भुवन पोख्रेल
मतदाताको दिन नजिकिँदै छ । प्रतिस्पर्धी दलहरुका चुनावी घोषणाहरु सार्वजनिक भइरहेका छन् । सूचना र प्रविधिको पहुँचका कारण प्रायः सबैका घोषणापत्र कम्प्यूटरमा खोजेर पढ्न सकिन्छ, कतै धाउनु पर्दैन । सञ्चार माध्यमले पनि पार्टीका घोषणापत्रहरुलाई प्राथमिकताका आधारमा प्रसारण गरिरहेका छन् ।
नेतृत्ववर्गले चुनावका बेला प्रभावित गर्ने भनेको चुनावमा उसले गरेको वाचा वा प्रतिबद्धता हो । घोषणापत्र त हात्तीको देखाउने दाँचजस्तै हो । घोषणापत्रको कार्यान्वयन चुनाव जित्ने पार्टीको हो हार्ने पार्टीको प्रतिबद्धता र घोषणापत्रको के अर्थ रह्यो र ! चुनावको पूर्वसन्ध्यामा घोषणापत्रको बाढी आइरहेको छ । घोषणापत्र फगत कागजको पातो मात्र होइन, कार्यक्रमको पूर्ण दस्ताबेज हो । ख्यलाठट्टा र प्रतिस्पर्धाको होडबाजी होइन, घोषणापत्र । धेरै देशमा निर्वाचन एउटा प्रजातान्त्रिक पद्धति मानिन्छ र जनता उत्साहित हुन्छन् ।
किनकि निर्वाचन एउटा यस्तो संयन्त्र हो जसद्वारा जनताले नियमित अन्तरालमा आफ्ना प्रतिनिधि छान्न सक्छन् र चाहेमा परिवर्तन गर्न सक्छन् । गणतान्त्रिक संविधान निर्माणपछि दोस्रो निर्वाचन हुँदैछ । आम निर्वाच्नप्रति मतदाता उत्साहित हुनुपर्ने हो । अहिले मतदातामा उत्साह जगाउने पार्टीका कार्यकर्ता पनि निरुत्साहित देखिन्छ । निर्वाचन लोकतन्त्रको कडी हो । यसरी बौद्धिक व्यक्तित्व, विचारशील व्यक्तिहरुमा पनि चुनावप्रति नैराश्यता देख्दा कतै लोकतन्त्र धरापमा पर्ने होइन भन्ने आशंका जन्मिन्छ ।
जनताको निर्वाचनप्रतिको अपेक्षाभाव र दलहरुप्रतिको विश्वासले उत्पन्न हुने निराशाले लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमाथि आघात पु¥याउने जोखिमलाई नकार्न मिल्दैन । भ्रष्टतन्त्रबाट निस्कनै नसक्ने गरी दबेको दलको नेतृत्वले समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सार्न बालुवा पेलेर तेल निकाल्छु भन्नेजस्तै स्वरै कल्पना भन्ने आम नागरिकको बुझाइ छ ।
लोकतन्त्र कानुनको शासन मात्र होइन । यो समग्र जनताको व्यवहार हो । सभ्यता र संस्कृति हो । हामी पाँच वर्षमा एकपटक मतदान गरेपछि हाम्रो कर्तव्य पूरा भएको ठान्छौँ । लोकतन्त्र भनेको निर्वाचन मात्र होइन । स्वतन्त्र निर्वाचन लोकतन्त्रको अनिवार्य तत्व अवश्य हो तर यो पाँच वर्षसम्म निर्वाचित सरकारले भ्रष्टतन्त्र चलाउने लाइसेन्स होइन । विधिवमोजिम सुशासन गर्न र राष्ट्रको विकास गर्न अवधि किटान गरिदिइएको नागरिको आदेश हो ।
