सुवास न्यौपाने
निवाृचन लोकतन्त्रको गहना भनिन्छ लोकतन्त्रमा
जहाँ अधिनायकवाद हुन्छ त्यहाँ अर्थ छैन निर्वाचन
मुलुकले पटक–पटकको आन्दोलन र क्रान्तिमार्फत मुलुकको शासन व्यवस्था कायम अर्थात् परिवर्तन हुँदै आएको छ । आन्दोलनबाटै परिवर्तन भए पनि मुलुकमा विभिन्न खालका विभेदहरु भने यथावतै छ । मुलुकमा बहुदलीय पद्धति सुरु भएपश्चात् हरेक सरकारले अध्यादेशमार्फत आफ्नो अनुकूलका व्यक्तिहरुलाई सत्ता र शक्तिको प्रयोजन गर्ने गरेको देखिन्छ । के कानुन शक्तिको आधार हो ? कानुनतः न्यायको प्रयोजनमा हुनुपर्छ ।
कानुनमा अपराधीहरुलाई उन्मुक्ति दिने भन्ने कहाँ उल्लेख छ ? आ–आफ्नो नेतृत्वमा सरकार गठन हुँदा करिब–करिब सबै सरकारले प्रधानमन्त्री तथा अन्य पहुँचवाला मन्त्रीको नजिकका व्यक्ति कुनै पनि अपराधमा अभियुक्त भएको भए पनि उनलाई उन्मुक्ति दिनका लागि मुद्दा फिर्ता गर्ने प्रचलन बढेर आएको छ तर पीडितलाई कानुनी सम्बोधन नगरेर मुद्दा फिर्ता लिन मिल्दैन । विभिन्न घटनामा अपराधी सावित भएका व्यक्ति जुनसुकै जात, धर्म र लिंगका भए पनि कानुनले त्यसमा माफी दिँदैन । तर सरकार आफ्नोअनुकूल निर्णय गर्न चाहन्छ । शेरबहादुरजी तपाई मात्रै कोही होइन, सिंगो कांग्रेस र गठबन्धनले साथ दिनुपर्छ ।
मुलुकको कानुनलाई प्रभावित गर्ने गरी कुनै पनि गलत कार्य गर्नु हुँदैन । शेरबहादुरजी अब बन्ने प्रधानमन्त्री पनि तपाई नै हो । के तपाईलाई नेपाली कांग्रेससँग कुनै सम्बन्ध राख्दैन ? तपाई कुन दल र संगठनबाट आफ्नो राजनीति सुरु गर्नुभएको हो ? आफ्नै पार्टीका महामन्त्री तपाईको प्रस्तावविरुद्ध उभिने अवस्था आयो भने तपाई के गर्नुहुन्छ ? राजनीतिमा बलमिच्याइँको भरमा अगाडि बढ्ने दिन गए । शेरबहादुरजी तपाई नेता बन्ने भए पहिले नेपाली कांग्रेसका नेता रामचन्द्र, शेखरलगायतसँग संवाद गर्नुस्, महामन्त्री दुई जो तपाईको दुई हात हुने उनीसँग परामर्श गर्नुस् तर प्रचण्ड र माधव नेपालको तागतमा पार्टीमा पेलेर जान खोज्नुभयो भने तपाई फेल हुनुहुन्छ ।
लोकतान्त्रिक मुलुकमा अध्यादेश भनेको विधिको शासनको उपहास हो । नेपालमा अध्यादेशको प्रचलन शासकहरुको सनकमा भरपर्ने गरेको देखिन्छ । यस्तो खालको अध्यादेश प्रथा पञ्चायतकालमा पनि थिएन । छत्तीस सालको जनमतसंग्रह र छयालीस सालको ऐतिहासिक जनआन्दोलन हुँदा पनि पञ्चायतले कुनै कानुन सच्याउने काम गरेन बरु आन्दोलन स्वीकार ग¥यो । अहिलेको अध्यादेशका विरुद्ध पार्टी सभापति शेरबहादुर देउवाका प्रतिस्पर्धी नेता शेखर कोइरालालगायत महान्त्री दुई गगन थापा र विश्वप्रकाश शर्मा तथा माननीय प्रदीप पौडेल उभिएका छन् । के यो सुहाउँदो विषय हो ?
रामचन्द्र र सशांक बोलून् वा नबोलून् त्यसले कुनै अर्थ राख्दैन । उनीहरुले लुते कुकुरझैँ टाङमुनि पुच्छर घुसाइसके । यदि अध्यादेशबाटै मुलुकको कानुन संशोधन र व्यवस्थापन गर्ने प्रवृत्ति बढ्दै गयो भने के मुलुक यसरी चल्न सक्छ ? मुलुकलाई अध्यादेशबाट चलाउने कोशिस कसैले पनि गर्नुहुँदैन ।
लोकतन्त्रमा हरेक शासक जनप्रतिनिधि हुन्छन् तर उनीहरु अघिनायक बन्न खोजे त्यो अनर्थ बन्नसक्छ । त्यसैले लोकतन्त्र भनेको निर्वाचन मात्र होइन । निर्वाचनले लोकतन्त्रलाई सजाउँछ भने सुशासनले लोकतन्त्रमा बुट्टा भर्छ । के शेखर, सशांक तथा रामचन्द्रहरु विरोधी भए भने शेरबहादुर सफल हुन्छन् ? अपराधीलाई जोगाउने काम कुनै पनि सरकारले गर्नु हुँदैन ।
नेपालको कानुनअनुसार मुलुकमा बहुदल स्थापना भएदेखि अख्तियार अनुसन्धान तथा मानवअधिकार सम्बन्धी कार्यक्रम भइराखेका छन् तर मुलुकको राजनैतिक स्थिति र जनताको अधिकारप्रति बेवास्ता गर्ने गरेका कारण मुलुकमा राजनीतिक दलहरुप्रति अविश्वास बढ्दै गएको छ । कांग्रेस अब जनताको पक्षमा बोल्ने कि आफ्नो लागि मात्र नेता बोल्ने ? यदि मुलुकमा नेपाली कांग्रेसले नेतृत्व गर्ने र राज्य सत्ता सञ्चालन गर्ने हो भने नेपाली कांग्रेसका नेताहरु सच्चिनैपर्छ ।