भुवन पोख्रेल
चुनाव हार्नका लागि कोही पनि निर्वाचनमा होमिँदैन । नेता जोगी बन्न राजनीति गर्दैनन् । नेतालाई साम, दाम, दण्ड, भेद जसरी पनि चुनाव जित्नुछ । विचारधारा पूरै विसर्जन गरेर पनि सत्ता कब्जा गर्नु छ । पद, पैसा र प्रतिष्ठाका लागि स्वार्थ समूहसँग नेताले गला जोड्न विवश छन् । कसलई किन र कसरी जिताउने सेटिङ चल्छ, कसैलाई राताराता जिताउन र हराउनका लागि चुनावको मौन अवधिमा स्वार्थ समूहमा मत किनबेचमा सक्रिय हुन्छ ।
यस्तो शक्तिको टकरावमा कसलाई कुन साइजमा राख्ने भन्ने इगोले पनि ठूलो धन राशी खर्चेर कसैलाई जिताइन्छ र कसैलाई हराइन्छ । पैसावालाले शक्तिका लागि धनखोला बगाइदिन्छन् । विशेष गरी गरिब निमुखा, अशिक्षित जनमानस छन् भने त्यहाँ बढी मतको किनबेच हुने आम धारणा छ । ठूलो आर्थिक संकटमा गुज्रेको परिवारलाई केही राहत उद्धार गर्न चुनावका बेला नेता प्रतिस्पर्धात्मक रुपमा अघि सर्छन् । जति पनि धनराशी गर्न गरेर भए पनि आफ्नो पकडमा मतदाता राखिरहन चाहन्छन् । मतदाताले हिजोको निष्ठा, विचारधारा बिर्सन्छन् । आजको स्वार्थले मात्र काम गर्दछ ।
निर्वाचन महँगिँदै जाँदा धेरै निष्ठावान् राजनीतिज्ञहरु सकसमा परेका देखिन्छन् । सूक्ष्म रुपमा विश्लेषण गर्दा राजनीतिमा लामो समय खर्चिएका निष्ठावान् गरिब विपन्न र आर्थिक हैसियत कम भएका नेताहरुले चुनावमा टिकट पाउन सकेका छैनन् । उनीहरु अप्ठेरो जीवन बाँच्न विवश छन् । निर्वाचनमा खर्च कसरी धान्ने भन्ने पिरलो अधिकांश नेताहरुलाई पर्ने गर्छ ।
चुनावका मुखमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विभिन्न राजनीतिक रँगहरु देखिएका छन् । महाधनाढ्य, सम्भ्रान्तहरु नेतृत्वहरु गाउँ–गाउँ र झुपडी चाहार्दै सपनाको खेती गर्दैछन् । झुपडीमा कहिल्यै नजर उठाएर नहेर्नेहरु आश्वासनका पोका बाँड्दै दौडिरहेका छन् । स्वतन्त्र उम्मेदवारहरु पनि सस्तो निर्वाचनको नारा घन्काउँदै घण्टी बजाइ मन्दिर–मन्दिर र शक्तिपीठहरुमा धाउँदैछन् । चुनाव जित्ने हुटहुटी र मतदाता रिझाउने क्रममा उम्मेदवारहरुले व्यवस्था बदल्यौा ब अवस्था बदल्ने छौँ भनी मतदातासमक्ष झुठको खेती गरिरहेका छन् ।
कहीँकतै पन िविचारधाराबाट प्रभावित भएर नेता चुन्नुपर्ने अवस्था भेटिन्न । पहिले रुखचिह्नमा भोट माग्नेहरु अहिले हँसिया–हथौडामा भोट माग्दै छन् । पहिले गाई, हलो चिह्नमा भोट माग्नेहरु अहिले सूर्य चिह्नमा भोट माग्दै छन् । पहिले एकअर्काका प्रतिद्वन्द्वी दलहरु अहिले गला जोडेर अर्को दलको चुनाव चिह्नमा भोट माग्दै हिडेको दृश्य विश्वमै विरलै भेटिएला । आम मतदाता र कार्यकर्तालाई सिद्धान्त, निष्ठा, नैतिकता सबै स्वाहः गराएका छन् ।
