जहिले पनि एउटै व्यक्ति प्रधानपञ्च, अनि त्यही प्रधानपञ्चले नै सबै क्षेत्रको नेतृत्व पनि गर्ने । हुँदाहुँदा विद्यालयको अध्यक्ष समेत त्यही प्रधानपञ्च । प्रधानपञ्चको चुनाव हुँदा होस् वा अन्य समयको जमघट मेरो घरमा हुने गथ्र्यो । त्यही घरको आँगनको प्रेरणाले म पनि राजनीतिप्रति आकर्षित भएँ भन्नुपर्छ । तत्कालीन पवननगर गाविस तथा हाल तुलसीपुर–१ भमके निवासी फल्कुदत्त भण्डारीले आफू विसं २०४३ सालदेखि राजनीतिमा चासो राख्दै आएको बताए ।
सधैँ कर्ममा विश्वास गर्ने, लगनशील, मिजासिला अनि सधैँ हँसिलो मुहारका साथ देखिने भण्डारीले गरिब–दुःखी र परिवर्तनका लागि आफू राजनीतिमा होमिएको पनि भन्न भ्याए । ‘मैले जागिर पनि खान सक्थेँ, विदेशमा गएर पैसा कमाउन पनि सक्थेँ तर मैले त्यो चाहना भन्दा पनि समाज सेवा र राजनीतिमा लागेर सेवा गर्छु मन्ठानेँ’, भण्डारीले भने । उनले पञ्चायत बहुदलदेखि लोकतन्त्र र जनआन्दोलनसम्म आइपुग्दा विभिन्न समयमा आफूले पनि अनेकन भूमिका खेलेको बतााए ।
उनले जीवनमा विभिन्न खुसी भए पनि आफ्नो पहिलो खुसी विद्यार्थी राजनीतिमा लागेर विसं २०५५ सालमा राप्ती बबई क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित हुँदा लागेको सुनाए । ‘विसं २०५५ साल फागुन ६ गते म पश्चिम दाङको एक मात्र सामुदायिक क्याम्पस राप्ती बबईको स्ववियु सभापतिमा १५५ मत बढी ल्याएर निर्वाचित भएको थिएँ । म त्यस दिन धेरै खुसी भएको थिएँ’, उनले भने, ‘त्यतिबेला नेकपा एमाले, राप्रपादेखि अन्य सबै दल समर्थक विद्यार्थीहरूले गठबन्धन बनाएर निर्वाचनमा गएका थिए तर म एउटा मात्र विद्यार्थी संगठन नेविसंघबाट स्ववियु सभापतिमा निर्वाचत भएँ, म त्यस दिन निकै खुसी भएको थिएँ ।’
उनले त्यतिबेला खुसीसँगै जिम्मेवारी समेत बढेको अनुभूति भएको सम्झिए । ‘अहिले जस्तो त्यतिबेला भौतिक सुविधा सम्पन्न र यस्तो क्याम्पस थिएन तर हामी निर्वाचित भएपछि क्याम्पसमा केही भवनहरू निर्माण गर्न सफल हुँदा खुसी लाग्ने गर्छ’, भण्डारीले भने । उनले आफू स्ववियु सभापति भएपछि भैलो खेलेर शौचालय निर्माणदेखि चिठ्ठा खोलेर क्याम्पसको भौतिक विकास गर्न पाएकोमा खुसी व्यक्त गरे । त्यस्तै पश्चिम दाङमा एउटा पनि सामुदायिक क्याम्पस नभएको र राप्ती बबई क्याम्पस स्थापना भएको दिन पनि आफू खुसी भएको भण्डारीले सुनाए ।
‘राप्ती बबई क्याम्पस स्थापना नभएको भए सायद सभापति हुने अवसरै मिल्ने थिएन कि त है, यहाँका विद्यार्थीहरू उच्च शिक्षाका लागि अन्यत्र जानुपर्ने बाध्यता हुन्थ्यो होला । क्याम्पस स्थापना भएर नै म स्ववियु सभापति भएर काम गर्न पाएँ अझ अर्को कुरा पश्चिम दाङका विद्यार्थीले स्थानीय स्तरमै उच्च शिक्षा हासिल गर्ने अवसर पनि पाए’, उनले भने । उनले अहिले क्याम्पसले क्यूएए पाएकोमा पनि निकै खुसी व्यक्त गरे ।
