शिक्षा शिक्षणमा सुधार

युवराज शर्मा
छोराछोरीलाई स्कूल पठाएर पढाउनुपर्छ भन्ने भावना आमाबुवाहरुमा जागरण आएको छ तर नेपालमा दुईथरिका स्कूल छन् । प्रथम सामुदायिक, द्वितीय संस्थागत बोर्डिङ स्कूल । गाउँघरमा भएका बालबालिकाले दुईथरिका स्कूलमा पढ्ने गर्छन् । उनीहरुले पढ्ने पाठ्यपुस्तकहरु पनि फरक–फरक शैलीका विषयवस्तु भएका छन् । दुवैले पढ्ने विषयहरु पनि फरक भए तापनि कक्षा १० को एसइई परीक्षा प्रश्नपत्र दुवै स्कुल्का विद्यार्थीहरुको लागि एउटै हुन्छ । त्यो पनि सामुदायिक स्कूलको पढाइ हुने पाठ्यक्रममा आधारित हुन्छ ।

संस्थागत स्कूलमा विद्यार्थीहरुलाई पाठ्यक्रम सम्बन्धमा प्रायः ज्ञान हुन्न । उनीहरु पाठ्यपुस्तकका आधारमा प्रश्नोत्तर विधिमा सीमित हुन्छन् । तैपनि सामुदायिक स्कुलका विद्यार्थीको तुलनामा प्रायः बोर्डिङ स्कुलका विद्यार्थी पढाइमा उत्तम हुन्छन् भन्ने सोचाइ बाबुआमा र अभिभावकहरुमा छ । साथै सामुदायिक स्कूलहरुका शिक्षकहरुमा पनि छ । त्यसकारण उनीहरुले आफूले पढाउने सामुदायिक स्कूलको पढाइ उत्तम छैन भन्ने ठानेर आफ्ना छोराछोरी, भाइबहिनीहरुलाई संस्थागत बोर्डिङ स्कूलमा पढ्न पठाएको पाइन्छ । शिक्षकलाई आफूले पढाउने विषयहरुमा विश्वास छैन । तलव थाप्नका लागि सामुदायिक स्कूलमा पठाउने शिक्षक भएको सुनाउँछन् । आफ्नो पढाइलाई कमजोर ठान्छन् ।

शिक्षा नै विकास र समृद्धिको लागि अतिआवश्यक छ । जबसम्म ज्ञानको विकास हुँदेन तबसम्म सीपको विकास हुँदैन । ज्ञान र सीपको विकास नभएसम्म बुद्धिको विकास मानवले गर्न सक्दैन । त्यसका लागि बाल्यावस्थादेखि ज्ञान र सीपको विकास गराउन आमाबाबु वा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ ।

आमाको माया र बाबुको रेखदेख नपुगेका बालबालिकामा सिर्जनात्मक ज्ञान बढाउन लामो समय लाग्छ । अझ घरमा आमाको निर्देशन र स्कूलमा शिक्षकको शिक्षण प्रभावकारी भएन भने बालबालिकामा छाडापन बढ्छ । पढाइमा रुची हुँदैन । साथीसंगीको साथमा बरालिन सकिन्छ भन्ने सोचाइमा हुन्छन् । खराब साथीको संगत भएमा गलत बाटो अवलम्बन गर्छन् । आफ्नो चरित्र आफै बर्बाद गर्छन् । यसतर्फ बाबुआमा वा अभिभावकहरुले ध्यान दिनुपर्छ ।

अहिले सामुदायिक विद्यालयहरुमा भौतिक सुधार भए पनि समष्टिगत रुपमा शिक्षण गतिविधिलाई सुधार गरेको पाइँदैन । विद्यार्थीहरुमा पढ्ने झुकाव भए पनि पढाउने शिक्षकहरु राजनीतिक पूर्वाग्रहले ग्रसित मानसिकता बढ्दो रुपमा भयो । यदि राजनीतिक दलीय पक्षधर नभएपछि बढुवा र सरुवाको सजाय भोग्नुपर्ने अवस्था आउने हुँदा दलगत धारमा समावेश भएको पाइयो ।

उनीहरुले पढाइलाई भन्दा जागिरको सुरक्षा र सुविधाका लागि दलीय भावना बढाएको पाइन्छ । पढाइलाई कम प्राथमिकता दिने गरेको देखियो । जबसम्म शिक्षा प्रशासनमा स्वच्छता र पारदर्शिता भएपछि मात्र सुखपूर्ण शिक्षण कार्य शिक्षकहरुबाट हुने आशा गर्न सकिन्छ तर भरोसा गर्ने आधार शिक्षकहरुले नै बनाउनु पर्नेछ ।