निर्वाचित सरकारले शासनको दुरुपयोग गर्छ र लुटतन्त्रमा मात्र रमाउँछ भने जनताले जुनसुकै समयमा त्यस्तो शासन फ्याक्ने अधिकार राख्दछन् । भ्रष्टाचार, कुशासन जस्ता रोगका कारण हुने अस्थिरता समाप्त पार्न हामी नागरिकको कर्तव्य हो । आगामी निर्वाचनबाट आउने नेतृत्वले कस्तो शासन दिने हो त्यो समयले नै बताउने छ । आउने सरकारलाई खबरदारी गर्न अहिलेदेखि सचेत हुनुपर्ने आवश्यकता छ ।
राजनीतिक परिवर्तनका लागि हामीले धेरै संघर्ष गरेका छौँ । संघर्षबाट प्राप्त उपलब्धि जोगाउँदै त्यसको फल प्राप्त गर्न कुशासनलाई निर्मुल गर्ने आन्दोलनको प्रारम्भका रुपमा प्रयोग गर्नु उचित हुन्छ । हामी जो जुनसुकै पार्टीको भए पनि भ्रष्ट, स्वइच्छाचारी, अहंकारी व्यक्तिलाई निर्वाचनको माध्यमबाटै हटाउन उत्तम विकल्प हो ।
आवधिक निर्वाचनले मात्र लोकतन्त्र सवल हुन सक्दैन । जहिलेसम्म आम नागरिक निर्वाचित हुन चाहने उम्मेदवारको इमानदारीता र क्षमतालाई विश्लेषण गर्न सक्षम हुँदैनन् तबसम्म लोकतान्त्रिक प्रणाली स्थापित र सवल हुन सक्दैन । निर्वाचन स्वच्छ, धाँधली रहित हुनु एकपक्ष हो भने मतदाताले स्वतन्त्र चिन्तन गरी स्वविवेकले उम्मेदवारमध्ये राम्रोलाई छनोट गर्नु अर्काे महत्वपूर्ण पाटो हो । वास्तविक लोकतन्त्र त त्यो हो जहाँ हरेक नागरिकले आफ्ना विचार राख्न पाउँछ, अरुको विचार सुनिन्छ, विचारको कदर हुन्छ । यो विचार राख, यो विचार, सिद्धान्त, दर्शनलाई मान भनेर कसैले करकाप लगाउँदैन ।
नागरिकले हरेक पक्षको सकारात्मक र नकारात्मक पक्षको विश्लेषण गरेर निर्णय लिन स्वतन्त्र हुन्छ । निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दर पक्ष हो । विश्वमा आवधिक निर्वाचनबाट तानाशाह जन्मिएका प्रशस्त उदाहरण छन् । निर्वाचन, स्वच्छ, धाँधलीरहित हुनु एक पक्ष हो भने मतदाताले स्वतन्त्र चिन्तन गरी स्वविवेकले उम्मेदवारमध्ये राम्रोलाई छनोट गर्नु अर्को पाटो हो । आवधिक निर्वाचनले मात्र लोकतन्त्र सवल हुन सक्दैन । जहिलेसम्म आम नागरिक निर्वाचित हुन चाहने उम्मेदवारको इमानदारी र क्षमतालाई विश्लेषण गर्न सक्षम हुँदैनन् तबसम्म लोकतान्त्रिक प्रणाली स्थापित र सवल हुन सक्दैनन् ।
आम नागरिकको चेतनाको स्तर विकास गर्ने शिक्षा र रोजगारीको अवस्थामा सुधार ल्याउन अर्थतन्त्रको विकास गर्न नसक्ने हो भने लोकतन्त्र कुरामा मात्र सीमित हुन्छ । नाना, खाना र छानाको पीडामा छटपटिएका मतदातालाई बिहान बेलुकाको समस्याले सताएको छ । आधारभूत आवश्यकता पूरा गर्न सकेका छैनन् भने कसरी आफ्नो जनप्रतिनिधि छान्ने कार्य उनीहरुका लागि महत्वपूर्ण बन्नसक्छ ।
