नारायणप्रसाद श्रेष्ठ
वर्तमान समयलाई हेर्ने हो भने अहिले मानिसको सोच र चिन्तनहरु दिन दुगुणा रात चौगुणा भएर अगाडि बढेको पाइन्छ । भौतिक विज्ञानको प्रगतिले संसार साँघुरिँदै गएको वर्तमानमा मानवीय सोचमा हेर्ने दृष्टिकोणमा निकै विविधता देखापरेको छ । सही र सत्य कुरा के, किन र कहाँबाट प्रवाहित भइरहेको छ ? त्यो सुन्ने, बुझ्ने मानिसलाई फुर्सद छैन । सधैँभरि आफू कसरी उच्च र सम्भ्रान्त बन्ने त्यही चिन्तनले मानिसले आफूलाई दुःखी र चिन्तित बनाइरहेका छन् ।
शान्ति र सद्भाव कहाँ छ ? यसको खोजी कसरी गर्ने ? त्यतातिर मानिसको चासो कमजोर छ । आफूभित्रको शान्त स्वभाव र क्षमतालाई बिर्सेर अरुको विचार र तर्कतर्फ मानिस अकर्षित भइरहेको पनि देखिन्छ । समयको पुकार सुन्ने मानिसलाई फुर्सद छैन । यति मात्र होइन, आफूभित्रको सत्यलाई भुलेर अरुप्रतिको चासो र जिज्ञासा देखाउन तछाडमछाड गरिरहेको पनि देखिन्छ । यस्तो परिस्थितिमा मानवीय चिन्तन तितरवितर हुनु स्वाभाविक मानिन्छ । क्षमता र पहिचान भुलेर गरिने चिन्तनले मानव अन्तरनिहित पुरुषार्थमा निराशाभाव जाग्न सक्दछ । मानव अन्तरनिहित चिन्तनमा विश्वासको भाव बढी छ ।
जीवन हार जितको खेल मात्रै होइन । कहिले माथि त कहिले तल यो प्रकृतिको नियम हो भनी यदि अरुप्रति उसले भरोसा र आदर, सम्मान गर्न जान्दछ भने निश्चय पनि उसको विचार र मन नभड्किने र थीर रहनसक्ने हुनसक्छ । विचार प्रवाहमा गलत चिन्तन नआउने वातावरण हुनसक्छ । त्यसैले समय र परिस्थितिलाई आँकलन गरी जीवन स्वतन्त्र र गतिशील छ भनी विचारमा भ्रमित हुनुपर्ने अवस्था राख्नु हुँदैन । जब भ्रमित विचार मानवीय चिन्तनमा जागृत हुन पुग्दछ तब त्यहाँ विचारमा विविधता आइ मानिस दुःखी बन्नसक्छ ।
हिलोमा फुलेर पनि कमलको फूलले अरुलाई जसरी सन्तुष्ट दिन्छ, त्यसरी नै मानिसले पनि सकारात्मक भाव र चिन्तन प्रवाह गरी सन्तुष्ट लिन, दिन सक्नुपर्छ । अन्धकारलाई मेटाउने प्रकाश बनेर क्षणिकतामा होइन निरन्तर गतिशीलतामा आशाको किरण झल्काउने आचरण र व्यवहार गर्नुपर्छ । कर्म र व्यवहारमा सुमधुरता ल्याइ पवित्रता नै जीवनको उद्देश्य हो, कहिले हार कहिले जित यो प्रकृतिको नियम हो भनी संयम र धैर्य बनेर आफूलाई प्रस्तुत गर्नु गराउनु पर्छ । आचरण, व्यवहार बोली र कर्ममा शुद्धता ल्याइ सच्चा सेवाधारी बन्नुपर्छ ।