सामुदायिक विद्यालयहरुमा पढ्ने विद्यार्थीहरु धेरै संख्या गरिब र विपन्नवर्गका छन् । उनीहरुले कलमकापी पनि किन्न नसक्नेहरु धेरै छन् । सरकारले पाठ्यपुस्तकहरु निःशुल्क दिए पनि समयमा दिँदैन । करिब ५ महिनापछि पाठ्यपुस्तकहरु उपलब्ध गराउने सरकारी कार्यशैली भएपछि पढ्ने विद्यार्थीहरु पछि पर्ने अवस्था छ । यस्तो अवस्थामा गरिब र विपन्नवर्गले पढाइ छोड्छन् । थोरै मात्र माथिल्लो कक्षामा पढ्छन् ।

यो अवस्थालाई हेर्दा कक्षा १ मा ४५ जना विद्यार्थीहरु छन् भने कक्षा ५ मा क्रमशः कक्षागत घट्दै जाँदा विद्यार्थीहरु ५ जना भएको अवस्था छ । ती ५ जनाले आधारभूत शिक्षा पाउनसकेका छैनन् । त्यसको मूलकारण स्कूल टाढा र घरको आर्थिक कमजोर अवस्थाले गर्दा हो ।

अहिले पनि सामुदायिक स्कूलहरुको वातावरणमा विद्यार्थी घट्नुको अवस्थालाई नियाल्दा गरिब र विपन्न परिवारमा आर्थिक अवस्थाले विदेशिनु परेका घटनाहरु छन् । देशमा रोजगारको वातावरण भयो भने गरिब र विपन्न परिवारका छोराछोरीले शिक्षा पाउने अवसर जुट्नसक्छ । सामुदायिक स्कूलहरुको अवस्थामा शिक्षण सुधार भएको देखिनेछ ।

संस्थागत विद्यालयहरुमा पढ्ने विद्यार्थीहरु सम्भ्रान्त परिवार, रोजगार गर्ने व्यक्तिहरुको परिवार र शिक्षकहरु जो सामुदायिक स्कूलमा पढाउँछन् उनीहरुका छोराछोरीहरु पढ्ने स्कूल हो भनाइ सामुदायिक स्कूलमा पढ्ने विद्यार्थीहरुले सुनाउँछन् । वास्तवमा त्यस्तै छ पनि तर एसइई परीक्षा सामुदायिक स्कूलको पाठ्यक्रमबाट प्रश्नपत्र बन्छन् । जाँच पनि राष्ट्रिय स्तरमा हुन्छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र तयार पारेर परीक्षा लिने गर्छ ।

विद्यार्थीहरुले लेटर ग्रेडिङ प्रणालीबाट नतिजा प्रकाशित गर्ने गरेको छ तर यस प्रणालीले विद्यार्थीहरुको उपलब्धि निर्धारण गरे पनि उनीहरुको जीवनमा आत्मानुशासन र सामाजिक व्यवहार जीवनोपयोगी देखिएन । एसइई परीक्षाको उद्देश्य नै विद्यार्थीहरुको दक्षता पढाइसम्बन्धी स्तरीयता, अनुशासन र सामाजिक भावनाको विकास भएको हुनुपर्ने गुणहरु विद्यालय स्तरको शिक्षालाई उपलब्धिको आधार मानिन्छ । उच्च परीक्षाबाट उत्तीर्ण विद्यार्थी गुणवान् बन्न सकेनन् भने राष्ट्रको दक्ष जनशक्ति बन्न सक्दैनन् ।

शिक्षा नै जनशक्ति उत्पादन गर्ने माध्यम हो । नेपालमा शिक्षलाई स्कूलमा शिक्षक बन्ने जनशक्तिको ाधार पनि बन्न सकेको छैन । दिन प्रतिदिन शिक्ष्ाँको स्तर घटिरहेको छ । सामुदायिक विद्यालयहरुमा लगानी भएको शिक्षकहरुको तलव खर्च उपलब्धिमूलक बन्न सकेको छैन । त्यस्ता स्कूलहरुमा पढ्ने विद्यार्थीहरुले आफ्नो प्रतिभा बढाउन नसकेर विदेशिनु परेका घटनाहरु बढ्दै छ ।

छाप्रोमा बसेका मानिसहरुका छोराछोरी पढ्ने स्कुलहरुको दूरदशा छ । त्यहाँ शिक्षकहरुको नियमितताको कमी छ भने पठनपाठनमा कमीकमजोरी भएपछि छाप्रोमा जीवन यापन गर्नेका छोराछोरीले आफूमा लुकेको प्रतिभा कसरी देखाउने ? सामुदायिक स्कूलहरुको शिक्षा शिक्षणमा वर्तमान सरकारले सुधार गर्नुपर्नेछ ।