जीवनभरि पार्टीको आदेश मान्दै आएका मतदाता र कार्यकर्ता अहिले अप्ठेरो चेपुवामा परेको पाइयो । टाउकोको मूल्य तोक्ने र टाउकाको मूल्य बोक्ने कांग्रेस माओवादी एकअर्कालाई भोट मागिरहेका छन् । स्वतन्त्र बिनाविचारधारा हामी अब्बल भन्दै अन्धाधुन्द भाषण गर्दै भौँतारिरहेका देखिन्छन् । कतिपय स्थानमा प्रत्यक्ष उम्मेदवार आफै मोटरसाइलमा साउण्ड सिस्टम बाँधेर एक्लै भोट माग्दै हिडिरहेको देखियो । कतै हेलिकोप्टरमा हतारिँदै आमसभाको लर्काछन् । कसले कहाँ, कसरी कति खर्च गर्दै छन्, कसैले भन्न सक्ने कुरो भएन ।
मतको मूल्य मतदाता र नेता दुवैका लागि भारी पर्नु लोकतन्त्रको दीर्घायुका लागि पनि शुभसंकेत होइन । निर्वाचन आयोग ‘नो नट अगेन’ विरुद्ध विज्ञप्ति जारी गरेर बसेको छ । दलकै सिण्डीकेटको पक्षमा उभिएकै छ । निर्वाचन आचारसंहिता २०७९ प्रतिकूल रहेकाले उल्लिखित कसुर गर्ने व्यक्तिलाई एक लाख जरिवाना र पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने भन्दैछ । त्रिभुवन विश्वविद्यालयले पनि शिक्षक कर्मचारी सेवासम्बन्धी नियम शर्तलाई उल्लेख गर्दै राजनीतिक क्रियाकलापमा सक्रिय सहभागिता नजनाउन परिपत्र जारी गरेर बसेको छ ।
राजनीतिक क्रियाकलापमा संलग्न देखिएमा त्यस्ता शिक्षक, कर्मचारीलाई नियमअनुसार आवश्यक कारबाही गर्नु भनेको छ । प्रध्यापक, शिक्षकहरु लम्पट भएर राजनीति गर्नु हुन्न । यद्यपि बेथितिविरुद्ध मौन बस्नु पनि हुँदैन, सचेत र बुद्धिजीवीवर्गहरु । विचारधाराको विसर्जनले समाजमा राजनीतिक रुपान्तरण कदापि सम्भव छैन र यसले देश र जनता कसैको पनि भलो हुँदैन । के मतदाताले आफ्नो मत बेच्छन् ? सरदर कति मूल्यमा बेच्छन् ? यसको उत्तर प्रष्ट छैन । यो विषय निकै पेचिलो बन्दै छ । तथापि अध्ययनको निष्कर्षले स्थानीय, प्रदेश र संघीय तीनै तहको निर्वाचनमा आम मतदाता नेताको आर्थिक प्रलोभनमा परी मत किनबेच हुने बताएको छ ।
प्रत्यक्ष वा अप्रत्यक्ष पैसामा वा प्रलोभनमा मत किनबेच हुनु भनेको निर्वाचन आचारसंहिता विपरीत र नैतिक रुपमा दण्डनीय अपराध हो । आफू समेत अरुलाई पनि भ्रष्ट पार्ने गतिविधि हो, मत किनबेच । प्रत्यक्ष रुपमा मत किनबेच निकै पेचिलो विषय हो । मलाई मत एिर जिताएमा मैले यति जनतालाई जागिर दिलाइदिन्छु, यति विदेश पठाइदिन्छु, युवालाई खेलकुद सामग्री किनिदिनु पर्छ, मेरो क्षेत्रमा सरकारी सेटिङ मिलाएर विकास दिलाइदिन्छु आदि आश्वासन दिएर भोट कुम्ल्याउनु पनि भ्रष्टाचार भएन र ?