त्यस्तै भण्डारीले अर्को खुसी विसं २०६९ सालमा गैरसरकारी संस्था महासंघको अध्यक्ष बन्दा लागेको सुनाए । जिल्लामा विभिन्न क्षेत्रमा छरिएर रहेका गैरसरकारी संस्थाहरूलाई आफूले अगुवाइ गरी काम गर्न पाउँदा पनि निकै खुसी लागेको सुनाए । ‘सबैको विश्वास र साथले गर्दा म विभिन्न संघसंस्था र राजनीतिमा पनि अगाडि बढ्ने अवसर पाएको छु तर मैले सोचेअनुरूप अवसर भने पाउन सकेको छैन । तैपनि जे जति अवसर पाएको छु, त्यसैमा म खुसी छु’, भण्डारीले भने । भण्डारीले अर्को खुसी पातुखोलामा पक्की पुल बन्दा लागेको सुनाए । सधैँ वर्षातमा कष्टकर यात्रा गर्नुपर्ने अवस्था आएको र पातुखोलामा पक्की पुल बनेर सहज हुँदा त्यस दिन निकै खुसी भएको सुनाए ।
‘कति मान्छे खोलाले बगाउँथ्यो, कतिले ज्यान गुमाए र गुमाउने अवस्था पनि थियो । पक्की पुल बन्न सुरु भएदेखि नै खुसी लागेको थियो । पुल बनेर सम्पन्न भयो र सुचारु पनि भयो, त्यस दिन म निकै खुसी भएको थिएँ’, भण्डारीले भने, ‘अब पश्चिम क्षेत्रका मान्छेले खोलामा बगेर ज्यान फल्नुपर्ने छैन, यात्रा सहज हुने भयो भनेर पनि मन भित्रैबाट खुसीँ भएको थिएँ ।’
उनको अर्को खुसी तुलसीपुरमा अञ्चल अस्पताल बन्दा पनि थपिएको हो रे । तुलसीपुरका जनताले लामो संघर्षपछि अञ्चल अस्पताल स्थापना भएको दिन पनि आफू खुसी भएको उनले सुनाए । ‘तुलसीपुरमा अञ्चल अस्पताल स्थापना भएको दिन पनि म निकै खुसी भएको थिएँ, त्यो पनि मेरो अर्को स्मरणीय खुसी हो’, उनले भने । भण्डारीले पश्चिम दाङको बाटोहरूमा कालोपत्रे पुग्दा पनि मन प्रफुल्लित भएको सुनाए । ‘सधैँ बजार जाँदा र आउँदा मान्छे नचिनिने गरी धुलाम्मे हुन्थ्यो, अहिले तल र माथिका बाटा कालोपत्रे भएका छन्, त्यो धुलोको सास्ती अब बेहोर्नुपर्ने अवस्था छैन, म त्यसमा पनि खुसी छु’, उनले भने ।
यस्तै भण्डारीले अर्को खुसी तुलसीपुरमा मालपोत र नापी कार्यालय स्थापनका साथै दाङ प्रदेश राजधानी हुँदा समेत लागेको सुनाए । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत भएका भण्डारीले काग्रेसले वडाध्यक्षको लागि टिकट दिँदा तथा दिएका विभिन्न जिम्मेवारी पूरा गर्दा पनि खुसी लाग्ने गरेको सुनाए । त्यस्तै भण्डारीले कोरोनाको भ्याक्सिन आउँदा अर्को खुसी लागेको सुनाए । विश्वभरि महामारीको रूप लिएको कोरोना भाईरसले लाखौँको ज्यान गयो, त्यसपछि भ्याम्सिन आयो भन्ने सुनेपछि म निकै खुसी भएको थिएँ’, भण्डारीले भने, ‘त्यो कहालीलाग्दो अवस्था आफै सम्झनुहोस् त कस्तो थियो ?’
त्यस्तै उनले आफ्नो छोरा नर्सरीमा विद्याय प्रथम हुँदा निकै खुसी लागेको सुनाए । ‘मेरो छोरा सम्राट भण्डारी पवन बोर्डिङ स्कूलमा नर्सरीमा प्रथम भएको दिन पनि निकै खुसी लागेको थियो’, उनले भने । त्यस्तै उनले दाङ प्रादेशिक राजधानी स्थापना हुँदा अर्को खुसी थपिएको उनले बताए । त्यस्तै धार्मिक स्थल सुकौराकोट मन्दिरसम्म पुग्ने बाटो निर्माणका साथै मोटर जाँदा आफूलाई निकै खुसी लागेको सुनाए । प्रस्तुती : बालाराम खड्का