वादी समुदायमा न्यानो कपडा वितरण

घोराही, ११ पुस । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले घोराही उपमहानगरपालिकाभित्रका वादी समुदायमा न्यानो कपडा वितरण गरेको छ । केन्द्रको बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर १३ र १५ को वादी बस्तीका बालबालिका र जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

कार्यक्रम अन्तरगत घोराही उपमहानगर १३ को दुर्गा भवानी टोल र घोराही उपमहानगरपालिका १५ को सिर्जनशील टोलका १ सय ४० बालबालिका र ५५ जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । ‘विमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ अन्तरगत वादी बस्ती रहेको दुर्गा भवानी टोल र सिर्जनशील टोललाई न्यानो कपडा सहयोग वितरण गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष विमला योगीले जानकारी दिनुभयो ।

६ लाख बढीको न्यानो कपडाहरु सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । वादी समुदायका बालबालिका, अपांग भएका व्यक्ति र जेष्ठ नागरिकहरु चिसोमा उच्च जोखिमा रहेकाले न्यानो कपडा वितरण गरिएको उहाँले बताउनुभयो । ‘वादी समुदाय जोखिममा रहेको समुदाय हो । जुन समुदायका बालबालिका र जेष्ठ नागरिकहरु जाडोमा समयमा उच्च जोखिममा रहेकाले हामीले न्यानो कपडा सहयोग गरेका हौँ’,अध्यक्ष योगीले भन्नुभयो,‘करिब २ सय बालबालिका र जेष्ठ नागरिकहरुलाई न्यानो कपडा प्रदान गरेका छौँ ।’

हेल्प नेपाल नेटवर्क र नेपाल महिला सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा न्यानो कपडा सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । कपडा वितरण कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष डुल्लुराम पोख्रेल, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का सदस्यहरु कृष्णा राना र दुर्गा नेपालीको उपस्थीति रहेको थियो । यसैबीच दुर्गा भवानी टोल घोराही उपमहानगरपालिका १३ मा ‘विमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम’ अन्तरगत बालबालिका र जेष्ठ नागरिकहरुलाई ६५ हजार बराबरको पौष्ट्रिक आहार र १० हजार बराबरको स्टेशनरी सामग्री सहयोग गरिएको छ ।