बालाराम खड्का
तुलसीपुर, १६ पुस । ‘नयाँ प्रविधिहरू दिन दुईगुणा रात चौगुणाको’ गतिमा विकास भइरहेको छ । समय परिवर्तनशील छ, समाज गतिशील छ । विज्ञान र प्रविधिमा आएको चामत्कारिक परिवर्तनले शिक्षा क्षेत्र पनि प्रभावित बनेको छ । सिक्ने–सिकाउने तौरतरिकामा धेरै फेरिएका छन् ।
सिकाइलाई जीवन्त र रोचक बनाउन नयाँ–नयाँ विधि, प्रविधि र तौरतरिका प्रयोग हुनथाले सँगै भर्सटायल विद्यार्थीहरू अघि–अघि र शिक्षक पछिपछि रहेको बताएको छ । प्रविधिको दुनियामा निकै पछाडि रहेका शिक्षकले विद्यार्थीलाई सिकाइमा दौडाउनसकेका छैनन् । शिक्षक दौड्न नसक्दा विद्यार्थीको सिकाइको यात्रा अवरूद्ध भएको छ । राज्य सञ्चालकहरू पनि गैरजिम्मेवार भए, शिक्षकलाई दौडाउन सकेनन् ।
शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले अब यो तीतो यर्थाथलाई आत्मसात गदै अगाडि बढ्नुपर्ने बेला आएको बताए । उनले ६ महिनाको बच्चा मोबाइल दिएपछि चुप लाग्ने अवस्था आएको भन्दै अब शिक्षण सिकाइलाई पनि प्रविधिसँगै लैजानुपर्नेमा जोड दिए । तुलसीपुर उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाको आयोजनामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि क्षमता विकास तालिम तथा अभिभावक शिक्षा कार्यक्रममा बोल्दै कोइरालाले अब शिक्षकहरूलाई ल्यापटपबिना विद्यालयभित्र छिर्न समेत दिन नहुने बताए ।
‘प्रविधिको विकाससँगै सिकाइमा नयाँ चुनौती थपिएका छन्, अब स्थानीय सरकारले पनि एउटा स्कूलमा दुईवटा कम्प्यूटर दिने होइन प्रत्यक शिक्षकलाई ल्यापटप त्यो पनि उनीहरूकै पैसाले किन्ने व्यवस्था गर्नुपर्छ’, उनले भने । उनले संसदको उदाहरण दिँदै अरुले किनिदिएको ल्यापटप वा सामानको माया नहुने भन्दै आफै किन्नुपर्ने बताए । पछिल्लो समयमा फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल अनि युट्युब, टेलिभिजन, पत्रपत्रिका सञ्चार माध्यमले किताबका अक्षरहरूलाई निरस र फिक्का बनाइदिएको अवस्थामा केटाकेटीले किताब पल्टाउन झन्जट मान्ने समय आएको उनको भनाइ थियो ।
विज्ञान र प्रविधिको क्षेत्रका नवीनतम आविष्कारले शिक्षा क्षेत्रमा हलचल ल्याए पनि अभिभावक र शिक्षकले इन्टरनेट, फेसबुक, मोबाइलजस्ता साधनहरूको प्रयोगलाई सिकाइको बाधाका रूपमा बुझेको र प्रविधिलाई सिकाइसँग जोड्नुपर्ने उनको भनाइ थियो । ‘परम्परागत शिक्षण पद्धतिले विद्यार्थीलाई सिकाइप्रति आकर्षित गर्न नसक्दा तिनले अध्ययनलाई बोझका रूपमा लिनथाले’, उनले भने । त्यस्तै कोइरालाले अब अभिभावकले पनि आफूले जे किताबमा पहिले पढियो, घोक्यो त्यो अबका बालबालिकाले गर्नुपर्छ भन्ने भनाइ र बुझाइ गलत भएको बताए ।
‘अहिलेको विद्यार्थीले मोबाइल चलाउन, प्रविधिको बारेमा जानकारी लिन र प्रयोग गर्न खोज्ने भए तर शिक्षक तथा अभिभावकलाई विद्यार्थीले मोबाइल चलाएको पटक्कै मन नपर्ने हुन सक्छ’, उनले भने, ‘अबका विद्यार्थी केटाकेटी भर्सटायल भएका छन्, बहुप्रतिभाशाली उनीहरूले किताब पनि पढेका हुन्छन्, मोबाइल, इन्टरनेटमा उपयोगी कुराहरू के छन्, भनेर टिभी मोबाइल किताब सँगै फिजेका हुन्छन्, त्यो गलत होइन बरु त्यसलाई प्रविधिलाई सिकाइमा कसरी जोडे भनेर बुझ्नुपर्छपर्छ ।’
अभिभावले त्यसलाई गाली गर्ने गरेको उनले बताए । अबका बालबालिकालाई कर्तव्य भरि सिकाउनुपर्ने उनको भनाइ थियो । त्यस्तै कोइरालाले विद्यालयका प्रधानाध्यापकले विद्यार्थीको प्रतिभा र क्षमता चिन्न नसकिरहेकाले पनि समस्या हुने गरेको बताए । ‘वास्तवमा विद्यार्थी सम्भावनाका खानी, उनीहरू क्षमताका धनी हुन्छन्, हरेक विद्यार्थीमा कुनै न कुनै प्रतिभा अन्तरनिहित हुन्छ’, उनले भने । त्यसलाई गरिखाने सीप सिकाउनुपर्ने उनको भनाइ थियो ।उनले प्रअ र शिक्षकहरू कहिले पाटी मिलेन, कहिले यो भयो, त्यो भयो भन्ने गरेको समेत बताए ।
कोइरालाले निजी र सामुदायिक विद्यालयबीचको विरोधलाई अब अन्त्य गर्नुपर्ने भन्दै अब साझेदारी गरी अगाडि बढ्नुपर्ने बताए । तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख टीकाराम खड्का, उपप्रमुख स्यानी चौधरीलगायले गुणस्तरी र व्यावहारिक शिक्षा आजको आवश्यकता भएको बताएका थिए । कार्यक्रममा कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, पेसागत शिक्षकलगायतको सहभागिता थियो । शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा अधिकृत मानबहादुर खड्काले गरेका थिए ।