डिल्ली चौधरीको राजनीतिक यात्रा जर्नी : फ्रम बेस टु प्रदेश…

गोरक्ष समाचारदाता
तुलसीपुर, २४ कार्तिक । कुनै बेला उनको परिवार जमिन्दारको घरमा कमैया बसेको थियो । पढाइ लेखाइ उनको समुदायमै आकासको फलजस्तै थियो । तर चौधरी समुदायको उनै मान्छे अर्थात डिल्लीबहादुर चौधरीको यात्रा बेसदेखि प्रदेशसम्मै चर्चामा छ । चौधरीले आफ्नो समुदायलाई मात्र नभएर अन्य अल्पसंख्यक गरीबीको रेखामुनी रहेका नागरिकहरुलाई समेत शिक्षाको उज्यालो दिन एउटा संस्था खोले, व्याकबार्ड सोसाइटी नेपाल अर्थात बेस ।

बेसमार्फत उनी टुकी लिएर गाउँ–गाउँ छिरे । त्यो बेला लाल्टिनको परिकल्पनासमेत मुस्किल थियो । एउटा हातमा टुकी र अर्को हातमा कापी पेन्सिल बोकेर उनै डिल्ली चौधरीले खोलेको बेसका जागरण भोलेन्टिएर गाउँ–गाउँसम्म पुगे । दिनभर चौधरी समुदाय खेतबारीमा हुन्थ्यो, त्यसैले बेसले चलायो रात्रि प्रौढ कक्षा । नामसम्म लेख्न सिकाउने संकल्प लिएको बेसले प्राथमिक शिक्षासम्मको अभियान लियो । गाउँ–गाउँमा सन्ध्याकालीन समयमा हरेक थारु बस्तीमा एउटा टुकी बलिरहेको हुन्थ्यो ।

टुकीको उज्यालोमा निरक्षर महिलाहरुले धर्को तान्न सिक्थे । क्रमशः थारु समुदायमा साक्षरताको दियो बल्न थाल्यो । माथिल्ला कक्षामा पढ्ने चाहना सिर्जना हुन थाल्यो । त्यसपछि धर्ती पुत्र मानिने तर, पछाडि पारिएको समुदाय थारु होस् वा अन्य गरिबी र अशिक्षाको रेखामुनी बाँचिइरहेका समुदायलाई शिक्षाको पहुँचमा पु¥याउन र शिक्षाको ज्योति फैलाउन उनले महत्वपूर्ण काम गरे । रात्रि शिक्षाको माध्यमबाट चौधरीले दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लाका लाखौं त्यस्ता सीमान्तकृत समुदायलाई ज्ञानको प्रकाश छरे । जसको चर्चा यहाँ मात्रै हैन विश्वभर नै उत्तिकै भइरहेको छ ।

बेसको कार्यक्रम त्यतिमा मात्रै सीमित रहेन । यही संस्थामार्फत कमैया मुक्ति अन्दोलनको पनि सुत्रपात भयो । त्यसपछि कलरी मुक्ति आन्दोलनमा पनि बेसले नेतृत्व ग¥यो । संस्थागत नेतृत्वकर्ता उनै डिल्लीबहादुर चौधरी । हो त्यसो त डिल्लीबहादुुुर चौधरी अनपढ भने होइनन्, उनले बेसलाई उचाइ दिइरहँदा स्नातकोत्तर सम्मको शिक्षा हासिल गरिसकेका थिए ।

कमैया मुक्ति आन्दोलन र थारु समुदायमा शिक्षाको दियो बाल्ने चौधरी बाल अधिकारको क्षेत्रमा पनि क्रियाशील बने । भारतका बाल बचाओ अभियानका कैलाश सत्यार्थीसँगको सम्वन्धका कारण उनी बालबालिकाको शिक्षाका क्षेत्रमा पनि क्रियाशील भए । यही अभियानमा प्रभावित भएका भारतका बाल अधिकारकर्मी सामाजिक अभियन्ता कैलाश सत्यार्थीलाई तुलसीपुरको अरनिको मैदानमा ल्याएर मन्थन सुन्ने अवसर दिलाउने शैक्षिक एवं सामाजिक अभियन्ता पनि उनै डिल्ली चौधरी ।

