कथा : झुटको खेती

गोपाल भुसाल ‘अभिलाषी’÷

पृथ्वीको बीच कुनामा एउटा सुन्दर बस्ती थियो । त्यस बस्तीमा हिमाल, पहाड, तराई, नदी, खोला, वन, जंगल, खनिज धातु, बहुमूल्य औषधी, गोरस, अन्नपात, फलफूल, तरकारीजस्ता सबै प्राकृतिक सम्पदाले सम्पन्न भण्डार थियो । त्यस बस्तीमा बाघ, भालु, गैडा, हात्ती, कृष्णसार, अर्ना, रातो घोरल, चित्तल, स्याल, ब्वाँसो, लोखर्के, न्याउरीमुसो, कोइली, डाफे, न्याउली, कालिज, मुनाल, चमेरा, भँगेरा, गौथली, ढुकुर, काग, झ्याउँकिरी, जुनकीरीजस्ता असंख्य जन्तु, जनावर, चरा, किटपतङ्गहरुको बास थियो ।

त्यस बस्तीमा शेर नाम गरेको जन्तुले शताब्दीऔँदेखि राज्य गर्दै आइरहेका थिए । समय बित्दै जाँदा कालान्तरमा शेरका मावली, ससुराली, दिदीचेली, फुपुचेली, दाजुभाइ, भान्जाभान्जीका खलकले त्यस बस्तीमा बसेका धेरै जनावर, चरा, कीराहरुलाई दुःख दिन थाले । उनीहरुको सन्तानलाई शौखको साधन बनाइ जिउँदै जलाउने, मार्ने, अङ्गभङ्ग गरेर फ्याकिदिने गर्नथाले । उनीहरुको आहार, बासस्थान, विचरण गर्ने जलाशयहरुमा कब्जा गर्न थाले, एउटै बस्तीका सन्तान भएर पनि शेरका नातेदार बाहेक अरुको कसैको हक नलाग्ने हुन थाल्यो । जीविकाको समेत हाहाकार हुन थल्यो ।

उनीहरुको जीवन धेरै कष्टकर हुँदै गयो । त्यस बस्तीको ब्वासोले शेरका सन्तान, नातेदारहरुको यो खेल मसिनोसँग बुझेको थियो । उसले शेरको गतिविधिलाई नजिकबाट चियाइरहेको थियो । ‘एक कान, दुई कान मैदान’, ब्वाँसोले यो कुरा खरायो, स्याल, लोखर्के, न्याउली, घोरल, चित्तल, मैना, सुगा सबैलाई सुनायो । यस बस्तीमा यति ठूलो अन्याय, शोषण भइरहेको छ । यसको विरुद्ध विद्रोह हुनु पर्दछ । शेरका सबै भाइभारदारहरुलाई हामी सबै मिलेर हराउनु पर्दछ । उनीहरुलाई हाम्रो बस्ती, आहार क्षेत्र, जलाशय क्षेत्र, बासस्थान, विहार क्षेत्रमा प्रवेश गर्नु दिनु हुँदैन ।

हाम्रो नोक्सान गर्न दिनु हुँदैन भन्ने उनीहरुको बीचमा सल्लाह भयो । गाइँ–गुइँ त्यस बस्तीका राजा शेर कहाँ यहाँ केही गडबड भइरहेको छ भन्ने सन्देश पुग्यो । शेरका आफ्ना भाइबन्धु नातेदारहरुले बस्तीका अरु जन्तु जनावरहरुलाई धेरै सताइरहेका छन् । दुःख दिइरहेका छन् । त्यसैले राजा शेरप्रति बस्तीका जनावर किरा, चराहरु सबै असन्तुष्ट छन् भन्ने सुइको पाए । यस बस्तीमा यस्तो हुन दिनुभएन भनेर शेरले केही नयाँ पाइला चाले र आफ्ना इष्ट नातेदारलाई बोलाएर त्यसो नगर्न सल्लाह दिए ।

