दाङ,२९ मंसिर । नेपाल शिक्षक सघ घोराही नगर समितिले शिक्षक सेवा आयोगले पठाएको शिक्षक पदस्थापनाको आधार तथा मार्गदर्शन विपरित कुनै पनि शिक्षकलाई नचलाउन घोराही उपमहानगरपालिकालाई आग्रह गरेको छ ।
माध्यमिक तहको नेपाली विषयको नयाँ शिक्षक पदस्थापन गर्दा शिक्षक सेवा आयोगको मार्गदर्शन विपरित घोराही उपमहानगरपालिकाले रिक्त दरबन्दीमा नखटाई करार शिक्षक रहेको विद्यालयमा पठाई करार सेवामा रहेका शिक्षकलाई विस्थापन गर्ने नियत राखेको देखिएको शिक्षक सघले जनाएको छ ।
शिक्षक सेवा आयोगले शिक्षा विकास तथा समन्वय ईकार्य मार्फत घोराही उपमहानगरपालिकालाई पठाएको मार्गदर्शनमा पदस्थापन गर्दा रिक्त दरबन्दीले अपुग भई अस्थायी वा करारका शिक्षक हट्नुपर्ने अवस्थामा सेवाको आधारमा कनिष्ठ अस्थार्य शिक्षक हट्ने गरि व्यवस्था मिलाउन भनेको छ ।
तर घोराही उपमहानगरपालिकाले पद्मोदय माध्यामिक विद्यालयका शिक्षक कृष्णराज डिसी अनिवार्य अवकाश भई रिक्त रहेको दरबन्दीमा नयाँ शिक्षकलाई पदस्थापन नगरि हापुर मावि विजौरीका करार शिक्षक केशव गौतमको स्थानमा पदस्थापन गर्ने निर्णय गरेको छ । सो निर्णयको बिरोधमा नेपाल शिक्षक सघ घोराहीले घोराही उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुखलाई ज्ञापन पत्र बुझाई सेवा आयोगको परिपत्र विपरित शिक्षक हट्नुपर्ने गरि पदस्थापन नगर्न आग्रह गरेको छ ।
नेपाल शिक्षक सघका घोराही अध्यक्ष खिमप्रकाश पुरी र सचिव गोपाल पोख्रेलले हस्ताक्षर गरेको ज्ञापन पत्रमा नयाँ शिक्षकलाई रिक्त स्थानमा नियुक्त गरि कार्यरत शिक्षकलाई नचलाउन भनिएको छ । ज्ञापन पत्रमा आफ्ना मागको सुनुवाई नभए थप आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