दाङ,१४ पुस । मेधावी छात्रा प्रतियोगिता–२०७९ हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) दाङ र एपेक्स कम्प्युटर घोराही दाङको सयुक्त आयोजना तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा प्रत्येक वर्ष हुने प्रतियोगिता यस बर्ष यहि पुसको १६ गते शनिवार हुन थालेको हो ।
प्रतियोगितामा जिल्लाका निजी विद्यालयहरुमा अध्ययनरत छात्राहरुको सहभागिता हुने गर्दछन् । शनिवार तुलसीपुरमा रहेको तुलसी आवासीय माध्यामिक विद्यालयमा हुने आयोजक एपेक्स कम्प्युटर घोराहीका सञ्चालक धर्म केसीले जानकारी दिएका छन् । उनका अनुसार गतबर्ष मेधावी छात्रा प्रतियोगितामा तुलसी आवासीय माध्यामिक विद्यालयले जितेको हुँदा यसबर्षको प्रतियोगिता उक्त विद्यालयमा हुने लागेको हो ।
२०६३ सालदेखि हुँदै आएको मेधावी छात्रा प्रतियोगितामा सहभागीताका लागि प्याव्सन दाङ र एपेक्स कम्प्युटर घोराहीले सम्पूर्ण विद्यालयहरुलाई अनुरोध गरेका छन् । मेधावी छात्राका लागि कक्षा दशमा अध्ययनरत छात्राहरुलाई १०० पूर्णाङ्कको बस्तुगत लिखित परिक्षा लिइन्छ । जसमा अंग्रेजी ३३,गणित ३४ र विज्ञानबाट ३३ प्रश्नहरु सोध्ने गरिन्छ । उक्त परिक्षामा सवैभन्दा बढी अंक ल्याउने छात्रालाई मेधावी छात्रा घोषणा गरिन्छ । साथै प्रतियोगितामा उत्कृट दश जना विद्यार्थीलाई पनि पुरस्कृत गरिदै आएको आयोजक एपेक्स कम्प्युटरका संञ्चालक केसीले जानकारी दिए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) दाङ र एपेक्स कम्प्युटर घोराही दाङको संयुक्त आयोजना तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरमा प्रत्येक वर्ष हुने प्रतियोगिता अन्तर्गत पहिलो वर्ष २०६३ सालमा तुलसी आमाविकी अल्का मजगंैया,२०६४ मा तुलसीकै बिनिता रेग्मी, २०६५ मा जनज्योती विद्या मन्दिर घोराहीकी निर्मला बुढामगर, २०६६ मा शान्तिसुधा आमावि घोराहीकी दीपसना बिसी, २०६७ सालमा हिमाल एकेडेमी तुलसीपुरकी शिक्षा धिताल भएकी थिइन ।
त्यसैगरी २०६८ सालमा शान्तिसुधा आमाविकी समिक्षा मिश्र, २०६९ सालमा जनज्योति विद्या मन्दिर घोराहीकी शिल्पासिंह थापा, २०७० सालमा जनज्योतिकै प्रिया श्रेष्ठ, २०७१ सालमा तुलसी आमाविकी क्रिष्टिना डाँगी, २०७२ सालमा पशुपती विद्याश्रम नारायणपुरकी अनुषा अधिकारी, २०७३ सालमा तुलसी आमाविकी सृष्टि न्यौपाने, २०७४ सालमा हिमाल एकेडेमी तुलसीपुरकी अधिश्री आचार्य, २०७५ गोरखा मावि तुलसीपुरकी कुसुम शर्मा,२०७६ सालमा तुलसी आमाविकी श्रेया गिरी, २०७७ सालमा तुलसी आमाविकी बिबिज्ञा बस्नेत र २०७८ मा तुलसी आमाविकै सुगारिका लामिछाने उपाधि जितेकी थिइन ।
साथै एपेक्स कम्प्युटरले सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुको सहभागीतामा पनि ‘एपेक्स सामुदायिक मेधावी छात्रा प्रतियोगिता’ विगत ७ बर्षदेखि सञ्चालन गर्दै आएको छ । यसबर्ष पनि आगामी माघ महिनाको १४ गते ‘एपेक्स सामुदायिक मेधावी छात्रा प्रतियोगिता’ गर्ने तयारी गरिएको आयोजक एपेक्स कम्प्युटर घोराहीका सञ्चालक केसीले जानकारी दिएका छन् ।