विनोद पोख्रेल
२०७८ बैशाख १८ गते
मानिसको जीवन दोधारमा छ । रोगको प्रकोप बढेको बढ्यै छ तर औषधीलगायत बच्ने उपाय केही नभएर हारेको जस्तो महसुस हुन्छ । कोही बिरामी भयो भने मात्रै पनि अब के हुन्छ भन्ने छ । चिन्ता बिरामी हुनुमा त छ नै त्यो भन्दा बढी उपचार नपाउनुमा छ ।सञ्चार माध्यमले ठिक गरेका छन् कि गलत कहिलेकाहीँ त सोच्न मन लाग्छ । समाचारहरु जसरी आइरहेका छन् त्यो हेर्दा कतै आतंकित बनाउने खेल त होयन जस्तो पनि लाग्छ । तर आफू चिनेका, आफ्नो सम्पर्कका, आफ्ना नातागोताभित्रका समेतलाई यसको असर पर्छ तब सबै तर्कहरुभन्दा बढी डर र चिन्ताले जित्छ र पीडा दिन्छ ।
घोराहीमा हेलिकोप्टर बस्यो भने पनि अन्जान व्यक्तिप्रति त्यसै सहानुभस्ति प्रकट गर्न मन लाग्छ । यस्ता स्थिति भोगेको छु तर समाजबारे राजनीति बारे जस्तो लेख्नपर्ने हो त्यो सकेको छैन जस्तो अनुभव गरेको छु । जीवनबारे सानो मात्रामा पनि केही गर्न नसक्ने लेख्न समेत नसकेकोले सामाजिक राजनीतिक विषयबारे लेख्न नसक्ने चिन्ता व्यक्त गर्नु पनि बेकार हो जस्तो लाग्छ । सोच त जीवनकेन्द्रित हुनुपर्ने हो । पहिले जीवन सुरक्षित हुनुप¥यो, त्यसपछि जीवन सहज हुनुप¥यो । तब मात्र समाज निर्माण हुने हो ।
समाज निर्माणपछि मात्र राजनीति, अर्थनीति आदिले प्रवेश पाउने हो । साच्चै घरभित्र लुकेर जीवन सुरक्षित हुन्छ भने लुक्नुपर्छ तर त्यो कुरो कत्तिको व्यावहारिक प्रमाणित भएको छ । यसबारे हाम्रो अनुभव कस्तो छ । यस बोहक सुरक्षाका लागि के–के आवश्यक भएको अनुभव गरियो र त्यसका लागि के गरियो ? रोग भनेको आँधी होइन जो एकपल्ट आयो र केही समयमै गयो । त्यतिबेला बच्नसके पुग्यो । एकथरि त्यो पनि महामारीको रुपमा त्यो पनि विश्वभरि । यसबाट बच्ने प्रयास एक वर्षभन्दा बढी बितिसक्दासम्म केही सोचिएको छैन ।
यस्तो सामाजिक, राजनीतिक, नेतृत्वले आम नागरिकलाई कुन स्थानमा पु¥याउने हो थाहा छैन तर पनि म बढी निराश छैन । शिक्षा, स्वास्थ्य, पिउने पानी जस्ता कुरालाई व्यापारको विषय बनाउनेहरुले नेतृत्व गर्दा आम नागरिकलाई सरकारले सुरक्षित बनाउन सकेन भन्ने चिन्ता गर्नु नै बेकार छ । यहाँ स्कूल, अस्पताल खोल्दा राजनीतिक प्रभाव र पहुँच चाहिने गर्छ । पानी पिउँदा राजनीति पिउनु पर्छ । औषधी गर्दा राजनीतिकको सिफारिस खोजिन्छ, यस्तोमा कसले कसको जिम्मेवारी लिने ? यो परिवेशमा फस्न नचाहनेले पनि बिरामी भएको बेला औषधी उपचार पाउनुपर्छ भन्ने धारणाबाट भने पछि हट्न सक्दैन ।
जीवन सुरक्षित र सहज बनाउन नसक्नेले अरु कुरा गर्नु भनेको रमाइलो गफ गरेर समय कटाएको मात्रै हो । जिम्मेवारी महत्वाकांक्षा र रमाइलो तीनवटै अलगअलग विषय हुन् । राजनीतिमा जिम्मेवारीको अपेक्षा गर्ने मजस्ताका लागि उपचार नपाएर मानिस मर्दा समेत गफ बाहेक केही गर्न नसक्ने नेतृवको बारेमा चर्चा गर्नु पनि समय खेर फाल्नु हो ।
