खेमराज रिजाल
दाङ, ३ पुस । भारतीय प्रधानमन्त्रीले नेपालका हरेक क्षेत्रको यातायात दयनिय भएको भन्दै सडक स्तरोन्नतिको अनुदान नेपाल प्रमणमा घोषणा गरे तर त्यसमा पछि कार्यविधि बनाइयो, भारतीय बैंकले लगानी गर्ने, भारतीय कम्पनीलाई ठेक्का दिने र भारतमा निर्मित निर्माण औजारको तोकिएको हिस्सामा प्रयोग हुने ।
त्यही अनुरूप भारतीय ठेकेदारलाई काम दिन ग्लोबल टेण्डर आह्वान सडक विभागले ग¥यो । ठेक्का प¥यो अनि घोराही—तुलसीपुर चारलेन सडक निर्माण गर्न एउटा परियोजना पनि बनायो, नेपाल सरकार सडक विभागले । त्यसैको मातहतमा लमहीमा चारलेन सडक परियोजनाको कार्यालय पनि स्थापना भयो तर सो कार्यालय काममा गतिशीलता दिनका लगि वेबखर छ । काम नगरे कारबाहीसम्मको हैसियतमा पनि छैन, लमहीको कार्यालय अनि घोराहीको कन्सल्टेन्ट परियोजना ।
भारतका उच्च राजनीतिक घरानाका व्यक्तित्व शुष्मा शोराजका आफन्त पर्ने भारतको मुम्बई स्थित तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले ठेक्का हात पा¥यो । त्यसका प्रबन्ध निर्देशक थिए, प्रवीण ब्रम्हदेव पाण्डे तर ठेक्का हत्याएदेखि नै उनी कहिल्यै आफूले ठेक्का लिएको स्थानमा आउन चाहेनन् । चौतर्फी विरोध भएपछि म्याद थप गर्नका लगि उनी घोराहीमा आएका थिए ।
वर्तमान प्रमुख जिल्ला अधिकारीको उपस्थिति सहित केही राजनीतिक दलका प्रमुख र जिल्ला प्रहरी कार्यालयका तात्कालीन प्रमुख सुरेश काफ्ले समेतको उपस्थितिमा अब कार्यप्रगति महिनैपिच्छे बढ्ने उद्घोष गरे । मैले पेटीठेक्का दिएकाहरूले नै मलाई सबथोक ठिक छ भन्दै यहाँ आउन नदिएको अभिव्यक्ति दिए अनि उनले यस अघिका ठेकेदारलाई पेटीठेक्का त तोडे, फेरि अर्कै चलखेलमा लागेपछि काम हुन सकेन ।
उतिबेला सहमति जनाएका तथ्यका प्रबन्ध निर्देशक प्रवीण ब्रम्हदेव पाण्डे फेरि आफ्नो साइट हेर्न अहिलेसम्म आएका छैनन् । उनले फेरि अर्को पेटी ठेकेदारलाई अघि सारे । त्यसको नाम थियो।, श्रेष्ठ कन्स्ट्रक्शन । त्यो भन्दा अघि प्रवीण ब्रम्हदेवले ब्रम्हायणि, शिवपुरीसम्मका कम्पनीलाई बार्गेनिङ गरे तर सहमति हुन सकेन । काम पनि हुन सकेन । उनै ब्रम्हदेवको कम्पनीमा बैंक ग्यारेन्टी स्वरूप ३० करोडको जग्गा धरौटी राखेको श्रेष्ठ कन्स्ट्रक्शन, यस अघिका अनुप पाण्डे पेटी ठेक्काबाट उम्किइसकेका थिए ।
अहिले आम नेपालीले तथ्य इन्जिनियरिङसँगै नेपाल सरकारलाई सरापिरहेका छन् । आम दङालीले गुड–बाइ तथ्य इन्जिनियरिङ भनेका छन् । खासमा भारतीय निर्माण कम्पनी मुम्बईको तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले आफू काम गर्न नआउँदा यो समस्या भएको बुझाइ आम नागरिकको छ । त्यसैले दाङका आम नागरिकले भनेका छन्, ‘गुड–बाई तथ्य इन्जिनियरिङ … ।’
