मतदान शान्तिपूर्ण, मत पेटिका संकल्न गरिदै

  •   
  •  

घोराही, ४ मंसिर । दाङमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । जिल्लाका १ सय ५३ मतदानस्थलका ४ सय ६५ मतदान केन्द्रहरु मध्य केही स्थानमा प्राविधिक तुर्टीका कारण केही समय मतदान ढिलाई भएपनि अधिकांस मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भएको मुख्य निर्वाचन अधिृकत कृपासुर कार्कीले जानकारी दिनुभएको छ ।

‘जिल्लाका केही मतदान केन्द्रमा प्राविधिक रुपमा केही समस्या भएपनि अधिकांस मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ’,मुख्य निर्वाचन अधिकृत कार्कीले भन्नुभयो,‘मतदाताहरुले आफ्नो मन परेको उम्मेदवारलाई मत दिनुभएको छ ।’

मुख्य निर्वाचन अधिकृत कार्कीका अनुसार साँझ ५ बजेसम्म मतदान केन्द्रभित्र प्रवेश गरेका मतदाताहरुले साँझसम्म मतदान गर्नुभएको थियो । उहाँले मतदान सम्पन्न भएका मतदान केन्द्रहरुबाट मुचुल्का उठाएर मतपेटिका मतगणनास्थल ल्याउने काम भैरहेको समेत बताउनुभयो ।

मतगणना भोली विहानबाट हुने

यसैविच दाङका ३ वटै निर्वाचन क्षेत्रहरुमा मतगणना सोमवार विहानबाट मात्रै हुने भएको छ । आइतवार रातीसम्म जिल्लाका सवै क्षेत्रबाट मतगणना हुने घोराही, तुलसीपुर र लमहीमा तोकिएका मतगणनास्थलमा मतमेटीका ल्याउने र सोमवार विहान सर्वदलीय वैठक बसेर मतगणना गरिने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको छ ।

मतपेटीका ल्याउँदा राती हुने भएकाले सोमवार विहानवाट मतगणना सुरु हुने उहाँले बताउनुभयो । ‘भौगोलिक समस्याका कारण मतमेटीका ल्याउन समय लाग्ने अवस्था छ’,उहाँले भन्नुभयो,‘त्यसैमा कर्मचारी तथा राजनीतिक दलका प्रतिनिधिहरु समेत मतदान केन्द्रमा बसेर थाकेकाले सवैको सहमतिमा सोमवार विहानबाट मतगणना गर्ने सहमति बनेको छ ।’

दाङको क्षेत्र नं. १ को लमहीस्थीत लमही नगरपालिकाको सभाहल, क्षेत्र नं. २ को घोराहीस्थीत जिल्ला समन्वय समितिको भवन र क्षेत्र नं. ३ को तुलसीपुरस्थीत भू–तथा जलाधार व्यवस्थापन कार्यालयमा मतगणना गरिने भएको छ ।