Goraksha

National Daily

काम विहिन श्रमिकलाई धमाधम राहत

तुलसीपुर, २६ चैत । लकडाउनको अवधि लम्वियसंगै तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिले उपमहानगरपालिकाका विभिन्न वडामा काम विहिन श्रमिकहरुलाई राहत वितरण थालेको छ । उपमहानगरपालिकाका वडा नंवर १६, १७, १८ र १९ वडामा रहेका श्रमिकहरुलाई यसै साता राहत वितरण गरिएको संबन्धित वडाहरुले जनाएका छन् ।

नेपाल सरकारले जारीगरेको निर्देशिका अनुसार लकडाउनका कारण श्रमविहिन भएपछि चुलो बल्नै छाडेका श्रमिकहरुका लागि तोकिएको मापदण्डमा रहेर राहत वितरण गरिएको बताइएको छ । प्रत्येक परीवारलाई पहिलो चरणमा करीव एक महिनाका लागि पुग्नेगरी ३० किलो चामल, एक किलो नुन, एक लिटर खाने तेल, दुइ किलो दाल तथा एउटा नुहाउने सावुन वितरण गरिएको हो । लकडाउनको अवधि बढ्दै गएमा पुनः श्रमिकहरुलाई राहत वितरण गरिने नेपाल सरकारको नीति छ ।

उपमहानगरपालिका अन्तर्गत विभिन्न वडामा गठित टोल विकास संस्थाको प्रारम्भिक सिफारिसमा वडा कार्यालयले अनुमोदन गरी उपमहानगरपालिकाको विपद व्यवस्थापन कोषमा पठाएपछि सो कोषबाट राहत सामाग्रि संबन्धित वडामा आउने गरेको तुलसीपुर उपमहानगरपालिका विपद व्यवस्थापन कोषका संयोजक नवराज लामिछानेले बताएका छन् । उपमहानगरपालिकाले ५० लाख रकम राखेर स्थापना गरेको सो कोषमा उद्योगी व्यवसायी, यातायात व्यवसायी तथा दाताहरुले समेत रकम जम्मा गरीरहेका छन् ।

उपमहानगरपालिकाको राहत प्याकेज अन्तर्गत तुलसीपुर उपमहानगरपालिका—१९ ले बुधवार निर्देशिका अनुसार राहत वितरण गरिएको वडाध्यक्ष रामवहादुर योगीले बताए । राहतको माग धेरै भएपनि ढुकुटीको अवस्था र श्रमिकहरुको अवस्था हेरेर १ सय ७१ परिवारलाई राहत वितरण गरिएको वडा कार्यालयले जनाएको छ । राहत वितरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा सम्योजक देवराज विश्वकर्मा, प्रहरी चौकि हेमन्तपुरका इन्चार्ज सवइन्स्पेक्टर इन्द्र पाल, वडा सदस्यहरु, सन्चारकर्मिहरु तथा विजौरी उद्योग वाणिज्यसंघका प्रतिनिधिहरु समेतको सहभागिता रहेको थियो । ‘पहिलो चरणमा आएको सवै राहत वितरण भैसकेको छ, अत्यन्तै आवस्यक परेका अन्य श्रमिकहरुलाइ अर्को चरणमा पुनः राहत वितरण गरीने छ’—अध्यक्ष योगीले भने । राहत वितरणकै अवसरमा विजौरी उद्योग वाणिज्य संघले राहत लिन आउने परिवारलाई निशुल्क रुपमा ग्लोव प्रदान गरेको प्रेस सल्लाहकार राकेश बस्नेतले बताए ।

त्यसैगरी सोमवार तुलसीपुर उपमहानगरपालिका—१८ ले पनि वडामा रहेका श्रमविहिन नागरीकहरुलाइ राहत वितरण गरेको छ । वडाध्यक्ष माधव वलीका अनुसार संबन्धित टोलविकाश संस्थाको सिफारीसमा २ सय परीवारलाइ राहत वितरण गरिएको हो । पहिलो चरणमा राहत पाउन छुटेका अन्य श्रमिकहरुलाइ अर्को चरणमा राहत वितरण गरिने पनि उनले बताए ।

तुलसीपुर उपमहानगरपालिकाकै वडा नंवर १७ मा पनि विहिवार नेपाल सरकारको निर्देशिका वमोजिम राहत वितरण गरीने वडाध्यक्ष थलराज पुरीले बताएका छन् । बुधवार वडा कार्यालय मानपुरमा बसेको सर्वदलिय बैठकले राहत वितरण प्रक्रियालाइ अनुमोदन गरेको वडा सचिव गेहराज पौडेलले बताएका छन् । संबन्धित टोल विकाश संस्थाको सिफारीसमा वडामा रहेका २ सय २१ श्रमिक परीवारलाइ राहत वितरण गर्न लागिएको हो । विपद व्यवस्थापन कोषबाट आएको राहत अपुग भएपछि वडाकै बजेटमा केहि खाद्धान्न खरीद गरी उल्लिखित परीवारलाइ राहत वितरण गरीन लागेको हो । ठुलो क्षेत्रको वडा भएकाले संभवतः विहिवार वडाका दुइ स्थानबाट राहत वितरण गरीने तयारी वडा कार्यालयले गरेको वडा सदस्य मदन बस्नेतले बताए ।

वडा नंवर १६ले पनि यसै साता संबन्धित टोल विकाश संस्थाको सिफारीसमा ५६ परीवारलाइ राहत वितरण भैसकेको छ । थप १३ परीवारको राहत पनि आइसकेको वडाध्यक्ष भुप वहादुर केसीले बताए । छुटपुटलाई अर्को चरणमा राहत वितरण गरीने वडाले जनाएको छ । त्यसै अवसरमा वडा कार्यालयले आफ्नो तर्फबाट संपुर्ण वडाबासीलाई निशुल्क रुपमा मास्क समेत वितरण गरिएको थियो । करीव २ हजार ५ सय मास्क वितरण भैसकेको छ भने बांकि मास्क पनि मगाइएको वडाले जनाएको छ ।

समाजसेवी अधिकारीद्धारा ४० हजार राहत

यसैबीच तुलसीपुर उपमहानगरपालिका—१७ भट्टेकुलाका समाजसेवी तथा स्थानिय दाता विष्णु प्रसाद अधिकारीले ४० हजार रुपैया बरावरको राहत वितरण गर्ने तयारी गरेका छन् । वडा कार्यालय मार्फतनै सो रकम वरावरको दाल चामल खरीद गरी श्रम विहिन श्रमिकहरुलाइ राहत दिइने वडा सचिव गेहराज पौडेलले बताएका छन् । समाजसेवी अधिकारीकै चाहना अनुसार वडाभित्रैका श्रमिकहरुलाइ सो धनरासी वरावरको राहत वितरण गरीने पनि वडाले जनाएको छ ।