आलोक भावुक
गढवा, १९ पुस। दाङको गढवा गाउँपालिकाले गढवा गाउँपालिका -८ कोइलाबास सिमानाकामा कोभिड-१९ हेल्थ डेस्क स्थापना गरिएको छ।
गढवा गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)नयाँ भेरियन्टको संक्रमणकाे जोखिम बढ्दै गएपछि हेल्थ डेस्क सिमा नाकामा हेल्थ डेस्क स्थापना गरिएको हो।
गाउँपालिकाले डेस्क कार्यालय दाङसँगको समन्वयमा गढवा गाउँपालिकाको वडा नं ८ कोइलाबास सिमा नाकामा हेल्थ डेस्कको स्थापना गरेको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिनुभयो।
भारतबाट नेपाल भित्रिने यात्रुहरुको स्वास्थ्य परीक्षणका लागि मंगलवारदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएको प्रमुख चौधरीले बताउनुभयो। हेल्थ डेस्कमा हाललाई एकजना स्वास्थ्यकर्मी स्वास्थ्य चौकी कोइलाबासबाट खटाइएको छ। आवश्यकताअनुसार थप जनशक्ति परिचालन गरिने भएको छ ।
मंगलवार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कोभिड – १९ हेल्थ डेस्क स्थापना गरिएको हो। हेल्थ डेक्सको स्थापना कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले कोरोनाको नयाँ भेरियन्टबाट बच्न आ-आफ्नो स्थानबाट सावधानी अपनाउदै सजक रहन र सिमा नाका भएकोले नेपाल प्रवेश गर्ने सम्पूर्णलाई अनिवार्य माक्स र तापक्रम नाप्न अनुरोध गर्नभयो ।
भारतीय सुरक्षाकर्मीसंग सहकार्य गरेर सिमा क्षेत्रमा कडाइ गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरी बलका प्रमुखहरुलाई आग्रह गरिएको छ।
स्वास्थ्य कार्यालय दाङका कोभिड फोकल पर्सन कमल चन्दले कोरोना संक्रमितहरुलाई लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगंज र लुम्बिनी अस्पताल बुटवललाई मात्र कोभिड उपचारको लागि तोकेको जानकारी दिनुभयो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई पनि कोरोना संक्रमितहरुको उपचार गर्नका लागि सुचिकृत गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका बामदेव शर्माले चाईनामा नयाँ भेरियन्टले खतराको संकेत गरेकोले हामी पनि समयनै सतर्क रहन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका बामदेव शर्मा, शसस्त्र प्रहरी बलका देवीलाल गोतामी, जनपदका प्रमुख कुमार केसी, स्वास्थ्य लेखा अधिकृत केशव पाण्डे, स्वास्थ्य चौकी कोइलाबासकी प्रमुख तुला चौधरी, शान्ति पुनरस्थापना गृह कोइलाबासकी सिमा जिसीलगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण गढवा स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो ।