जनताको आवश्यकताअनुसार काम : उम्मेदवार खनाल

गोरक्ष समाचारदाता
दाङ, २८ कार्तिक । दाङ क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार राजु खनालले जनताको मागअनुसार विकासका काम गरिने बताएका छन् । उनले घोराहीका विभिन्न स्थानमा मतदातासँग भेटघाटका क्रममा यस्तो बताएका हुन् ।

स्थानीय जनताको मागअनुसार विकास निर्माणका काम गर्न आफूहरू लागिपर्ने बताए । ‘जनताको मागअनुसार विकास निर्माणका काम भएमा प्रभावकारी समेत हुनेछन्’, उनले भने । जसले गर्दा जनताले भोग्नुपर्ने समस्याको समाधान हुने समेत उनको भनाइ रहेको छ । भेटघाटका क्रममा मतदाताले आप्mना क्षेत्रमा रहेका समस्याका बारेमा जानकारी गराएका थिए । उनीहरूले खानेपानी, शिक्षा, स्वास्थ्य, सडक तथा अन्य समस्याका बारेमा जानकारी गराएका हुन् ।

उपमहानगरपालिका भए पनि विकासको हिसाबले उपमहानगरपालिकाको अनुभूति गर्न नपाएको मतदाताले बताएका थिए । समस्याका बारेमा जानकारी लिँदै खनालले आफू समस्या समाधान गर्न लागिपर्ने बताएका थिए । आफूहरू विजयी भएर गए पिछडिएको क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने समेत उनले बताए । ‘हामी यस क्षेत्रको समस्याका बारेमा जानकार छौँ, त्यसको समस्याको समाधान गर्न लागिपर्ने छौँ’, उनले भने ।

हिजो पनि जनतासँगै रहेको र आउँदा दिनमा पनि सँगै रहने उनको भनाइ रहेको छ । यस क्षेत्रको विकासमा विगतका वर्षहरूमा पनि काम गरेको भन्दै आउँदा दिनमा पनि निरन्तरता दिने उनले बताए । ‘केही काम भएका छन् केही बाँकी छ, बाँकी रहेका कामहरू पूरा गर्न हामी लागिपर्ने छौँ’, उनले भने । आफूहरू सधैँ जनताको साथमा रहेको समेत उनले बताए । यसैले जनताले पनि आफूहरूलाई साथ दिने उनको भनाइ थियो । देशका लागि गठबन्धन आवश्यक रहेकाले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन समेत उनले आग्रह गरेका थिए ।