शक्ति र पदको औकात देखाएर सिटामोल समेत पु¥याउन नसक्ने ठाउँमा आमसभामा हेलिकोप्टर पु¥याउनु अप्रत्यक्ष भ्रष्टाचार भयो । सिटामोल र जीवनजल समयमा नपाउने दुर्गम जिल्लामा निर्वाचनका बेला लाखौँलाख खर्चेर आम सभा गर्ने, नारा जुलुस, भोजभतेर, महँगा मदिरा पान जस्ता गतिविधिले अति न्यूनतम खर्चमा गुजारा चलाउने सामाजिक संस्कृति ध्वस्त बनाउँछ । निष्ठावान्, नेताको सादगी आचरणमा पनि परिवर्तन ल्याउँछ । उनीहरु श्रमजीवी जनताकेन्द्रित नभइ सीमित दलाल पुँजीपति केन्द्रित बन्न बाध्य हुन्छन् ।
मतदातालाई आफ्नो पकडमा राखिराख्न सिधै नगद दिने सहयोग भन्दै विभिन्न बहानामा ठूलो धनराशी खर्चिने, कतिपयलाई स्वास्थ्योपचार खर्च दिने भन्दै प्रभावमा पर्ने, बेरोजगारीलाई आश्वासन दिने आदि आर्थिक अनियमितताका उदाहरण दिन पर्याप्त छन् । झोलामा पैसा बोकेर मतदाताका मत खरिद गरेर मतदातालाई प्रभावित गर्नेलाई गाउँ–गाउँबाट लखेट्ने अभियान चलाउनु पर्छ । भ्रष्टाचार गरेर बाँड्न ल्याएकाहरुको पैसा खल्तीमा हालेर स्वच्छ जनप्रतिनिधि छान्नु पर्छ, कुनै पनि प्रलोभनमा नपरी । ती भ्रष्टाचारी जसले जनताको रगत र पसिनासँग साटिएका नगद ढुकूटीमा दोहन गरिरहेका छद्धन् ।
जनताले तिरेको करबाट उनीहरुले मोज गरिरहेका छन् । आर्थिक अनियमितता गरेर राज्यको ढुकूटी रित्याएकाहरुले अहिले फेरि सत्तामा पुग्ने भ¥याङ बनाएका छन् । पैसाको आडमा जे पनि गर्न सकिन्छ, जसरी पनि चुनाव जितिन्छ भन्ने नकारात्मक मनोवृत्तिलाई यसपालिको चुनावमा पाखा लगाउन जनता सचेत बन्ने बेला आएको छ । धनको आडमा चुनाव सजिलै जितिन्छ भन्ने नेताहरुको सोचलाई पूरै जरैबाट उखेल्नुपर्छ । मतदाताको चेतना र तटस्थता हुने हो भने उनीहरुले कुनै पनि प्रलोभनमा नपरी आफ्नो प्रतिनिधि सही रुपमा छनोट गर्न सक्छन् ।
नेताहरुका चर्का भाषण र खोक्रा आश्वासनमा मतदाता फस्दैनन् । नेताले जनतालाई ढाँट्ने र जनताप्रति अनुत्तरदायी बन्दै गरेको मतदाताले महसुस गरेका छन् । यसपटक पार्टीको घोषणापत्र, उम्मेदवारको प्रतिबद्धताभन्दा पनि जनताको जनप्रतिनिधि बन्ने सोच बोकेर जनताका घरदैलोमा आएका व्यक्तिहरुको वचन र इमान जाँच गरिरहेका छन्, जनता र मतदाता ।
यो निर्वाचनले आगामी ५ वर्षका लागि मुलुक र मुलुकबासीको भाग्यको फैसला गर्नेछ । यो दिनलाई महोत्सवको रुपमा मनाउँदै योग्य, सक्षम, इमानदार र कर्तव्यनिष्ठ व्यक्ति छनोट गर्नु सबै नेपाली नागरिकको परमकर्तव्य हो । मतदाताको विवेक खरिद विक्री हुनसक्छ, पैसाको खोलो बग्नसक्छ, यस्ता कुकृत्य लोकतन्त्रका लागि खतराको घण्टी हो । मनि, मसल र माफियाको प्रयोग गरेर चुनाव जित्नेहरुले सत्तामा गएपछि लोकतान्त्रिक पद्धति र संस्कारलाई राम्ररी आत्मसात गर्न सक्दैनन् ।