जसोतसो घोराही तुलसीपुर सार्वजनिक यातायात ५५ मिनेटमा क्रस हुन्थ्यो । निजी सवारी साधनहरू बढीमा आधा घण्टामा आवतजावत हुन्थे तर जब चारलेन परियोजना सुरु भयो, त्यसपछि भत्काउने काम मात्रै भयो । तात्कालीन पेटी ठेक्का लिएका अनुप पाण्डेले मज्दुरहरूलाई पारिश्रमिक नदिएर भोकभोकै पैदल जाजरकोट रुवाउँदै पठाएका थिए ।
धेरै फर्निचर उद्योगहरूमा तथ्य इन्जिनियरिङको उधारो बिल छ । हरेक मोवाइल पसलमा पनि तथ्य इन्जिनियरिङको उधारो बिल छ । मज्दुर रुवाउने उनै पाण्डे भने अहिले ठेक्काबाट बाहिरिएको खबर आएको छ तर ती जाजरकोटे मज्दुरहरूले आफूले काम गरेको पैसा माग्दा तात्कालीन चारलेनको लेबर दुधरासमा लगेर कुटेको कहिल्यै भुल्ने छैनन् ।
प्रवीण ब्रह्मदेवजी ! तपाईँले त्यो बेला पत्रकारहरूलाई ह्वाट्सअप एड्रेस पनि दिनुभएको थियो । तपाईंले भारतीय मोबाइल नम्बर पनि दिनुभएको थियो तर तपाईँको ब्रह्मत्व र धार्मिक नाम जोडिएका ती निर्माण कम्पनीले तपाईंलाई कामको प्रगति नदिँदा पनि किन मौन हुनुहुन्छ ? नेपालको मित्र राष्ट्र भारतले दिएको सहयोग रकममा तपाईँले किन काम गर्न चाहनुभएन ? यी प्रश्नहरू आम नेपालीले तपाईँको कम्पनीलाई सोधिरहने छन् ।
हो, तपाईँको केन्द्रीय सत्तामा पहुँच होला, त्यही कारण पेटी ठेकेदारहरू पनि साइटमा काममा नआएर उतै केन्द्रीय सत्ताधिकारी अर्थात् सडक विभागमा धाइरहेका होलान् । तपाईँका पेटी ठेकेदारहरूले काम गर्न होइन, बैंकमा राखेको धरौटी जोगाउनका लगि अभ्यस्त होलान् तर तपाईँको गुडविल त छिमेकी मुलुकमा लायक भएन नि ?
तपाईँले चारलेन सडक निर्माणका क्रममा भत्काएर मात्रै छाड्नु भयो । हजारौँ रूख कटान गर्नुभयो । धेरै बाइपास कुलाहरू बनाउनु भयो तर त्यसले सडक यातायातलाई सहज होइन वर्वाद बनाएको छ । यो दुई वर्षको अवधिमा तपाईँले क्षतविक्षत पारेका सडकमा २८ जनाको सडक दुर्घटनाकै कारण दुःखद निधन भएको छ । यी परिवारका आँसुहरूलाई तपाईँले सम्बोधन गर्न सक्नुभएन ।
अब तपाईँलाई ६ महिना मात्रै समय छ । त्यो अवधिमा काम गर्नका लगि तपाईँका पेटी–ठेकेदारलाई नवनिर्वाचित सांसदहरूले पनि प्रतिबद्धता–पत्रमा हस्ताक्षर गराए होलान्, जिल्ला समन्वय समितिको बैठकमा पनि स्थानीय सरकारको उपस्थितिमा तपाईँका काम गर्न नसक्ने प्रतिनिधिहरूले हस्ताक्षर धेरै पटक गरे तर प्रवीण ब्रह्मदेव पाण्डे कैलाशमा हुनुहुन्छ वा आफूले ठेक्का लिएको सडकमा ?
गुड–बाई तथ्य इन्जिनियरिङ, गुड–बाई, प्रबन्ध निर्देशक प्रवीण ब्रह्मदेव पाण्डे … । फेरि काम गर्छु भन्ने झुठो आश्वासन लिएर नआउनु होला । तपाईँले पटक–पटन थपिएको म्यादभित्र पनि ८ प्रतिशत काम गर्न सक्नुभएको छैन ।