अमरराज आचार्य
दाङ, १८ पुस । घोराही उपमहानगरपालिकाले सडकमा फोहर फालेमा जरिवाना गर्ने भएको छ । उपमहानगरपालिकाले नगरलाई सफा बनाउन यस प्रकारको अभियान सुरु गर्न थालेको जनाएको छ । नागरिकलाई सचेत बनाउने त्यसपछि अटेरी गरेमा जरिवाना तिराउने घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखाका प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । घोराही उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखाले सवारी साधनबाट उत्पादन हुने फोहरलाइ निरुत्साहित गर्नेसम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘पहिले जानकारी गराउने त्यसपछि कडाइँका साथ अगाडि बढ्ने छाँै’, उनले भने । जानकारी नै नगराएर जरिवाना गराउनुभन्दा पहिले जानकारी दिन सुरु गरिएको समेत उनले बताए । सचेत गराउने अभियानअन्र्तगत यातायात व्यवसायीहरुसँग छलफल गरिएको उनको भनाइ रहेको छ । गाडीमा यात्रा गर्दा यात्रुहरुले गाडीबाट फोहर फाल्ने गरेको बताए । यसका लागि गाडीमा डस्टबीनको व्यवस्था गरिनुपर्ने अधिकारीले बताए । ‘गाडीमा राखिएको डस्टबीनमा राखिएको फोहर उपमहानगरपालिकाले व्यवस्था गरेको स्थानमा लगेर राख्नुपर्ने छ’, अधिकारीले भने ।
यात्रुहरुलाई गाडीका चालक तथा सहचालकहरुले सचेत गराउनुपर्ने समेत उनले बताए । जसले गर्दा गाडीबाट फोहर फाल्ने काम रोकिने उनको भनाइ रहेको छ । उपमहानगरपालिकाले सरसफाई अभियान सञ्चालन गर्दै आए पनि सवारी साधन तथा पैदल यात्रुले सडकमा फोहर फाल्दा समस्या हुने गरेको शाखा अधिकृत अधिकारीले बताए । सबैको सहयोगबाट नै नगरलाई सफा र सन्दर बनाउन सकिने उनको भनाइ रहेको छ । चोकमा लामो समयसम्म गाडी रोकिने गरेको भन्दै यसलाई व्यवस्थापन गरिनुपर्ने बताए । ‘लामो सयम गाडी रोकिने स्थानमा यात्रुले धेरै फोहर गरेको पाइएको छ’, उनले भने । चोकमा निश्चित समय रोकिन पाउने व्यवस्था गरिनुपर्ने उनले बताए ।
घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले नागरिकमा दण्ड नगर्दासम्म अटेरी गर्ने प्रवृत्ति रहेको बताए । यस प्रकारको कार्य परिवर्तन हुनुपर्ने बताए । सवारीका साधनहरुको फोहर व्यवस्थापनसम्बन्धी सचेतनामूलक स्टीकर टाँस्नसमेत आग्रह गरे । गाडीमा चढ्ने यात्रुलाई सचेत गराउनुपर्ने उनले बताए ।
‘पटक–पटक जानकारी गराएमा नागरिक सचेत हुनेछन्’, प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने । नागरिकलाई पनि सडकमा हिँड्दा फोहर राख्ने डस्टबीनको व्यवस्था गरिनुपर्ने बताए । जसले गर्दा उनीहरुले बाहिर फोहर फाल्न रोकिने उनको भनाइ रहेको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएपी राजन गौतमले सबैले आ–आफ्नो स्थानबाट इमानदारिता देखाउनुपर्ने बताए । सबैको साथ र सहयोग रहेमा हरेक क्षेत्रको सुधारमा सहयोग पुग्ने उनको भनाइ रहेको छ ।
प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले मानिसको सोचमा परिवर्तन हुनुपर्ने बताए । नागरिकको सोचमा परिवर्तन नहुँदासम्म परिवर्तन हुन नसक्ने बताए । ‘पहिले सफा गरेर फोहर फाल्न नदिन प्रयास गर्न लाग्नुपर्ने उनको भनाइ रहेको छ । पहिले भएको फोहर सफा गराँै अनि फोहर फाल्न नदिन लागौँ’, उनले भने । घोराहीमा पार्किङको समस्या रहेको समेत बताए । पार्किङको व्यवस्था गर्न उपमहानगरपालिकाले पहल गर्नुपर्ने उनले बताए ।
नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमले नागरिकको आनीबानीमा सुधार ल्याउनुपर्ने बताइन् । आनीबानीमा सुधार नल्याउँदासम्म समस्या हुने गरेको उनको भनाइ रहेको छ । ‘नागरिकको व्यवहार सुधार गर्न आवश्यक छ’, उनले भनिन् । हरेक गाडीमा डस्टबीनको व्यवस्था गरिनुपर्ने उनले बताइन् । डस्टबीन नहुँदा यात्रुले बाहिर फाल्ने गरेको उनको भनाइ रहेको छ ।
उपमहानगरपालिका उपभोक्ता हित शाखाका प्रमुख श्रीधर अधिकारीले रुट परमिट एकातिरको तर घोराहीमा अटो सञ्चालन हुँदा समस्या भएको बताए । ‘एकतिरको रुट परमिट ल्याएर घोराहीमा सञ्चालन भइरहेका छन्’, उनले भने । यसले अटो व्यवस्थापनमा समस्या भएको बताए । सोही कार्यक्रममा बोल्दै अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालिका उपाध्यक्ष मोतीलाल न्यौपानेले गाडीका चालक तथा सहचालकले सचेत गराउँदा गराउँदै पनि यात्रुले अटेरी गर्ने गरेको बताए । नागरिकमा अटेरीपना रहेको उनको भनाइ रहेको छ । ‘हामीले हाम्रो तर्फबाट सफा सुन्दर नगर बनाउने अभियानमा सहयोग गर्दछौँ’, उनले भने । चालक तथा सहचालकहरुलाई आफूहरुले निर्देशन दिने र अनुगमन गर्ने समेत न्यौपानेले बताए ।