शेरका सामुन्य त उनीहरुले अरुलाई सताउने त्यस्तो कुनै काम गरेका छैनौ भनी टारे तर आफ्नो धन्दा छोडेनन् । यस्तै गर्दा भित्र–भित्र शेर र अन्य जन्तुजनावर बीचको विश्वासको दूरी बढ्दै गयो । बस्तीको नियमको पालना र नियन्त्रण हुन सनसकेपछि नियम परिवर्तनको आवाज पनि उठ्न थाल्यो । अत्याचारको उकुसमुकुसले विद्रोहको आगो विस्तारै सल्किन थाल्यो । यसको नेतृत्व ब्वाँसो, खरायो, न्याउरीमुसो र लोखर्केले गर्न थाले । यी चारमा पनि मतमतान्तर हुन थाल्यो ।

कसैले शेरसाग मिलेर जानु पर्दछ भने कसैले शेरले राम्रो शासन चलाउन सक्तैन भने । कसैले शेरलाई नै हटाउनु पर्दछ भने, कसैले कुर्सीबाटै तानेर फ्याक्नुपर्दछ भने । कसैले शेरको सल्लाहकार नै गलत भएकाले यस्तो भएको हो । सल्लाहकार हाम्रो पक्षको राख्नु पर्दछ भन्न थाले । यस्तै गर्दागर्दै समय धेरै बित्दै गयो । शेरले पनि बस्तीको हालखबर बुझ्दै गइरहेका थिए । शेरलाई यो भ्रमको शंका पनि हुन थाल्यो । यो बस्तीका यी भुसुना जीवहरुले मलाई नै सिध्यउने खेलमा त लगिरहेका छैनन् ।

गूप्तचरहरुको अनुसन्धानपछि शेरले त्यस्तै आभाष पाए अनि त विद्रोहको तानावाना बुन्ने समूहका नायिकेहरुलाई समातेर कसैलाई खोरमा कोचे, कसैलाई हिलामा थेचारे, कसैलाई बस्ती बाहिर निकाले, कोही भागेर अर्को बस्तीमा छिरे, कतिले छरछिमेकीको गुहार मागेर शेरको अत्याचार सुनाउन थाले । दबाब दिन अनुरोध गरे । कतिपटक त छरछिमेकको मध्यस्थता र दबाबमा शेरले खामोस खानुप¥यो, माफी माग्नु प¥यो ।

पुनः विद्रोही नायिकेहरुलई आफ्नो बस्तीमा भिœयाउनुप¥यो । त्यस बस्तीका केही नायिकेहरुले अब यस्तो तरिकाले हुँदैन । कठोर अभियानमा लाग्नु पर्दछ । बस्तीमा सबै बासिन्दालाई उठाउनु पर्दछ । सबैलाई हतियार उठाउनु पर्दछ भन्नथाले । यो काम गर्न त्यति सजिलो थिए । साँझबिहान छाकबासको पिरालो भएका बासिन्दालाई भिडमा उतार्न, जम्मा गर्न कोही तयार हुने छैनन् ।

अब यस बस्तीमा शेरले मात्र अधिकार जमाउनु । रजाइँ गर्नु हुँदैन । हामी सबै यस बस्तीका हकदार मालिक हौ । यस धरतीमा हाम्रो पनि हक छ । यही जन्मिएकोले हम्रो पनि आफ्नो अस्तित्व छ । अस्तित्व रहनु पर्दछ । यस बस्तीको संरक्षण र विकासमा हाम्रो पनि रगत, पसिना लागेको छ । अब हामी सबै एकजुट भएर शेरको हैकमको विरुद्ध जानु पर्दछ । लड्नु पर्दछ भन्ने सन्देश लिएर ब्वाँसाहरु बस्तीका रुख, गुफा, दुला, तलाउ, नदीका चरा, जन्तु, माछा, किराका वनाथहरुसम्म पुगे । यो कुरा सबैलाई जच्यो तर शेरसँग कसरी लड्ने ? हामीसँग त केही पनि छैन ।

फेरि शेरलाई हराएर अर्कोलाई ल्याउँदा हामीभन्दा ठूलो जल्दाबल्दा जनावर, किरा, चराहरु धेरै छन् । तिनीहरुकै हालिमुहाली हुने होला । हामी जस्ता भुसुनालाई के गरी खान दिन्थे र ? एउटा गयो अर्को आयो । हामी त उस्ता उस्तै । हम्रो दुःख मर्म कसले पो सुनिदेला ? जुनकीरीले सबै सामू आफ्नो तर्क राखी । हो ! हो !! हमीजस्तालाई माथि उठ्न दिँदैनन् । हामी माथि त सबैले शासन गर्ने हुन् । झ्याउकीरीले उत्तर दिई । जुनकीरी तर्क सबैलाई चित्त बुझ्यो । शेरसँग जुत्तन, भिड जम्मा हुन उनीहरुलाई उत्साह जाँगर आउन सकेन । ब्वाँसाहरुको मात्र विश्वास गर्न सकेनन् ।