रोजीरोटीका लागि विदेशी भूमि र प्रदेशमा रहेकाहरु आफ्नो जनप्रतिनिधि छनोट गर्न फर्केर आउनसक्ने परिस्थिति छैन । उनीहरुलाई चुनाव कागलाई बेल पाक्यो हर्ष न विस्मात सावित भएको छ । हरेक नागरिकले आफ्नो र आफ्ना परिवारको दैनिक जीवन सञ्चालन गराउन काम तथा उद्यम गरी खान पाउने वातावरण छ । आफू र आफूले गर्ने कामप्रति सम्मान गर्दछ भने मात्र आफ्नो नेतृत्व छनोटका लागि हुने निर्वाचनको अर्थ हुन्छ ।
लोकतान्त्रिक पारिवारिक वातावरणमा हुर्केको व्यक्तिले मात्र समाजमा लोकतान्त्रिक व्यवहार गर्न सक्दछ । लोकतन्त्रको संस्थागत विकास गर्न समाजमा पनि लोकतान्त्रिक वातावरण हुनु पर्दछ । लोकतन्त्रको संस्थागत विकास हुन सरकारका हरेक संस्थाको संस्थागत विकास मात्र होइन, संस्थामा लोकतान्त्रिक पद्धति विकास हुनु पर्छ ।
दलभित्रका तहगत संरचना, संस्था, निकायमा लोकतन्त्र छैन भने त्यस्ता दलको नेतृत्वले देशमा लोकतन्त्रको सवलीकरण गर्दछ भन्ने विश्वासयोग्य हुँदैन । लोकतन्त्र स्थापित हुन नेतृत्वका हरेक व्यवहार पारदर्शी र लोकतान्त्रिक हुनुपर्छ । नेतृत्वमा रहेका व्यक्तित्वहरुको आम्दानीको विश्वासयोग्य स्रोत नदेखिने, भड्किलो जीवनपद्धतिले पनि नेतृत्वप्रति विश्वासको संकट सिर्जना भएको छ ।
लोकतन्त्रलाई सवल पार्न हरेक घरपरिवारमा लोकतान्त्रिक वातावरण र अभ्यास हुनुपर्छ । परिवारमा निर्णय गर्ने क्रममा महिला, बालबालिका, वृद्ध सबैका विचार सुनिने, हरेकको विचारलाई सम्मान गरिने, पारिवारका सबै सदस्यले आफ्नो क्षमताको विकास र प्रयोग गर्न पाउने, एक आपसमा सहयोग मायाममता भएको परिवारको सदस्यले मात्र समाजमा लोकतन्त्रको अभ्यास गर्नसक्छ । दलका घोषणापत्रहरु चुनावको मुखमा बाढीझैँ आइरहेका छन् । यी घोषणापत्र झुठका पुलिन्दा नबनून् । लोकतन्त्रको सुन्दर पक्ष निष्पक्ष निर्वाचन हो ।
निर्वाचनलाई जसरी पनि आफ्नो पक्षमा पार्न दलहरुले घोषणापत्रमा प्रतिबद्धताका चाङ लगाएका छन् । चुनाव जित्न साम, दाम, दण्ड, भेद नीतिलगायतका सबै प्रकारका हथकण्डा अपनाउने होड नै चलेको देखिन्छ । दलका नेताहरुले निर्वाचनका आचारसंहिता उल्लङ्घन गरेको ग¥यै छ । आयोगले ठोस कारबाही नगरी स्पष्टिकरणको झटारो मात्र हानेको छ । आचारसंहिताको उल्लङ्घनलाई नियमन गर्ने जिम्मेवारी बोकेका बहालवाला मन्त्री र आसेपासेहरुबाट आचारसंहिता उल्लङ्घनका घटना सञ्चार माध्यममा थुप्रै समाचार सुन्न पायन्छ । जसका कारणले आचारसंहिता कार्यान्वयनमा प्रभावकारी नभएको सहजै अनुमान गनृ सकिन्छ । आचारसंहिताको औचित्य पनि जोखिममा पर्दै गएको भान हुन्छ ।
