खेमराज रिजाल
दाङ, १० पुस । चारलेनमा स्तरोन्नति गर्ने भनिएको सडक धुजाधुजा भइरहेका बेला अघिल्लो साता पूर्व–पश्चिम राजमार्गको लमहीमा एक पटक ट्राफिक प्रहरीको ओभरलोड कारबाही नियाल्यौँ । राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समेतको सहकार्यमा ट्राफिकले केही टिप्पर र केही ट्रकहरूलाई जरिमाना रसिद काटिरहेको थियो, ओभर लोड बोकेको दोषमा ।
ओभर लोड नबोक्ने त रित्ता गाडी मात्रै थिए, चलेका टिप्पर र ट्रकहरूमा अधिकांश ओभरलोडकै निसानामा परे । करिब–करिब धेरैलाई प्रहरीले प्रतिमालवाहक सवारी साधन एक हजारका दरले जरिमाना काटेको देखियो । स्पष्ट तथ्याङ्क त मैले लिइनँ तर धेरै मालवाहक व्यवसायीले आफूले हजार जरिमाना तिरेर उम्केको रसिद देखाइरहेका थिए । सायद यहाँ जरिमाना काटेको रसिदले उनीहरूलाई गन्तव्य स्थलसम्म पुग्न अर्को जरिमाना काट्नुपर्ने छैन ।
ओभरलोडको समस्या दाङ जिल्लामा नौलो होइन । यस अघि पनि प्रहरीले यसलाई नियन्त्रण गर्न धेरै प्रयास ग¥यो । जिल्ला प्रहरी र ट्राफिक प्रहरीले टिप्परहरूले आफूखुसी थपेका ढालाको साइज कटाउन निर्देश ग¥यो । धेरै टिप्परहरूले ढाला काटे पनि फेरि त्रिपाल ओढाएर टिप्परहरूले ओभर लोड बोकिरहेका छन् । किनकि टिप्परहरूलाई ढालामुनि तोकिएको घनमिटरमा जुनसुकै सामान बोक्ने इजाजत नेपाल सरकारले दिएको छ ।
त्यही कारण ढाला काटेका व्यवसायीहरूले फेरि केही बढि सामान बोक्न त्रिपालको प्रयोग गर्न थालेका छन् । एउटा ६ सय रूपैयाँको त्रिपालले गह्रौ सामान ढाक्न सके ५ टन भन्दा बढी बोक्न पाइन्छ भने किन नबोक्ने ? भन्नेमा टिप्पर व्यवसायी लागिरहेका छन् । समस्या टिप्परको भन्दा ट्रकमा बढी देखिएको छ । किनकि ट्रकहरूलाई ओभरलोड बोकेर गरिखान यहाँका सिमेन्ट उद्योगहरूले सिकाएका छन् । राज्य र व्यवसायीले तोकेको भाडा दिन नचाहने सिमेन्ट उद्योगहरूले बढी भार बोकेर त्यसको सन्तुलन मिलाउन अभ्यस्त छन् । समग्रमा घाटामा यातायात व्यवसायीहरू नै परेका छन् ।
प्रचलित ऐन कानुनअनुसार ६ चक्के टिप्परले ८ घनमिटर ढाला भित्र मात्र सामान बोक्ने इजाजत छ । दशचक्केलाई १२ घनमिटर बोक्ने इजाजत छ । दाङ जिल्लामा यही मापदण्डका टिप्पर मात्रै प्राय गुड्ने हुन् । धेरैजसो व्यवसायीले ढाला काटे तापनि त्रिपाल ओढाएर ओभरलोड बोक्ने परम्पराले सडक च्यातिएको च्यातियै छ ।
