प्राकृतिकले निम्त्याएको प्रकोेप

विनोद पोख्रेल
२०७८ बैशाख १६ गते
एकजना विद्यार्थीलाई आइएको कोर्श पढाउँदा एउटा निबन्ध पढाउनु परेको थियो । निबन्ध सोल्जेत्नीक्सनले लेखेको हो जस्तो लाग्छ । छोटो थियो । दाउराको आगो बालियो । तातोले गर्दा दाउराभित्र बसेका कमिलाहरु एकपल्ट बाहिर निस्के । फेरि फर्केर त्यही दाउरोमा गएर जलेर मरे । टेक्स्ट दुई पाराग्राफ जतिको थियो जस्तो लाग्छ । आशय भने गहिरो । आफ्नो बासस्थानप्रतिको प्रेम र त्यसलाई संरक्षण गर्ने जिम्मेवारी केकति हुन्छ भन्ने देखाउन खोजिएको थियो ।

त्यस्तै फेसबुकमा कतै लेखेको देखेको थिएँ – कुनै प्रशारका बाधा परे मानिस घरमै फर्कने हो । विदेशमा गएकाहरु मरे भने पनि घर फर्कने हुन् । घरमा बस्दा ऋण लागेर सबै सकिए पनि वा साहुले बन्धकी राखे पनि सबै छोडेर गएकाहरु समेत त्यही घरबारी फुकुवा गराएर त्यहीँ बस्न ाउने उद्देश्य बनाएका हुन्छन् । मैले यो विषयलाई बुँदागत रुपमा राख्न लागेन । तर आजबाट लागू हुने लकडाउनबाट बच्न काठमाडौंबाट हिजोको समाचार अनुसार लाखौँ मानिस बाहिरिए ।

टेलिभिजनले देखाएको चित्र र भनेको अनुसार बस मात्रै होइन जे साधन भेटे त्यसैमा त्इहाँबाट निस्केर बाटो नै जाम भयो । मेरा छोराहरु हिजो काठमाडौं फर्के । विपुलले नौबीसेबाट काठमाडौं पुग्न साढेतीन घण्टा लाग्यो भन्यो । काठमाडौं पनि नागढुङ्गा मात्रै । सामान्यतया यो डेढघण्टाको बाटो हो । विशाल कतिबेला पुग्यो थाहा छैन । दुवैले कोठामा पुगेपछि फोन गर्न भनेको गरेनन् । सायद समय धेरै लाग्यो । निस्कने साधन बढी थिए । फर्किने पनि उस्तै थिए रे । यो विषयले आत्मीय भावना, प्रेमदेखि राष्ट्रियता समेतलाई परिभाषित गरेको पाएँ ।

उनीहरु जहाँ जान्छन् त्यो ठाउँ पनि खतरामुक्त त छैन तर पनि जाने वा पुग्ने एउटा ठाउँ छ । त्यहाँ आफ्नाहरु छन् । ाफ्नासँगै बसेर सजिलो अप्ठेरो जस्तोको पनि सामना गर्न सजिलो होला भन्ने एउटा विश्वासले यो परिवेश बनाएको हो । बरु थोरैमा सन्तोष गरौँ तर आफ्नासँगै बसौँ भन्ने शिक्षा दिएको हो । लिन सक्नेले लिन्छ नसक्नेले वा नचाहनेलाई केही भन्नु छैन । अलिकति खुकुलो भयो कि फेरि त्यहीँ दगुर्ने बानी फेर्न आवश्यक छ । सरुवा रोगहरु यति धेरै समयसम्म रहेको सायद एउटा नयाँ रेकर्ड नै हो । अब रेकर्ड हो कि होइन भनेर सोच्ने बेला यो होइन ।

आफू कसरी सुरक्षित हुन सकिन्छ भनेर सोच्ने बेला हो तर यो सोचसँगै एउटा अर्को सोच आउँछ । मेरा सन्तान सुरक्षित भएनन् भने म सुरक्षित भएर अझ धेरै पीडा, दुःखमा बाँच्नुपर्छ । त्यसकारण आफ्नाको सुरक्षाको लागि बढी ध्यान आवश्यक छ । त्इसैले स्वास्थ्यसँग सम्बन्धित व्यक्ति वा निकायले जे सल्लाह दिन्छ त्यो सबै पालना गर्नैपर्ने भन्ने लाग्छ । यो बैशाखको गर्मीमा पनि तातो पानी खाँदा बढी लागेको छैन । अरुबेला भए यो सायद हाँसोको विषय हुन्थ्यो । आफ्नो र आफ्नाको संरक्षणका लागि सुरक्षित हुने सबै उपाय अपनाउन मन लाग्छ ।