१७ वर्षको कलिलो उमेरमा नै डिल्लीबहादुर चौधरीले नेपालको सामाजिक, राजनीतिक र आर्थिकरुपमा विपन्न तथा पिछडिएका जनताको उत्थानको लागि संगठन बनाएर आफ्नो जीवनकालको महत्वपूर्ण कामको सुरुवात गरे । नेपालको तत्लो तराई क्षेत्रमा बसोबास गर्ने, राज्यको सेवा र स्रोतका साथै विविध पक्षले बञ्चितीकरणमा परेका आदिवासी थारु र पछिपरेका अन्य समुदायमा केन्द्रित भएर कार्यलाई अगाडि बढाइरहँदा उनको कामले नेपाल र नेपाल बाहिरका विभिन्न क्षेत्र तथा देशमा पनि सकारात्मक प्रभाव पारेको छ ।

समथर तराई भूमिमा थारुहरुको बसोबास रहेको थियो । उनीहरु खेतीपातीमा आश्रित थिए । खासगरी नेपालको तराई क्षेत्रबाट सन् १९५० को दशकतिर औलोको उन्मूलनपछि पहाडी क्षेत्रका शिक्षित मान्छेहरुको तराईतिर आउने–जाने क्रम तीव्र भयो । टाँठा–बाँठा पहाडिया समुदायले थारुहरुले जोतभोग गरी आएको जमिनमा आँखा गाड्दै छलकपटले आफ्नो अधिकार जमाए ।

क्रमशः थारुहरुको जमिनमाथिको अधिकार खोसिँदै गयो । यसरी आफूले नै उर्बरा बनाएको भूमिमा थारुहरु आफै दास हुन पुगे, जमिन्दारहरुको बन्धक भए, किनकि थारुहरु सोझा र निरक्षर थिए । यसरी समुदायमा जमिन्दारी प्रथाको विकास भयो । जमिन्दारहरुले बन्धक दासहरुमाथि आर्थिक तथा शारीरिक शोषण गर्न थाले । पुस्तौं पुस्तासम्म थारुहरुमाथि गर्ने शोषण झन्झनै बढ्दै गयो र पुस्तौँसम्म थारुहरु ऋणमा अल्झिँदै गए ।

यस समयमा चौधरीले पश्चिम नेपालको तराईका जिल्लाहरुमा आफ्नो सञ्जाल विस्तार गर्न करिब ३०० माइल खाली खुट्टा हिँडे । कुनै ठाउँमा घना जंगलभित्र पैदल हिँड्दा वन्यजन्तुको खतराको सामना गर्न प¥यो । यो दौरानमा उनलाई तत्कालीन प्रशासनको खतरा पनि रह्यो किनकि त्यसबेला नेपालमा पञ्चायती शासन व्यवस्था थियो । संघसंस्था खोल्न तथा भेला गर्न पाइँदैन थियो । सन् १९८५ देखि १९९० सम्म गरेको अथक प्रयासबाट डिल्लीले करिब ३ लाखभन्दा धेरै सदस्यहरुलाई संस्थामा जोड्न सफल भए । थारु तथा पिछडिएका समुदायको सशक्तीकरणमा जुटेका चौधरीलाई तत्कालीन निरंकुश पञ्चायत शासन ब्यवस्थाले देशद्रोही भएको आरोप लगाउँदै प्रहरी हिरातमा पनि धेरै पटक लगेको थियो ।

समुदायमा साक्षरता अभियान, आयआर्जनको सिर्जना, कानूनी शिक्षा र अन्य मानवअधिकारका बारेमा गरिएका वकालतका प्रयासहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायले मान्यता दिँदै सहयोगको हात बढाए । सन् १९९१ मा नेपालमा बहुदलीय व्यवस्थाको स्थापनापछिसम्म आइपुग्दा केही सचेत युवाहरुका साथ चौधरीले बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेशन) को सिर्जना गरेर कानूनीरुपमा जिल्ला प्रशासन कार्यालय दाङबाट आफ्नो निरन्तरको प्रयासलाई औपाचारिक रुप दिन सफल भए ।

