Goraksha

National Daily

पत्रकारलाई सहज रुपमा काम गर्ने बतावरण बनाऊ : महासंघ

काठमाडौं चैत २५ । नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई सहज रुपमा काम गर्ने वातावरण निर्माण गर्न सबैको ध्यानाकर्षण गराएको छ । महासंघका महासचिव रमेश बिष्टले एक बिज्ञप्ती जारी गर्दै नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुव्र्यवहार, हातपात, समाचार संकलनमा रोकलगायतका घटनाप्रति नेपाल पत्रकार महासंघका गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

महासंघको बिज्ञप्तीको पूर्ण पाठ यस्तो छ :

विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस ९कोभिड १९० को उच्च संक्रमणलाई मध्यनजर गर्दै मुलुक यतिखेर लकडाउनको अवस्थामा छ । यस्तो विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुव्र्यवहार, हातपात, समाचार संकलनमा रोकलगायतका घटनाप्रति नेपाल पत्रकार महासंघका गम्भीर ध्यानाकर्षण भएको छ ।

महासंघको कर्णाली प्रदेश समितिका अनुसार चैत्र २४ गते सोमबार महासंघका प्रदेश सभासद तथा नागरिक दैनिकका कर्णाली प्रदेश प्रमुख नगेन्द्र उपाध्यायलाइ समचारको विषयमा प्रतिक्रिया लिन खोज्दा कर्णाली प्रदेश सभा सदस्य दानसिंह परियारले गालीगलौज गर्दै धम्क्याएका छन् भने सुर्खेतस्थित जागरण एफएमका समाचार बाचक नन्द कठायतलाई रेडियोको कार्यालय जाँदै गर्दा प्रहरीले हातपात गरेका छन् । यसैगरी चैत्र १६ गते महासंघको कर्णाली प्रदेश समिति सदस्य एवं अन्नपूर्ण पोष्ट दैनिकका कालीकोट संवाददाता विष्णप्रसाद न्यौपानेलाई समाचारको विषयलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट गालीगलौज गर्दै धम्की दिइएको छ ।

महासंघ धनकुटा शाखाका अनुसार चैत्र २४ गते जिल्ला प्रशासन कार्यालय धनकुटाको जिल्ला दैवी प्रकोप उद्धार कोषमा स्व। सूर्यबहादुर थापा फाउण्डेसनको संयोजनमा विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गर्ने कार्यक्रममा समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटा पुगेका महासंघ धनकुटा शाखाका निवर्तमान अध्यक्ष एवं हिमालय टाइम्स दैनिकका सम्वाददाता खगेन्द्रप्रसाद घिमिरे र कार्यसमिति सदस्य एवं हिमालयन टेलिभिजनका सम्वाददाता कविराज घिमिरेलाई स्थानीय प्रशासकको आदेशमा जिल्ला प्रशासन परिसरबाट अपमानजनक ढंगबाट बाहिर निकालिएको छ ।

त्यस्तै महासंघ धनकुटा शाखा उपाध्यक्ष एवं द धनकुटा हेराल्ड दैनिकका सम्पादक नगेन्द्र राई, शाखा सहसचिव एवं अन्नपूर्ण पोष्ट दैनिकका सम्वाददाता हरिबहादुर लम्जेल, रेडियो भेडेटारका स्टेसन प्रमुख पूर्णकुमार चौधरी, थाहा सञ्चार धनकुटा सम्वाददाता इश्वर थापालगायतलाई सुरक्षाकमीहरुले माथिको आदेश भन्दै समाचार संकलनमा रोक लगाउँदै जिल्ला प्रशासन परिसर बाहिर नै रोकेका थिए भने खिचिएको तस्वीर मेटाउन लगाएका थिए ।

यस्तो असहजताका बीच अनेकौ कठिनाई र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व बहन गरिरहेका पत्रकारमाथि कुनै पनि बहानामा आक्रमण, दुव्र्यवहार, धम्की, गालीगलौज, समाचार संकलनमा रोकलगायतका घटना हुनु आफैंमा निन्दनीय र आपत्तिजनक छ । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी पत्रकारलाई सही र सहजढंगबाट सूचना उपलब्ध गराउन र स्वतन्त्र, सुरक्षित एवं निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।