निर्वाचनलाई भयरहित स्वतन्त्र वातावरणमा सम्पन्न गर्न कडा आचारसंहिताको खाचो हुँदै आएको छ । आवधिक निर्वाचन लोकतन्त्रको प्राणवायु नै हो आचारसंहिता परिपालनामा प्रतिबद्धाता पत्रमा सही गरेको मसी सुक्न नपाउँदै उल्लङ्घन गर्न उद्यत हुनु गैरजवाफदेहीको पराकाष्ठा हो । निर्वाचनमा धनीहरुले अस्वाभाविक रुपमा सम्पत्ति खर्च गर्दै गरिब निमुखाको मत किन्ने वा प्रभाव पार्ने अनेक हतकण्डा अपनाउने काम अल्पविकसित देशमा मात्र नभएर विकसित देशहरुमा पनि प्रशस्त भएको पाइन्छ । निर्वाचन व्यवस्थापनसम्बन्धी कानुनहरु विभिन्न देशहरुमा बन्दै गएको भए तापनि निर्वाचनमा चाहेजस्तो स्वच्छता नभएको आम नागरिकले महसुस गरिरहेका छन् ।
निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शी तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दलहरुको नै सहभागिता र सहमतिमा निर्वाचन आचारसंहिता २०७९ जारी गरिसकेको छ । तथापि, आचारसंहिताका उल्लङ्घनका घटनाहरु निरन्तर भइराखेका समाचार दिनहुँ सार्वजनिक हुँदैछन् ।
निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेसँगै आयोगले पटक–पटक प्रेस विज्ञप्ति निकालेर सचेत गराउँदै आए पनि खासै नियन्त्रण हुनसकेको छैन । लाभका पदमा रहेका कतिपय राजनीतिक व्यक्तिहरुबाट प्रचारप्रसार गर्दा सरकारी स्रोत साधनको बिना हिचकिचाहट निर्धक्क प्रयोगले हेपाहा प्रवृत्ति बढ्दै गएको देखिन्छ । राजनीतिक दलहरुको सहभागितामा बनेको आचारसंहिता लागू हुन नसक्नु विडम्बना नै ठान्नुपर्छ ।
अहिले नेपालको राजनीति कठिन मोडमा छ । सतपात्रलाई किनारा लगायने असतपात्रको झुण्ड बन्दै गएको छ । मुलुक सधैँ अस्थिर राजनीतिको शिकार बनेको छ । मतदाताले दुईतिहाइ वहुमत दिएर चुनाव जिताइ पठाउँदा पनि स्थिरता कायम हुन सकेन । नेतृत्ववर्गले जनपक्षीय काम गर्न सकेनन् । लोकतन्त्रको रक्षा र देशको संविधानको पालना गर्न नचाहने व्यक्ति पनि अहिले चुनावी मैदानमा उत्रिएका छन् । विगतमा दलहरुका नेताले जे गरे त्यसबाट जनता विल्कुल खुसी छैनन् । जनता वैकल्पिक शक्ति नपाएर हैरान छन् ।
दलहरुको योजनाविहीन र गैरजिम्मेवारीपूर्ण चरित्रका कारण मुलुक अविकसित अवस्थामा रहेको हो । अब सर्वसाधारण नागरिकको जिम्मेवारी भनेको इमानदार, सक्षम र बलियो इच्छाशक्ति भएको नेताको चयन गर्नु हो । भ्रष्टाचारी, जनघाती र चटके, पटके नेतृत्वलाई पाखा लगाउने उत्सव हो निर्वाचन । निर्वाचनमा नागरिकले आफ्नो सुझबुझ प्रयोग गर्न सक्ने हो भने वर्तमान अवस्थामा अवश्य सुधार ल्याउन सकिन्छ । राजनीतिक दल र त्यसभित्रका सतपात्रहरुले प्रतिस्पर्धालाई अवसरमा बदल्ने जिम्मेवारी हामी सबै सचेत मतदाताको हो ।