ब्वाँसाहरुले धेरै उक्साउन खोजे पनि जुनकीरीका माथिको तर्कले विस्तारै बस्तीका सबैको मनमा घर जमाउन थाल्यो । ब्वाँसाहरुले आफूल्े सोचेको लक्ष्यजस्तो ठूलो भिड जम्मा गर्न सकेनन् । तब खरायो ब्वाँसाहरुले सबैलाई आफ्नो पक्षमा लिन छुट्टै अर्कौ रणनैतिक चाल रचे । बस्तीका प्रत्येक ठूला, साना भुसुनाको मनमा उत्साह बढाउन, भोलिको आशा जगाउन, जोश जाग्र भर्न, भिडमा होमिन यो चालले काम गर्ने ठम्याइ धेरैको भयो । शेरलाई हटाएर यस बस्तीका मालिक (राजा) हामी भयौा भने सबै जातिका जीवहरुले आ–आफ्नो विकास गर्न छुट्टै अधिकार पाउने छन् ।

उनीहरुले बासस्थानको लागि छुट्टाछुट्टै स्थान दिइनेछ । तोकिनेछ । यो स्थानमा अर्को जातिले मिच्ने, दबाउने, सम्पत्ति खोस्न पाउने छैनन् । सबैलाई बस्नको लागि बस्तीका राजाले घर बनाइदिने छन् । पुरानो लेनदेनको सापटी सबै मिनाहा हुनेछ । हाम्रो नियम व्यवस्था लागू भएमा सबैलाई सुपथ मूल्यमा वस्तुभाउ मिल्नेछ । बस्तीभित्रका प्राकृतिक सम्पदाको चोरीचकारी, गुण्डागर्दी, तस्करी, डकैती सबै रोकिनेछ । अर्को बस्तीको शरण परेर कुनै वस्तू ल्याउनु पर्नेछैन ।

हामीले कमाएको, बनाएको सबै चीज हामीले नै उपभोग गर्न पाउने छौँ । ठूलोठूलो, उद्योग, खेती हुनेछ । काम, माम र दामको कुनै समस्या हुनेछैन । प्रत्येकको भान्सा–भान्सामा विद्युतीय उर्जा रुपैयाँमा होइन पैसाको मूल्यमा पुग्नेछ । आफ्नो परिवार पाल्न र व्यवसाय गर्न बस्तीका प्रमुकले सबै प्रबन्ध मिलाउनेछन् । अनि त हाम्रा अहिलेका सबै दुःख, डर, अत्याचार सबै समाप्त हुनेछन् भन्ने जस्ता ज्यादै सुन्दर सपनाका मन्त्र बनाए, फुके ।

यता त्यस बस्तीका हात्ती, गैडाहरुले शेरको पक्ष र ब्वाँसा पक्षका सबै योजनाहरु आँकलन गरिरहेका थिए । उनीहरुले ब्वाँसाहरुको यो सफल नुहने कपटी खेल हो भन्ने ठानिरहेका थिए । तसर्थ, आफूहरु शेरको पक्षलाई पनि पूरै समर्थन नगर्ने र ब्वाँसाहरुलाई पनि साथ नदिने बरु तटस्थ बस्ने निधो गरे ।
कसैको विश्वास र आशा नै नगरे यो बस्तीमा कसरी परिवर्तन होला ? भन्ने मान्यताका साथ आफूलाई विश्वास गर्ने जीवजन्तु, चरा, किरालाई साथ लिएर ब्वाँसाहरु एक कित्तामा एकताबद्ध भए ।

