नयाँ बर्षको उपहार : दाङमा स्वाव परीक्षण ल्याव आउँदै
विपुल पोख्रेल
दाङ चैत २५ । नेपालगञ्जको भेरी अस्पताल र भैरहवाको गहुँबाली केन्द्रको परिषरसंगै दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा तत्काल कोरोना परीक्षणका लागि ल्याब सञ्चालनका लागि प्रक्रिया थाल्ने निर्णय गरेको प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोख्रेलको एउटा फेसबुक स्टाटस् आयो, ‘गहुँवालीमा रहेको प्रदेशस्तरीय प्रयोगशालामाकोरोना परीक्षण टेष्ट सफल भयो । अबदेखि प्रदेश ५को स्वाव परीक्षण गर्न यहीं पठाउनु होला ।’
मुख्यमन्त्रीको आफ्नै निर्वाचन क्षेत्रमा रहेको स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शुरु नहुनु, सुरु गर्न थालेको कुनै आभाष पनि नहुनु अनी भैरहवामा शुरु भैसक्नुले फेरि यहाँ कोरोना परीक्षण ल्याव नराख्ने खेल भयो कि ? भनी चसक्क ग¥यो । प्रतिष्ठान र सरकारवीचको विगतदेखिको सम्बन्ध हेर्दा यसो अनुभुति हुनु स्वभाविक पनि थियो । कोरोनाको महासंकटका बेला बिगत भुलेर सबै पक्ष अगाडि बढ्ने कुरामा आशा जाग्दै गरेको यो अबस्थामा फेरि के भयो भन्ने त्रास उत्पन्न हुँदै थियो ।
उता, ‘कसैले सहयोग गरेनन्’ भनेर आफै स्वाव टेस्टका लागि काठमाडौं पुगेकी डा.संगिता भण्डारीले पनि ल्याव मसिन ल्याउने संकल्प गरेर गएकी छिन् भन्ने जानकारी यसपुर्व नै भएको थियो । तर, थप केही सूचना थिएन ।
यो अनौल्यताका बिचमा सोमबार एउटा जनाकारी पाइयो कि अब नयाँ बर्षको प्रारम्भसंगै राप्ती बिज्ञान प्रतिष्ठानमा कोरोना परीक्षण ल्याव(पीसीआर) सञ्चालनमा आउने भएको छ । प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले पनि गोरक्षलाई दिएको अन्तरवार्तामा नयाँ बर्षको शुरुदेखि नै परीक्षण थाल्न सकिने सूचना आफुले पाएको बताएका थिए ।
सोमवार एउटा कार्यक्रममा बोल्दै डा.भण्डारीले भनिन्,‘यहाँ केही जिक-ज्याक जिक-ज्याक देखिएको हो नै, अब सबै गाँठो फुक्दै छ र समन्वयका साथ हामी अगाडि बढ्दै छौं ।’
‘संघीय सरकार र प्रदेश सरकारसंगको समन्वयमा उपकुलपती डा.भण्डारीको पहलमा मेसिन आउँदैछ’ प्रतिस्ठान सरोकार समितिका संयोजक पनि रहेका दाङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषालले यो सुखद जानकारी सुनाउदै भने, ‘नयाँ बर्षको प्रारम्भसंगै यही कोरोनाको स्वाव परीक्षण हुने गरी व्यबस्थापन भैसक्ने अबस्था देखिएको छ ।’
नयाँ बर्ष हाम्रा लागि गिफ्टका साथ आउँदै छ । गिफ्ट त्यो मसिन मात्रै हैन, प्रदेश सरकारसंग समेत समन्वयको प्रारम्भ भएको छ । प्रतिष्ठान र प्रदेशसरकार वीच साझा चासोमा सहकार्य गर्ने नविन संस्कृति पनि हामिले उपहारका रुपमा पाउँदै छौ । राजनीतिक आँखाले हेरेर दुई संस्थाका बीचमा बढेको दूरी कोरोनाको महासंकटले ह्वात्तै घटाइदिने हाम्रो अनुमान र अपेक्षा पुरा हुने देखिँदै छ ।
सोमवार एउटा कार्यक्रममा बोल्दै डा.भण्डारीले भनिन्,‘यहाँ केही जिक-ज्याक जिक-ज्याक देखिएको हो नै, अब सबै गाँठो फुक्दै छ र समन्वयका साथ हामी अगाडि बढ्दै छौं ।’ उनले कोराना परीक्षण मेसिन ल्याउने सन्दर्भमा मुख्यमन्त्रीको पनि राम्रो समन्वय पाएको जानकारी दिइन् ।
मुख्यमन्त्रीका स्वकीय सचिव सरोज रेग्मीका अनुसार मेसिनको व्यबस्था गर्नका लागि मुख्यमन्त्रीले डा.भण्डारीलाई भनिसकेका थिए र पैसाको व्यबस्था नभए त्यो प्रदेश सरकारले व्यबस्था गर्ने प्रतिबद्धता पनि जनाएका थिए । तर, संघीय सरकारकै सहयोगमा झण्डै ५० लाखको लागतमा मेसिन आउँदै गरेको स्रोतले जनाएको छ । यो प्रक्रियामा मुख्यमन्त्रीको भूमिका राम्रो रहेको स्वयं भण्डारीले जानकारी दिएकी छिन् ।
कुनै कुनै बेला यो काम आफुले गरेको भनेर प्रचारमा बाजी मार्ने प्रयत्नमा प्रतिष्ठान र प्रदेश सरकार लागेको पनि देखियो, अनुभुत गरियो । दुबैले यसो गर्न जरुरी थिएन । दुबै निकायको दायित्व नै थियो यो । प्रचार र प्रतिष्ठाको बिषय बन्न दिनु हुँदैन यसलाई ।
सरोकार समितिका संयोजक भुषालले एक दुई दिनमै मसिन यहाँ आइपुग्ने र त्यो मसिन राख्ने ठाँउ तयार गरेर प्रयोगमा ल्याउँदासम्म नयाँ साल शुरु हुने अनुमान गरे । ‘ठिक यती गते त म भन्न सक्दैन, नयाँ बर्षको हाम्रो पहिलो उपलब्धीका रुपमा परीक्षणको सुरुवात गर्नु हुने छ भन्नेमा ढुक्क छुँ’ उनले भने ।