जीवनमा सधैँ जित हुन्छ, हार त मैले कहिल्यै व्यहोर्नु पर्दैन भनी प्रकृतिको नियमलाई लत्याउन खोज्नु भनेको अहंकार र घमण्डले परिपोषित हुनु हो । म बाहेक अरु कोही योग्य हुन सक्दैनन् भन्ने चिन्तन गर्नु भनेको आफूले आफैलाई पतन गराउनु हो । यस्तो आचरण गर्नु भनेको आफ्नै मानसिकता पतीत गराउनु हो । त्यस्तो व्यक्ति कहिल्यै पनि योग्य हुन सक्दैन । हुन त मानव सोच आधुनिक सभ्यतासँग बढेको प्राप्तिप्रति बढी आकर्षित भइरहेको पाइन्छ । जबसम्म उसले आफ्नो स्वार्थपरक चिन्तनभित्रको प्राप्ति गर्न सक्दैन तबसम्म उसले कोही कसैको प्रवाह नगरी प्राप्तिकै पछि दौड्ने प्रवृत्ति पनि मानवीय आचरणमा बढी देखिन्छ ।
यस्तो अवस्था आउनु भनेको उसको विचारमा स्खलन भइ सही र गलत छुट्याउने समाथ्र्य उसमा नरहेको हुनसक्छ । तसर्थ, प्राप्तिलाई नै यो मेरो सबै हो भनेर किहिल्यै लागिपर्नु हुँदैन । यो नै मानिसको अन्तिम उद्देश्य पनि होइन । जीवनको गन्तव्य अनिश्चित र लामो हुन्छ । यसलाई सबैले स्वीकार्नुपर्छ । पहिलो प्राप्ति नै सबै होइन । किनकि प्राप्तिपछिको अझ प्राप्त गर्ने चाहना मानवीय आचरणमा बढी प्रभावित भइरहेको पाइन्छ । आज प्राप्त पछिको खुसी भोलिपल्टसम्म रहिरहन्छ र ? अर्को प्राप्तिको लागि मानिस लागिपर्दैन ?
तसर्थ मानिसको स्वभाव र कर्ममा सधैँ सकारात्मक प्रवृत्ति उन्मुख गराइ जीवन हार जितको मात्र खेल होइन, कहिले प्राप्ति कहिले अप्राप्ति भनी जीवनलाई सधैँ एउटै रेखामा गतिशील बनाइरहनुपर्छ । जुन उद्देश्य लिएर जीवन कर्मप्रधानतर्फ उन्मुख भइरहेको हुन्छ त्यही उद्देश्य र विचारलाई निरन्तर गतिशील बनाइरहनुपर्छ । विचार र कर्ममा सत्यता झल्कने र सम्झनाको पेटारो सधैँ उघारो बनाउँदै अरुको मन जित्ने कार्य गरिरहनुपर्छ । समयको गतिशीलतासँगै आफ्नो शक्ति र क्षमतालाई सर्वजन हितायको कर्ममा लगाइरहनु पर्छ । क्षणिक स्वार्थको लागि गरिने कर्मले कहिल्यै सफलता पाउँदैन ।
तसर्थ, एकअर्काबीच आपसमा सुमधुर सम्बन्ध कायम गर्दै प्रत्येकको मनभित्र बस्नसक्ने गरी आफूलाई प्रस्तुत गर्नुपर्छ । के, किन तथा यस्तो र उस्तो भनी अरुको आलोचना गर्ने प्रवृत्ति त्यागी सधैँ प्रशन्नचित्त रहने कोशिस गर्नुपर्छ । प्रशन्नताको छहारीमा शीतलताको अनुभूति गराउने गरी आफूलाई प्रस्तुत गर्नुपर्छ । मानव भएर जन्म लिएपछि सागरझैँ शान्त र हिमालझैँ उच्च तथा चन्द्रमाझैँ शीतल भएर आफ्नो विचार प्रवाह गर्नुपर्छ । हरकर्मको परिणामलाई बुझेर आफ्नो भावना छरपष्ट गर्नुपर्छ ।