नयाँ अभियानमा जुटे । पहिले अभियान– जहाँ–जहाँ शेरका समर्थकहरु जान्छन् त्यहाँ–त्यहाँ उनीहरुको काममा भाँजो हाल्ने । दोस्रोमा शेरका समर्थकलाई छोप्दै ज्यान लिने धम्की दिने । तेस्रो शेरको भाषा बोल्नेलाई अपहरण गर्ने र गुफामा लगेर राख्ने । चौथोमा शेरका समर्थकका हतियार खोस्ने रातीमा क्याम्प कब्जा गर्ने । यो काममा ठूलो हुलहुज्जत जुटे । कमिला, विच्छी, सर्पहरुले विष छोडेर लुतो, दादुरा, खटिरा उत्पत्ति गरे । गिद्ध, चिल, बाजहरुले आकाशबाट खेतबारीको खाद्यान्न, फलफूल, तरकारी, भताभुङ्ग पारेर काम नलाग्ने बनाए । गौँथली, चमेरा भँगेराहरुले लत्ताकपडा च्याथचुथ पारेर धुजाधुजा पारे ।

मुसा, गँगटाले घरघरमा दुला (बिल) बनाएर राखेको चिज नष्ट गर्न थाले । काम, सुगा, बाँदरले उत्पादित बाली सखाप पारे । लामखुट्टे, मच्छर पुतलीका भाइरसहरुले शरीरमा ज्वरो, झाडा, पाखाला, रुघाखोकी उत्पत्ति गरेर शेरका सन्तानहरुलाई मरनासन्न निस्तेज बनाउन थाले । यो उत्पातको डरले शेरलाई साथ दिनेहरु पनि चुपचाप लुकेर बसिरहेँ । यो चारपाते अभियान ब्वाँसाका नायिकेहरुले अर्को रणनैतिक चाल बनाए । शेरको समूह आफूभन्दा धेरै बलियो छ । सामान्य तरिकाले परास्त गर्न सकिँदैन । अब शेरको समूहमाथि विश्वास टिकेको परम्पराबाट चल्दै आएको धर्म, रीति, थिति, नाति सबै उल्टाउनु पर्दछ ।

विद्यमान संस्कार, संस्कृतिको विपरीत शिक्षा प्रशिक्षण दिनु पर्दछ भन्ने योजनाका साथ बस्तीमा व्याप्त पुराना चलन लवाइ, खवाइ सबै रुढीवादी, अन्धविश्वास हुन् । परिवर्तन र विकास पुरानोलाई फालेर नयाँबाट मात्र सुरु हुन्छ भन्ने पाठ सिकाइयो । तत्पश्चात बस्तीमा रहेका शेरका मुख्य मुख्य अखडा, गोदाम, धनसार, भन्सार, टम्सार खानाहरु लुटपाट गर्न लगाइयो । शेर र उसँग समर्थक बस्ने घर, गुफा, मन्दिर, छाप्रा, ओढार झाडीहरुमा आगो लगाइयो ।

तोडफोड गर्न थालियो । शेर र हुल समूह बीच ठूलो भिडन्त भयो । ठूलो भिडन्त भयो । दुवैतर्फ धेरै क्षति भयो । त्यसमा कति बस्ती छोडेर भागे, कति कन्दरामा लुगेक । कति लुडा, लङ्गडा, काना, बहिरा भए । कतिका पोथी एक्ला भए । बस्तीमा सबै चीजको हाहाकार हुन थाल्यो । शेरले भनेको पनि कसैले मान्ने नै भएनन् । आफ्नो ज्यान बचाउनतिर लागे ।

शेरले यी हुल हुज्जतको मुख्य टोली प्रमुखसँग कसरी वार्ता सम्झौता गर्ने । अरु बस्तीका छिमेकीसँग हारगुहार गर्न थाल्यो । धेरैले अनेक थरिका प्रस्ताव तर्कहरु राखे । एक छिमेकीले शेर पक्ष, हात्ती, गैडा पक्ष, अन्य छितरवितर लुकेका, चुप लागेका पक्ष र हुलहुज्जत गर्ने पक्ष सबैलाई समेटेर निकास किाल्नु पर्दछ भन्ने तर्क राखे । यो समस्या सुल्झाउन नसके बस्तीका सबै प्राणी भोकभोकै मर्नुपर्ने र बस्ती नै गुम्ने खतरा आउने बताए ।

