परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने
दाङ,२२ कार्तिक । निर्वाच्न आयोगले परिचय खुल्ने आधिकारिक कागजातबाट मतदान गर्न पाइने बताएको छ ।
मंसिर ४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा मतदान गर्न पाउने जनाएको छ ।
मतदाता परिचयपत्र र नागरिकता नहुने मतदाताहरुले राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ । साथै मतदाताको परिचय खुल्ने कुनै पनि परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था मिलाउन समेत आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।
निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भएतापनि कतिपय मतदाताको परिचयपत्र हराएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।
