घोराही,२५ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मानसिक उपचारमा ‘एमइसिटी’ सेवा थप भएको छ । प्रतिष्ठानमा थपिएको यो सेवा पश्चिम नेपालमा पहिलो भएको कार्यालयका सुचना अधिकारी निशान दाजु भट्टराईले जानकारी दिएका छन । सूचना अधिकारी भट्टराईका अनुसार पहिले सिधै मानसिक रोगका बिरामीलाई करेन्टलगाएर उपचार गरिदै आएको बिधिमा मोडिफाई गरेर मानसिक रोग विशेषज्ञ, एनेस्थेसीयोलोजीष्टको विशेष निगरानीमा बिरामीलाई दुखाई नै नहुने गरेर उपचार गरिने छ ।
गम्भीर प्रकारका मानसिक विरामीलाई करेन्टलगाएर गरिने उपचार पद्धतिलाई मोडिफाइ गरी बेहोश गराएर गर्ने भौतिक उपचारको पद्धति ‘एमइसिटी’ भएको र यसमा विरामीलाई दुःख नहुने प्रतिष्ठानका मनोचिकित्सा विभागका डा सञ्जीव पण्डितले जानकारी दिएका छन।
मानसिक रोगीलाई उपचार गर्ने पद्धति औषधि र भौतिक उपचार पद्धति भएको बताउँदै उले बिरामीलाई पिडा नदिएर उपचार गरिने उनले बताए । ‘इलेक्ट्रोकन्भल्सिप थेरापीमा न्यूरो केमिकल चेन्ज गर्न न्यूरो मोडुलेशन गरिन्छ । यो करेन्ट लगाएर गरिने उपचार पद्धति हो’, उनले भने,‘‘मान्छेले फिल्ममा देखे जस्तो करेन्ट लगाएर भाब्रेसन दिएर यसमा उपचार हुँदैन ।’ हामीले त मोडिफाइड इसीटी विधि प्रयोग गर्छौं ।’
मुटुको इसीजी जस्तै दिमागको इइजी गर्दा आएको कम्पन मेसिनमा हेर्ने डा.पण्डितले बताए । ‘एमइसिटीमा विरामीलाई अपरेशन थ्रेटरमा लगेर बेहोश बनाएर मांशपेशी पनि नचल्ने बनाएपछि दिमागमा इइजी लिडलगाएर मेसिनबाट इइजी हेर्छौं’, पण्डितले भने,‘लुम्बिनीमा भैरहवापछि । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा सुरु भएको छ ।’
यस पद्धतिबाट काठमाडौंलगायत अन्य ठाउँमा उपचार गर्दा तीन हजार रुपैयाँदेखिमाथि पर्नेमा प्रतिष्ठानमा एक हजार पाँच सयमा उपचार हुने प्रतिष्ठानले जनाएको छ । साविक राप्तीका कुनै पनि जिल्लाका बिरामीलाई उपचार गर्न बाहिर जानुनपर्ने डा पण्डित बताउछन । गम्भीर प्रकारका मानसिक रोगीलाई उपचार गर्न प्रतिष्ठानमा १० बेडको वार्ड सञ्चालनमा ल्याएको छ ।
‘एमइसिटी’ उपचारमा मनोचिकित्सा विभागका डा। सञ्जीव पण्डितसहित एनेस्थेसीयाका लागि डा। राजन शाक्य, प्रान श्रेष्ठ, कुन्दन घिमिरे, मेडिकल अफसर कपिल बेलबासे, बायोमेडिकल इन्जिनीयर शरद भण्डारि र नर्सको टिम छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनोचिकित्सा सेवा २०७७ माघबाट शुरु भएको थियो । असोज ३० गतेदेखि प्रतिष्ठानमा १० बेडसहितको मनोचिकित्सा विभाग बनाएर उपचार थालिएको छ ।