ब्वाँसाहरुको यो उत्पात उनीहरुको बलबुताले मात्र भएको छैन अन्य बस्ती कसैको सहयोग, प्रोत्साहन र स्वार्थले काम गरेको छ भन्ने आभाष, अड्कल हात्ती, गैडाले पनि पाएका थिए । तैपनि अति नै हुन थालेपछि हामी यसरी टुलु–टुलु हेरेर चुप लागेर बसिरहन त भएन । शेर वा ब्वाँसा जुन पक्षको भए पनि नोक्सान, क्ष्ति, दुःख हाम्रै बस्तीलाई हुने हो । सम्झौता, समन्वयको प्रयास त हामीले पनि गर्ने प¥यो भन्ने ठाने ।

उनीहरुले शेरको समूह बाहेक अन्य सबैको सहमतिमा यो उत्पात, विद्रोहको अभियान रोक्न लगाउने र शेलाई छिमेकीबाट दबाब दिएर सल्लाहमा आउन बाध्य पार्ने निष्कर्ष निकाले । नयाँ प्रस्ताव पनि ल्याए । यस बस्तीमा अब बस्तीका सबै समूहका प्राणीका प्रतिनिधिले बस्ती चलाउने । आ–आफ्नो जातका जन्तु, जनावर, किरा, चराहरुले छुट्टाछुट्टै आ–आफ्नो बस्ती बसाल्ने र आफ्नो विकास आफै गर्ने योजनाको खाका तयार पारे । छिमेकीको मध्यस्थतामा यो योजनामा गोप्य सहमति भयो । कुनै दूतमार्फत शेरलाई यो प्रस्तावको सूचना पु¥याइयो ।

शेर पक्षले आफ्नो समूहको एउटा बैठक डाके । चलिरहेको आक्रोशलाई शान्त पार्न केही नरम भएर उनीहरुको माग सम्बोधन गर्ने र आफ्नो अस्तित्व पनि सुरक्षित राख्ने पक्षमा एक समूह देखियो भने अर्को समूहलाई त्यो स्वीकार्य भएन । हाम्रा पुर्खाले कमाएको, कजाएको बस्तीलाई भुसुनाहरुसँग अधिकार बाँडचुड गर्ने कुरा सुपाच्य भएन ।

समस्या झन–झन जटिल बन्दै गएपछि हारथाम खाएर शेरले ‘यदि यस बस्तीमा जमिनमुनिका भुसुनादेखि आकाशका चिलसम्म सबै प्राणीको बराबर हित हुन्छ र बाच्न पाउने अधिकार सबैको सुरक्षित रहन्छ भने आफू केही शासन त्याग्न तयार रहेको भन्दै ढुङ्गो, गुङ्ग्रे, चुपचापे, चम्चे र आफ्ना समर्थक रहेको बस्तीको एउटा सभा बनाउने र त्यस सभाले जे निर्णय गर्छ त्यही गर्न, त्यही मान्न आफू तयार हुने घोषणा गरे ।

शेरको घोषणापछि बस्तीको उपद्रो विस्तारै शान्त भयो । सामूहिक सभा डाकियो । सभाले शेरलाई बस्तीको नायिकेबाट सदाको लागि बिदा दिने निर्णय ग¥यो । पूर्वसहमतिअनुसार बस्तीका सबै ठाउँमा सबै प्राणीले मत लिने, प्रतिनिधि र नयाँ वयवस्थाको खाका बनाउने तय भयो । यहाँसम्मको गतिविधिले बस्तीका सबै प्राणीहरुमा पहिले मन्त्र पढाइएका सुन्दर सपना पूरा हुने भविष्यको आशामा अल्झिए ।

नयाँ खाकाको व्यवस्थापनमा नै बस्तीको अर्बौँ ढुकूटी सकियो । आठ वर्ष व्यतीत भयो । विगतको भिडमा जुटेका कमिला, मच्छरदेखि चिल, बाजसम्मका प्रजातिको छुट्टाछुट्टै आफ्नो विकास गर्न र पद, प्रतिष्ठाको स्थान दिन यस सानो बस्तीलाई चिराचिरा पारियो । बस्ती चलाउन तीन प्रकारका शक्ति केन्द्रहरु बनाइयो । यी शक्ति केन्द्रका प्रशासनिक पदहरुमा पिछडिएका योग्यता, क्षमता कमजोर भएका प्रजातिको लागि तीनचौथाई स्थान सुरक्षित राखियो । बस्तीका महत्वपूर्ण शक्तिकेन्द्र विशेष पदमा ब्वाँसाहरुले आफ्नो स्वइच्छा राख्न पाउने भागबण्डाको कोटा राखियो । हात्ती, गैडा, शरवर्गको लागि निषेध गरियो । बस्तीभित्र र बाहिर रहेका विशेष पक्ष भएका जाति, समूहका जन्तुहरुलई पाखा लगाइयो ।