ट्रकहरूले कति माल बोक्ने भन्ने सन्दर्भमा यातायात व्यवस्था विभागले एउटा मापदण्ड तोकेको छ । निगरानी यातायात व्यवस्था कार्यालयले गर्नुपर्ने हो तर यातायात व्यवस्था कार्यालयलाई यी सबथोकमा पर्याप्त जनशक्ति नभएको बताउँदै आएपछि जिल्लाका ट्राफिक प्रहरीले यसको निगमन गरिरहेका छन् । ६ चक्के ट्रकले १० टन, १० चक्केले १७ टन, बाह्र चक्केको २१ टन सम्मको भार बोक्ने अनुमति नेपाल सरकारले दिएको छ । १४ चक्के ट्रकलाई २५ टनसम्म माल बोक्ने अनुमति छ तर यहाँको अवस्था र कारबाही अचम्मको छ ।
जरिमाना हजार, धेरै गर्नुपरे ट्राफिकले ५ हजार रूपैयाँसम्म हो तर ओभरलोड गर्नेको सामान सडकमै झार्ने वा अन्य मालबाहक साधन झिकाएर अर्कोमा लैजाने व्यवस्थापन गर्न प्रहरी तयार छैनन् । किनकि एक हजारको जरिमानाले सहजै अतिरिक्त १६ टनसम्म बोक्ने मालबाहक साधन सहजै उम्कने परिपाटी छ । एक हजार रूपैयाँ जरिमाना तिरेर थप १६ टन बोक्न मिल्छ भने त्यसबाट उनीहरू व्याक हुने अवस्थै रहँदैन । अतिरिक्त मालले मात्रै थप भाडा कम्तिमा १०हजार रूपैयाँ व्यवसायीलाई आउँछ ।
के ओभरलोडको यो जरिमानाले दाङका सडक भ्वाङ पर्न जोगिएलान् ? यही प्रश्न जिल्ला प्रहरी कार्यालयका प्रमुख वीरबहादुर वलीलाई गरेँ । उनको पनि यस्तै जवाफ थियो, हामीले त कानुनले दिएको अधिकार मात्रै कार्यान्वयनमा ल्याउने हो । ठाउँका ठाउँ माल झार्न हामीलाई कानुनले अधिकार दिएको छैन । त्यही भएर जरिमाना काटेर सचेत बनाउने मात्रै हो ।
यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारले पनि आफूहरूले प्राप्त अधिकारको अधिक्तम उपयोग गरेर ओभरलोडको कारबाहीलाई तीब्र पारेको बताए । आफूहरूलाई कम्तिमा ५ हजार रूपैयाँसम्म जरिमाना काट्ने अधिकार भएको र त्यो भन्दा थप कारबाहीको अधिकार यातायात व्यवस्था कार्यालयलाई मात्रै भएको बताए । यातायात व्यवस्था ऐन २०७४ ले ट्राफिक प्रहरीलाई ओभरलोड बोक्ने साधनलाई ५ हजार रूपैयाँसम्म जरिमाना गर्ने अधिकार भए पनि प्रहरीले भने धेरैलाई १ हजारको जरिमाना रसिद थमाउँदै आएको छ ।
समस्या धर्मकाँटाको पनि रहेको छ । जिल्लामा पूर्वपश्चिम राजमार्गको लमहीमा मात्रै रहेको छ । त्योसँगै यहाँको सडक विभागले सडकको भार क्षमता समेत उल्लेख गरेको छैन । ट्राफिक प्रहरी कार्यालय दाङका हवल्दार लोकेन्द्र विष्ट भन्छन्, यहाँका सडकको भार क्षमता समेत सडक डिभिजन कार्यालयले जानकारी गराएको छैन । त्यही कारण कारबाहीमा पनि समस्या भएको छ । अन्य जिल्लाहरूमा भने सम्बन्धित सडक कार्यालयहरूले हरेक सडकको भार क्षमता उल्लेख गरेर संकेत बोर्ड पनि राखिसकेका छन् तर दाङ जिल्लामा निर्मित सडक वा पक्की पुलको भार क्षमताको संकेत बोर्ड कतै पनि राखिएको छैन । के ट्राफिक प्रहरीले काटेको जरिमाना रसिदले सडक भत्कन रोकिएलान् ?