दाङ, २१ पुस । लुम्बिनी प्रदेशका ठूला राजनीतिक दलहरूले संसदीय दलको नेता टुंगो लगाएसँगै प्रदेशमा सरकार निर्माणको कसरत शुरु भएको छ । नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले निर्विरोध रूपमा संसदीय दलको नेता चयन गरेपछि नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको हो । एमालेबाट लिला गिरी, कांग्रेसबाट डिल्लीबहादुर चौधरी र माओवादीबाट जोखबहादुर महरा दलको नेतामा चयन भएका छन् ।
संघ सरकार गठनका क्रममा विकसित राजनीतिक घटनाक्रमसँगै लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिन एमाले र माओवादी दुवै दल तयार छन् । अब लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेका लीला गिरी र माओवादीका जोखबहादुर महरामध्ये एकले गर्ने सम्भावना छ । लुम्बिनी प्रदेशमा कुल ८७ सदस्यीय प्रदेशसभामा एमाले २९ सिटसहित सबैभन्दा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने एमालेको अडान छ । प्रदेशसभा सदस्य भूमिश्वर ढकाल एमाले प्रदेशकै ठूलो दल बनेकाले सरकारको नेतृत्वमा पनि आफूहरूको दाबी रहने बताए ।
उता सरकारको नेतृत्वका लागि माओवादी केन्द्रले समेत दाबी गरेको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जोखबहादुर महरा रोल्पा (१)बाट निर्वाचित भएका हुन् । माओवादीले महराकै नेतृत्वमा लुम्बिनी प्रदेश सरकार बन्नुपर्ने अडान राखेको छ । माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले माओवादीले पहिल्यैदेखि लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व गर्ने माग र अडान राख्दै आएकाले आफूहरूकै नेतृत्वमा नयाँ सरकार बनाउने प्रयास भइरहेको बताए । प्रदेशसभामा माओवादीको संख्या ९ रहेको छ । कांग्रेसले आवश्यक परेको अवस्थामा सरकारको नेतृत्वका लागि अघि बढ्ने बताए पनि केन्द्रको सत्ता समीकरण अनुसार नै प्रदेशमा पनि सरकार बन्ने देखिएको छ ।
कांग्रेस लुम्बिनी प्रदेशमा अहिले प्रमुख प्रतिपक्षी दलको हैसियतमा बस्ने सम्भावना बढेको छ । प्रदेशसभामा २७ सिटसहित दोस्रो ठूलो राजनीतिक दलका रूपमा कांग्रेस रहेको छ । लुम्बिनी प्रदेशमा सरकार निर्माणका लागि ४४ सदस्य आवश्यक पर्छ । एमाले र माओवादी केन्द्र मिलेर जम्मा ३८ सांसद संख्या छ । सरकार निर्माणका लागि अपुग अरू थप ६ सदस्य संख्या अन्य दलबाट खोज्नुपर्ने अवस्था छ । लुम्बिनी प्रदेशको पहिलो बैठक पुस १८ मा बसेको छ भने अबको बैठक माघ ३ मा बोलाइएको छ ।
सिजल माओवादीमा फर्किए
लुम्बिनी प्रदेश सभाका सदस्य दिपेन्द्रकुमार पुनमगर ‘सिजल’ पुनः नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् । उनलाई पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः पार्टीमा प्रवेश गराएका हुन् । मंसिर ४ गते सम्पन्न संघ र प्रदेशसभाको निर्वाचनमा रोल्पा १ (२) मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसलाई दिने निर्णयविरुद्ध उनले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
जनयुद्धको घाइतेसमेत रहेका उनी यसअघि पार्टीको पोलिट्ब्युरो सदस्य र रोल्पा जिल्ला इञ्चार्जको रुपमा कार्यरत थिए । उनलाई पार्टीका उपमहासचिव तथा रोल्पाका प्रतिनिधिसभाका सदस्य वर्षामान पुनको सक्रियतामा पार्टी प्रवेश गराइएको हो । राजीनामालाई सो पार्टीले स्विकृत गर्दै सबै जिम्मेवारीबाट निष्कासन गरेको थियो ।
तर स्वतन्त्र उम्मेदवार बनेका उनले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए । उनको प्रवेशसँग नेकपा (माओवादी केन्द्र)को प्रदेश सभा सदस्यको संख्या दश पुगेको छ । पुनले १४ हजार ९२७ मतसहित प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अमरसिंह पुनले १० हजार ४०६ मत पाएका थिए । उक्त क्षेत्रमा नेकपा (एमाले) तेस्रो भएको थियो ।