ठूलो धनराशी खर्चेर निर्वाचन जितेकाहरुले सत्तामा गएपछि जसरी पनि निर्वाचनमा खर्चिएको रकम उठाउन भ्रष्टाचारको दलदलमा फस्छन् । देश र जनताप्रति अनुत्तरदायी बन्न पुग्छन् । आफ् व्यक्तिगत स्वार्थमा लागेपछि जनताका सबै समस्या विर्सजन नै भए । नेताहरुको यही प्रवृत्तिका कारण अहिले जनतामा दलप्रति केही वितृष्णा जागेको छ । दलका नेताहरु भ्रष्टाचारको दलदलमा फस्दै जाने हो भने निश्चित छ । अहिले कतिपय सहरी क्षेत्रमा दलका उम्मेदवारलाई स्वतन्त्रहरुले जित्ने अवस्था आउनु भनेको ती स्वतन्त्रको लोकप्रियताले गर्दा भन्दा पनि हिजोका दिनमा दलीय व्यवस्थामा नेताहरुले देखाएको भ्रष्ट शैलै, अपारदर्शीता र बेइमानीकै उपज हो ।
यदि मतपत्रमा नो भोटको व्यवस्था गरिने भए स्वतन्त्रले पाउने भोट नो भोटमा पर्ने निश्चित थियो । नेपालमा नो भोटको कानुनी प्रावधान नभएकाले नेता र दलहरुप्रति देखिएको असन्तुष्टिको रिस मतदाताले स्वतन्त्रलाई भोट दिएर पोख्ने प्रवृत्ति बढ्दै जान थालेको छ । स्वतन्त्रले मुलुक चलाउन सक्दैनन् । बरु नेताहरुलाई खबरदारी गर्दै सच्चिन बाध्य पर्ने छन् । पछिल्लो समयमा निर्वाचनमा हुने अनावश्यक खर्च तथा भड्किलो प्रचारका कारण लोकतान्त्रिक शासन पद्धतिमै प्रश्न चिह्न खडा भएको छ । निर्वाचनमा असल र राम्रा मान्छे छन् भने तीन÷चार पटक पनि जिताउनुपर्छ तर बदमास, खराब र भ्रष्ट आचरणका छन् भने सुरुमै हटाउनुपर्छ ।
स्वतन्त्रबाट निर्वाचनमा उठेकाहरुको पनि तीनपुस्ते विवरण हेरेर स्वच्छ छविको छ भने मात्र मत दिनुपर्छ । कोही नयाँ व्यक्ति आयो भन्दैमा त्यो पुरानोभन्दा ठिक भन्ने भाष्य कहिले पनि बनाउनु हुँदैन । राजनीतिमा उमेर, लिङ्ग, जात केही पनि हरिनु हुँदैन । हेर्नुपर्ने मुख्य विषय भनेको नेताहरुको नैतिकता, इमानदारी र सदाचारी हो । यी गुण नभएका व्यक्तिलाई कदापि मत हाल्नु हुँदैन । मुलुकमा विकृति र विसंगति छाउन पुगेका कारण आम नागरिकमा निराशा र आक्रोश पैदा भइरहेको छ ।
हाम्रा राजनीतिक दल र नेताले हिजोका दिनमा आम जनता समक्ष गएर जनताको पीरमर्कालाई नजिकबाट हेर्ने र जनताले भोगेका समस्या छिटोभन्दा छिटो समाधान गर्ने काम गर्न सकेनन् । त्यसैले जनतामा दल र नेताप्रतिको आशा र भरोसामा निकै कमी आएको हो । सत्ता स्वार्थमा मात्र केन्द्रित हुने र राष्ट्रिय आवश्यकतालाई बेवास्ता गर्नेहरुलाई किनारा लगाउने अवसर हो निर्वाचन । चुनावलाई आफ्नो पक्षमा पार्न सरकारी संयन्त्र र राज्यशक्तिको दुरुपयोग गर्ने काम समेत भइरहेको छ । पैसाको खोलो बगाएर जित्नेहरुबाट मुलुकमा कहिल्यै पनि विकास, समृद्धि र सुशासनको आशा गर्न सकिँदैन । तसर्थ, यिनीहरुलाई चुनावमा जुनसुकै हालतमा हराउनु पर्छ ।