जुन संस्था आज पनि, ग्रामीण र सीमान्तकृत समुदाय तथा क्षेत्रहरुमा ब्यापक रुपमा विकासको अभियानका साथ ‘पहिलो दृष्टि शिक्षा’लाई मूल मन्त्रको रुपमा लिई कार्य गर्दैछ । डिल्ली चौधरीकै अगुवाईमा सञ्चालित औपचारिक र अनौपचारिक साक्षरता अभियानका कारण थारु आदिवासी जनजाति पुरुष र महिलाको साक्षरता दर निकै बढेको छ । बालबालिकाहरुको स्कुल भर्नामा उल्लेख्य सफलता हासिल भएको छ । नेपालको साक्षरता अभियानलाई सफल पार्नमा ठूलो सहयोग पुगेको छ । चौधरीकै नेतृत्वमा चलाएको साक्षरता अभियानबाट ३५०००० भन्दा बढी पुरुष र महिलाहरु साक्षर भएका छन् भने लाखौँ बालबालिकाहरु शिक्षा आर्जन गर्न अवसर पाएका छन् ।

डिल्लीबहादुर चौधरीको कामको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यतामा निम्न पुरस्कारहरु समावेश छन् । त्यही कारण उनले अशोका फेलोसिस अवार्ड, संयुक्त राज्य अमेरिका (१९९२), रिवोक अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कार, संयुक्त राज्य अमेरिका (१९९४) सो पुरस्का अमेरिकी भूतपूर्व राष्ट्रपति जिमी कार्टरबाट प्राप्त भएको हो । द एन्टिस्लेभरी इन्टरनेशनल अवार्ड, यूके (२००२) दासता विरुद्ध काम गरेवापत प्राप्त गरेका चौधरी नेपाल सरकारबाट पुरस्कृत २ पुरस्कारहरुः सुप्रवल गोर्खा दक्षिण बाहु तेस्रो (१९९४) र सुप्रबल गोर्खा दक्षिण बाहु त्रिशक्ति पट्ट (२००४) तथा रामकृष्ण जयदयाल हार्मनी अवार्ड, भारत (२००३) दिल्लीका तत्कालीन मुख्यमन्त्रीबाट प्राप्त गर्ने सामाजिक अभियन्ता हुन् ।

यी त भए बेसले चिनाएको चिनारी । अब आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उनी यतिखेर दाङ निर्वाचन क्षेत्र नं. ३ (१) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारको रुपमा खडा भएका छन् । बेस संस्थाबाट आफ्नो बेस बनाएका चौधरी बेसमा मात्र सीमित रहेनन् । गैरसरकारी संस्था मार्फत सामाजिक अभियन्ताका रुपमा चिनिएका चौधरीलाई संघीय सरकारले पनि मूल्यांकन ग¥यो । त्यसैले उनी राजनीतिमा समानुपातिक सांसदका रुपमा राजनीतिमा तानिए । जसै उनी समानुपातिक सांसद बने, उनी सांसदकै भूमिकामा सीमित रहेनन्, श्रमराज्य मन्त्रीको पनि भूमिकामा रहे । बैदेशिक रोजगारलाई सहज र व्यवस्थित बनाउन पनि चौधरीको छोटो समयमै पनि अर्थपूर्ण योगदान रह्यो ।

उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री प्रस्तावित व्यक्ति हुन् । चौधरीको अभियान र योगदानले बिगतमा दासताको जीवन बाँच्दै आएका कतिपय थारु समुदायले आज उन्मुक्तिको श्वास फेरिरहेका छन् । किनकि उनी लुम्बिनी प्रदेशको सार्वजनिक लेखा समितिका सभापतिको भूमिका मात्रै निर्वाह गरेनन्, सो पदमा आसिन रहँदा प्रदेश सरकारमा ह्वाइट बडी काण्डलाई उजागर गर्दै कमिशनमा खरिद भएको आफैले चढेको गाडी पनि स्टोरमै फिर्ता गरेका थिए ।

दाङलाई राजधानी घोषणा गर्ने सन्दर्भमा उनले आफ्नै संसदीय दलको ह्वीपसमेत उल्लंघन गरेका थिए । यी सबै आधारहरुले डिल्लीबहादुर चौधरीलाई प्रदेश सांसदको विजयको नजिक पु¥याएको मतदाताहरुको आँकलन छ । त्यसो त अघिल्लो प्रदेशसभाको निर्वाचनमा उनी एक भएको नेकपाका उम्मेदवारलाई हराएर राप्तीमा एकमात्र विजयी उम्मेदवार घोषित भएका थिए ।