एकचौथाइ शताब्दीसम्म बस्तीमा आफ्नो कब्जा जमाइराख्न ब्वाँसाहरुले आफ्नो विचार र व्यवहारसँग सहमति हुने सबैलाई एक ढिक्का हुन आह्वान गरे । विभिन्न स्वार्थ भएका समूहहरुबीच केही मतमतान्तर भए पनि टालटुल पारेर एकताबद्ध भएको देखाएर नयाँ चुनावी रणनैतिक घोषणापत्र बनाए । सबै जाति, प्रजातिले विद्रोहका वाचा पूरा गर्न र नयाँ व्यवस्थाको कार्यान्वयन गर्न समर्थन दिए । तीनवटै शक्तिकेन्द्र प्रायः उनीहरुकै पकडमा गयो ।

समय बित्दै गयो । व्यवस्थाको नयाँपन देखाउन बस्तीका अङ्गभङ्गमा नाम, रुप, आवरण, आकारमा रुपान्तरण गरियो । भाषा, शब्द, बोल्ने शैलीमा परिवर्तन गरियो तर शेरका पालामा देखिएका बस्तीका समस्यालगायतका आरोप र पढाइका मन्त्र पूरा गर्ने, न्यूनीकरण गर्नेतर्फ ब्वाँसाहरुको ध्यान गएको देखिएन । बरु नदीनालामा डुङ्गा चलाउने, फेदीबाट लेकको टाकुरासम्म रेल कुदाउने, खाद्य पकाउने इन्धन पाइप प्रत्येकको घरमा विछ्याइदिने, बस्तीको जलासयलाई पेट्रोलको भाउमा टाढाका बस्तीमा पठाउने ।

अग्ला लेकहरुमा हाइटावर बनाएर समुद्रापारिका छिमेकी अन्तरीक्ष अध्ययन गर्ने सेण्टर खोल्ने जस्ता बस्तीको क्षमता, काबुभन्दा बाहिरका ठूलाठूलो स्वप्न, भाषण गर्न थाले । बस्तीको सुशासन, स्वाधीनता, सबैप्रतिको न्यायोचित व्यवहार जग बलियो बनाउने विकास नभएर आकाशबाट समृद्धि ल्याउने कुरा गर्न थालियो । पुरानो रोग सुल्झाउनेतिर बस्तीको गति कताकता अल्मलिएको, हराएको जस्तो देखिन थाल्यो । बस्ती न त शेरको पालाको जस्तो भयो न त नयाँ चाहेको जस्तो भयो । तैपनि बस्तीका नायिकेहरु पर्ख, पर्ख यो संक्रमणकाल हो भन्न छोडेनन् ।

नयाँ संरचनाअनुसार त्इस बस्तीका सबै प्राणी र तीन शक्तिकेन्द्रलाई कागजी अधिकारका पोका थमाइयो । साधन, स्रोत र अन्य प्रबन्ध आफै खोज्ने जिम्मा लगाइयो । यो सबै जीवित राख्न समृद्धि कर नामक भयानक भुसुना पीडक राक्षस छोडियो । उर्जा लगाउने धानचरी, कमिला, माहुरीहरुलाई बाहिर लखेटेर बस्ती उजाड बँझो बनाइयो । उपभोग्य वस्तुको मूल्य अनियन्त्रित आकास हुने भाइरस छोडेर भुसुना उत्थान गर्ने ब्वाँसाहरु चितुवा पोषक बन्न पुगे । अब ब्वाँसादी नेताजी भन्छन् इतिहासमा बोलेका कुरा नकोट्याउनुस् । अगाडि बढ्ने मात्र कुरा गरौँ । बीस–तीस वर्ष हामीलाई काम गर्न दिनोस् यस बस्तीलाई सगरमाथा पु¥याइदिन्छौँ ।