निर्वाचनको उत्साह छैन् जनतालाई
तुलसीपुर, २१ कार्तिक । मंसिर ४ को निर्वाचन आउन अब केही दिनमात्र बाँकी छ । जिल्लामा मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि स्वतन्त्र र राजनीतिक दलका उम्मेदवारहरु गाउँ–गाउँमा चुनावी प्रचार–प्रसारमा लागिपरेका छन् । ठाउँ–ठाउँमा सभा र भेलाहरु गरिरहेका छन् तर भेला र सभामा भने उत्साही भएर जनता भने सहभागी देखिँदैनन् । नेताहरुबाहेक अन्य सर्वसाधारण तथा कार्यकर्ताहरुमा भने निर्वाचनको लागि कुनै उत्साह छैन ।
दलका नेता तथा कार्यकर्ताहरुमा निकै उत्साह थपिए तापनि आम मतदातामा त्यस्तो उत्साह देखिएको छैन । विगतमा जस्तो यो पटकको चुनावी चहल–पहलमा मतदातामा उत्साह देखिएको छैन । चुनावको समयमा मात्र जनताको घरदैलोमा उम्मेदवार, नेता तथा उनीहरुका कार्यकर्ता पुगेको गुनासो आम मतदाताको छ । अहिले मतदाता रिझाउन धान काट्ने, हलो जोत्न र एकछिन मतदाताहरुको हात ढोग्ने गरे पनि अधिकांश मतदाताले उम्मेदवारहरु चुनावको समयमा सबै जनताको घरदैलोमा पुग्ने जनतालाई आश्वासन दिने तर विजयी भएपश्चात् जनतालाई दिएका ती आश्वासनहरुलाई बिर्सने गरेको बताएका छन् ।
तुलसीपुर–१ कि दिलमाया विकले विगतमा जस्तै राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु चुनावी प्रचार–प्रसारमा हिाड्दै विभिन्न आश्वासन दिने तर कहिल्यै पूरा नगर्ने गरेको बताइन् । उनले अहिले आफूहरुबाट भोट माग्न विभिन्न नौटंकी गर्ने र जितेर गएपछि फेरि फर्केर नआउने गरेको गुनासो पोखिन् । ‘यसअघिका निर्वाचनमा पनि उम्मेदवार तथा नेता कार्यकर्ताले जनतासँग भोट माग्दा विभिन्न आश्वासन दिए तर विजयी भएपश्चात् जनताको घरमा कोही पनि फर्केर आउनुभएन’, स्थानीयहरुको गुनासो छ । चुनावको समयमा मात्र जनता आवश्यक पर्ने अरु समयमा जनतालाई नखोज्ने, जनताको समस्या समाधानमा कोही पनि नलाग्ने भएकाले पनि जनतामा उत्साह नभएको तुलसीपुर–४ का बालिका खड्काले बताइन् । ‘जुन जोगी आए पनि कानै चिरेका, सबै भाषणले यो दिन्छम्, त्यो दिन्छम् भन्छन् तर केसैले केही गर्दैनन्’ उनले भनिन् ।
त्यस्तै स्थानीय विजय खत्रीले कहिले व्यवस्था परिवर्तन त कहिले अवस्था परिवर्तन भन्ने नेता उम्मेदवारले जनताको कुनै काम नगर्ने गरेको आरोप लगाए । ‘एउटा सामान्य काम गर्न र चुनाव जितेपछि आफूले निर्वाचनमा भोट दिएकालाई भेट गर्नै नचाहनेले अरु के गर्लान् र ?’ उनले भने । ‘तुलसीपुर–घोराहीको बाटो त्यस्तै छ, बीरेन्द्र चोकको अवस्था हेर्नुहोस् अनि कसले पत्याउँछ यिनका कुरा र समृद्धिका झुठा कुरा’, चियापसलमा बसेका स्थानीयहरुको आक्रोश थियो ।
बीरेन्द्र चोकको खाल्डा पुर्न नसक्नेले के विकास गर्लान् ?’ स्थानीय एक बुद्धिजीवीले भने । त्यस्तै कतिले एक्लाएक्लै पार्टीहरु निर्वाचन नलडेका कारण पनि निर्वाचनमा उत्साह नभएको बताउँछन् । जिल्लामा नेपाली कांगे्रस, माओवादी समाजवादीलगायतका गठबन्धन, नेकपा एमाले राप्रपा र स्वतन्त्रका उम्मेदवारीहरु चुनावी मैदानमा छन् । उनीहरु भने निर्वाचन आफ्नो पक्षमा पार्न घरदैलोदेखि विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । त्यसमा विभिन्न कारणले उत्साहपूर्वक आम मतदाताहरुले चासो दिएका छैनन् ।
‘अहिले जनतासँग नाच्नेहरु चुनाव जितेपछि मन्टो भाँचेर हिँड्छन्’, स्थानीय चन्द्रीका वलीले भनिन् । उनले यो निर्वाचन केका लागि र कसलाई भोट किन दिने भन्नेमा पनि जानकार नभएको बताइन् । ‘उम्मेदवारहरु फुलमाला लगाएर नाचेको, धान काटेको देखिन्छ, कसरी भोट हाल्ने थाहै छैन्’, उनले भनिन् । त्यस्तै यसअघिका निर्वाचनमा दलबलसहित र घर–घरमा कार्यकर्ता र आम मतदाताहरु नारा जुलुस र भित्तेलेखन गर्ने गरे पनि अहिले त्यस्तो केही नभएको बयोवृद्ध मोहन वली बताउँछन् । ‘यसअघिका चुनावमा यस्तो भयो, उस्तो भयो भन्ने सुनिन्थ्यो अहिले आचारसंहिता र अन्य कारणले होला त्यस्तो छैन’, उनले भने ।
त्यस्तै राजनीतिक विकृति अन्त्यका लागि उम्मेदवारी दिएको भन्नेहरुका पनि चुनावी एजेन्डा भने पुरानै भएको सर्वसाधारणहरु बताउँछन् । दलहरुको घोषणा–पत्र पनि खासै नौला र नयाँ कुराहरु नभएको स्थानीयहरु बताउँछन् । ‘पुरानै कुरा पुरानै घोषणा–पत्र छन् अनि यहाँका जनताले घोषणा–पत्र कहिले हेर्छन् र’, स्थानीय ढकबहादुर वली बताउँछन् । उनले यो निर्वाचन राष्ट्रको नीति निर्माण गर्ने भएकाले आफूहरुले सक्षम र योग्य व्यक्तिलाई मत दिने पनि उनी बताउँछन् ।