२०७८ बैशाख १७ गते

अचम्मको सुनोपन । पहिलोपल्ट भन्दा बढी सतर्क भए जस्तो लाग्छ, आम मानिस । हुन त आज लकडाउनको सुरुवात पनि हो, यहाँ । पहिलो दिनको मर्यादा राखेको पनि हुनसक्छ । खबरहरु पनि त्यस्तै आइरहेका छन् । नसोचेको मानिसहरु, नसोचेको समयमा मरेको सुनिँदैछ । यस्ता समाचारले डर बढ्छ । म आफै पनि कतै निस्केको छैन । हुन त तागत भए पो निस्कनु तर मन्दिरसम्म जाने गरेको पनि रामनवमी पछाडि त्यहाँसम्म पनि पुगेको छैन । एक हप्ताभन्दा बढी भएछ । आज मौसम पनि अलि अलग छ ।

हिजो साँझ जोडले हावाहुरी चल्यो । दिउँसै अँध्यारो भयो । पानी भने परेनभन्दा पनि हुन्छ । हावा धेरैबेर चल्यो । विशेष गरेर दुईपल्ट चट्याङ पनि प¥यो । सानातिना आवाज त अलि धेरैपल्ट आए । अहिले बिहान पनि आकाश पूरै बादलले ढाकिएको छ । सूर्यलाई हेर्न सकिन्छ । त्यो चरो भने एक्लै मैले देख्ने गरी झालको टुप्पोमा बसेको छ । लौ मैले लेख्दालेख्दै त्यो पनि उड्यो । अहिलेको स्थिति भन्ने हो भने मैले म बाहेक अरु कुनै प्राणी देखेको छैन । यो झ्यालबाट यस्तो दृश्य देखिनु अपवाद नै हो । घरका पनि कोही काममा छन्, कोही सुतेका छन् । यो अनलाइन कक्षाले पनि के ग¥यो ? ठिक हो कि होइन अब त अलि सोचेर मूल्यांकन गर्नुपर्ने जस्तो लाग्छ ।

विश्वविद्यालय स्तरमा त भन्न सक्दैन तर सानो कक्षाहरु १०–१२ सम्मका विद्यार्थीलाई यसले फाइदाभन्दा घाटा नै बढी भएको जस्तो लाग्छ । कक्षा उन्नतिको प्रक्रियामा चलाउने आधार त बनेको छ तर अध्ययनदेखि शारीरिक व्यायाम, मित्रहरुसँग भेटघाट र खेलकुद अनि शिक्षकले दिने अनौपचारिक शिक्षा केही पनि छैन । यता घरमा अनलाइन कक्षा भने एउटा कोठामा बसे, पढे अथवा जे गरे । समय अझ बढी मोबाइलमा या ल्यापटपमा बिताए । यसले उनीहरुको सम्पर्क त कम भयो नै बानी पनि कस्तो बन्ने हो ? भन्ने चिन्ता लाग्न थालेको छ । यस्तै भएर त समूहगत वा सामाजिक जिम्मेवारीसँग मतलव हुँदैन । आफूमा सीमित भएर बँच्नु त मानवीय गुण भएन ।

सामाजिक प्राणीको चरित्र पनि भएन । जीवनमा जिम्मेवारी र अनुशासन भएन भने त्यो जीवन पटक्कै सफल हुँदैन । सबै कुरामा षड्यन्त्र देखेर पनि हुँदैन । यस्ता अप्ठेराहरुबाट आफूले पनि केही सिक्ने, केही बुझ्ने क्षमता वृद्धि गर्न सक्नुपर्छ । पुस्ताको फरकले गर्दा साना केटाकेटी बुढाबुढीहरुसँग बसेर गफ गर्न, समय काट्न त्यति सजिलो मान्दैनन् तर पनि बुढाबुढीका पुराना अनुभवलाई रमाइलोको रुपमा लिन भने चाहन्छन् । वर्तमान परिवेशले त यिनलाई मानिसबाट मसिनमा सीमित बनाइदिन्छ कि भन्ने चिन्ता लाग्न थालेको छ । यसको निकास वा विकल्पबारे सोच्न जरुरी छ ।