आएर बिदा दिन बाध्य भएको भनी भोलिका दिनका शासकले बोली नफेरुन् । नेपाल राष्ट्रको निर्मातालाई सम्मान गरेको देख्दा दलहरु सुध्रिएको र महसुस गरेको देखियो । राष्ट्र निर्माणको यो दिनले पुनर्जीवन प्रदान गर्दै साझा संस्कृतिको सम्वाहकको रुपमा सम्मान गर्नुपर्छ । हिजो शालिक ढाल्दै हिड्नेहरुले पनि राष्ट्र निर्माताको योगदानलाई महसुस गरेर सार्वजनिक बिदा दिएर प्रयाश्चित गर्ने मौका वा अवसर प्राप्त भएको छ । पृथ्वीनारायण शाहका समय यता विभिन्न ऐतिहासिक कालखण्डका क्रियाकलापलाई विश्लेषण तथा मनन् गर्दै आधुनिककालको भावी सुरक्षा रणनीति तय गर्नु सान्दर्भिक हुन्छ ।