२०७८ बैशाख १९ गते
आकाश बादलले ढाकेको छ । पानी अलि राम्रोसँग परेपछि मकै छर्ने बेला समेत भएको हो तर पानी पर्न सकेको छैन । आज पनि सडक शून्य छ । अहिलेसम्म त्यो चरा पनि आएको छैन । बादलले अलि चाँडो जस्तो माने पनि त्यति चाँडो त छैन । गजबको सून्यता छ । सायद शान्ति यही हो । यदि यो शान्ति हो भने मलाई शान्ति चाहिन्न । मानिस भएर मानिसबाट टाढा बस्ने चरित्र हो वा परिवेश यो राम्रो होइन तर आफू डराए पनि अथवा अरु डराए पनि चाहँदा नचाहँदै पनि यस्तो गर्न परेको छ । अलि झस्किने गरी मानिसहरु पनि मरे ।
समाचारले नै त्रास सिर्जना गरेको छ । फेसबुक वालमा धेरै यिनै कुरा छन् सरकारलाई गाली गर्ने एउटा निहु अहिले यही बनेको छ । स्वास्थ्यतर्फको बेवास्ता मलाई धेरै पहिलेदेखि चित्त नबुझेको हो । जब स्वास्थ्यमा निजीकरण सुरु भयो तबदेखि नै चित्त बुझेको होइन । सार्वजनिक रुपमै यो कुरा उठाएको हुँ । शिक्षा, स्वास्थ्य र पिउने पानीजस्ता कुरा निजीकरण गरेको मलाई कत्ति पनि चित्त बुझेको छैन । कतिपल्ट त थाहा नपाएर यिनै क्षेत्रमा लगानी गर्नेहरुसँग समेत कुरा राखेछु । उसले राम्रो पटक्कै मानेनन् होला । तर मेरो सामनेमा कोही बोलेका भने छैनन् ।
स्वास्थ्यको बारेमा त पोहोर त्यति भोग्दा भोग्दै पनि अहिले अझ दयनीय स्थितिमा पुग्नु कमजोर चिन्तन र त्यसले जन्माएको दर्भाग्य नै हो । आज निद खुल्दाबाटै अलि स्फूर्त नभएको जस्तो लागेको छ । यस्तोमा नकारात्मक कुरा बढी आउँछन् । स्वतन्त्र धारणा एउटा कुरा हो । नकारात्मक कुरा एउटा कुरा हो । मलाई आफूलाई कम्युनिस्ट भन्नेहरुसँग कुनै पूर्वधारणा छैन । साम्यवादी सिद्धान्तसँग भने म धेरै कोसिस गर्दा समेत सहमत हुन नसकेको हो । यो बहसमा पनि नजाऔँ । अब त जे गरेर सजिलोसँग दिन कट्छ त्यही गर्ने हो ।
यसको लागि घुमफिर र भेटघाट ठूलो कुरा हो । मैले कति यस्ता मानिस देखेको हुँ वा उनीहरुसँग संगत भएको छ जो दुई जना सँगै ठूलो आफ्नो इष्टमित्रको घरमा गएर बस्ने गरेर समेत दिन बिताउने गर्छन् अथवा गर्थे । त्यो नभए आफ्नै छोराहरुकै घरमा डेरामा अलग अलग ठाउँमा गर दिन बिताउने गर्थे । मलाई कति पल्ट त्यो अलि मन नपरेको जस्तो लाग्थ्यो तर आज जुन परिवेशबाट म आफै गुज्रँदै छु यसको एउटा राम्रो निदान त्यो स्वभाव हुनसक्छ भन्ने लाग्छ । हुन्छ नै भने पनि रोगको निुहले ल्याएको लकडाउनमा सम्भव हुने कुरो भएन ।
घरमा छोराहरु कोही छैनन् । यति कुराले पनि कुरा तानिन्छ कहिलेकाहीँ र अलि परैसम्म पु¥याउँछ । मनै त हो, काम राम्रो हुने हो ।केही नगरे नराम्रो नहोला तर राम्रो पनि त हुँदैन । सोच राम्रो बनाएर आत्मबल बनाउन सके राम्रो हुन्छ । मैले अरुलाई पनि यस्तै यस्तै भन्छु तर यति लामो समयसम्म र अझै अनिश्चित समयसम्म सकारात्मक सोच बनाएर आत्मबल बढाउन सक्नु पनि अव्यावहारिक कुरा हो कि ?