कहलेकाहीँ गल्ती भइहाले पनि उसले गल्ती गर्दैनथ्यो, यो कसरी भयो भनी मानिसले मूल्यांकन गर्नसक्ने गरी आफ्नो आचरण प्रदर्शन गर्नुपर्छ । तब मात्र जीवनले जितको महसुस गर्नसक्छ । अरुलाई कमजोर गराउने गरी अहंकार र घमण्ड तथा दम्भ गर्नु हुँदैन । उसले यस्तो गल्ती ग¥यो भन्नुभन्दा आफूले राम्रो कर्म गरेर देखाउनु नै बुद्धिमानी हुन्छ । यसैमा मानिसको पुरुषार्थ झल्किन्छ । असत्य र भ्रमित व्यर्थ कुरा यो गलत मानसिकताको उपज हो भनी त्यसतर्फ ध्यान नदिइ संयम र धीरतापूर्वक आफूलाई शान्त र स्थिर राखी सभ्य नागरिकको आदर्श गतिलाई निरन्तरता दिन लागिरहनु पर्छ । धैर्य र लगनशीलता नै जितको आधार हो ।
जीवन हार जितको मात्र खेल होइन । फुटबल खेलको अन्तिम ८९ मिनेटमा गोल गरी जसरी जितको निश्चितता हुन्छ त्यसरी नै जीवनले पनि सत्कर्म गर्दै गयो भने विजयी निश्चित हुन्छ । कहिले खुसी, कहिले दुःख यो सृष्टिचक्रको इतिहासमा चलिरहने प्रक्रिया हो । त्यसैले अरुलाई दोषारोपण गरी आफू पानी माथि ओभानो बन्ने कार्य कहिल्यै गर्नु हुँदैन । उच, नीचको भावना जागृत गर्नु हुँदैन । यो ठूलो र यो सानो भन्ने भावनालाई पन्छ्याइ निरन्तर सेवाभावमा आफूलाई परिचालन गर्नुपर्छ । कहिल्यै हीनताबोध नहुने गरी आचरण र व्यवहारमा शुद्धता हुने कार्य गर्नुपर्छ । समर्पण नै सफलताको आधार हो । तसर्थ, प्राप्ति र जित मात्रै जीवनको अन्तिम उद्देश्य होइन । यो कहिले हुन्छ कहिले नहुनसक्छ ।
यो प्रकृतिको नियम नै हो । अँध्यारोपछि उज्यालो आएझैँ जीवनको हरेका गतिमा आरोह, अवरोह भइरहन्छ । यही गतिशीलता नै सृष्टिचक्रको इतिहास हो । यसैमा मानव विचार समाहित हुन बाध्य भएको हुन्छ भनी आफूलाई प्रस्तुत गर्नुपर्छ । लगनशीलता नै सफलताको आधार हो भनी आफूलाई गतिशील बनाउनु पर्छ । अहिलेको वर्तमानलाई हेर्ने हो भने हामीले अरुको दोष सजिलै देख्नसक्छौँ तर आफूभित्रको गल्ती देख्ने बानी हाम्रो छैन । वास्तवमा यो हाम्रो असक्षमता र आफ्नै गलत आचरण हो । मानिस जस्तो सोच्छ त्यस्तै उसको बुद्धि र विवेक पनि हुन्छ भनिन्छ ।
कतै हामीले आफ्नो कमजोरी लुकाउन त यस्तो प्रवृत्ति देखाएका होइनौँ ? अहिले गम्भीर भएर सोच्नुपर्ने भएको छ । त्यसैले समय र परिस्थितिलाई आत्मसात गरी वर्तमानले खोजेको यथार्थ धरातलमा आफूलाई प्रस्तुत गर्नुपर्ने भएको छ । समयले यही सन्देश दिइरहेको छ । सोच र चिन्तनमा निखार ल्याउन भनिरहेको छ । जीवन हार र जितको मात्र खेल होइन । कहिले जित कहिले हार यो प्रकृतिको नियम हो । सधैँ जित्छु भन्नु मानिसको भ्रम हो । अहंकार र दम्भले भरिएको सोच हो । तसर्थ, समयको परिवर्तनसँगै योग्यता र क्षमता प्रदर्शन गर्नु हाम्रो पहिचान हो । अस्तु ।