Goraksha

National Daily

राष्ट्रियताको पक्षमा राजनीति गर्ने कि ?

भूपेन्द्र सुवेदी
नेपालको संविधान २०७२ले नेपालको स्वतन्त्रता, सार्बभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्बभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात गर्दै राष्ट्रिय हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरबपूर्ण इतिहासलाई स्मरण एबं सहितहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै आफ्नो राष्ट्रको बारेमा आ आफ्नो भूमिको बारेमा हाम्रो नेपाल सरकार र सरकारमा रहने राज्य सञ्चालकहरुलाई यो माथि नेपालको संविधान २०७२ ले कती जिम्मेवारी दिएको छ र कती जिम्मेवारी पूरा गर्नुभयो होला ? यो जनताले बुझ्न र सुन्न पाउँछन् ।

कहिले द्वन्द्वकालमा रुखमा झुण्ड्याएर मारेको नन्दप्रसाद अधिकारी जस्ता पीडित नागरिकहरुले कति सम्मान पाए त ? किन आजसम्म उनको लाससमेतको ब्यबस्थापन भएन भन्नेहरुको जमात धेरै छ होला । संविधानले त बोलिसकेको छ संविधान लागू भएको पनि अब आठ बर्ष पुग्दैछ । अब फेरि संघ, प्रदेशको निर्बाचनको संघारमा दोडदैछन् नेताहरु । स्थानीय सरकारको निर्बाचन भएको पनि धेरै भइसकेको छ तर यो बिषयमा किन मौन रहन्छन् राजनेताहरु ?

आज छिमेकी राष्ट्रहरुले नेपालको भूमिमाथि हस्तक्षेप गर्दैछन् । तर नेपालको संविधानले बोलेजस्तो नेपालको स्वतन्त्रता, सार्बभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पूर्णपालना भयो भएन ? भारतले नेपालको भूमिमाथि अतिक्रमण गर्दै नेपाल भारतबीचको दसगजाभित्र आफ्नो सुरक्षा बेस क्याम्प खडा गर्दै पूर्ब मेचीदेखी पश्चिम माहाकालीसम्म आफ्नो कब्जामा लिँदासम्म र भारतीय सिमा रक्षाको रुपमा बसेका माहाकालीको कालापानी क्षेत्रको रक्षा गर्दै गर्दा त्यहाँ जयसिंह धामी भारतीय सशस्त्रले नेपाली नागरिकहरुलाई माहाकालीको तुईन पार गर्दा तुईन काटिदिएर हत्या गरे कतिलाई सिमाना बिबादमा उत्रिदा गोली हानी हत्या गरे ।

हालै भारतले सिमा क्षेत्रमा सडक खन्दा बलास्टिङले उछिट्टिएको ढुंगा लागेर एक बालिकाको मृत्यु भएको छ तर नेपालको सरकारले भारतसँग यस बिषयमा चुइक्कसम्म बोल्न सकेको छैन । के यही हो त नेपालको स्वतन्त्रता, सार्बभौमिकता, भौगोलिक अखण्डता ? नेपालको स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्बभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात गरेको खोई ? के संविधानमा लेखे पुग्छ कि पालना गर्नुपर्दैन ?

सरकारमा बस्नेहरुलाई कानुनको पालना गर्ने के सांसद भबनमा संसदीय बैठकमा आ–आफ्नो जिल्लाको अबस्थाबारे राय–सुझाब पेश गर्ने कि सधै निदाएर खाली दैनिक भत्ता बुझेर फर्कने हो ? अब यही मंसिर ४ गते हुनै लागेको निर्वाचन त्यस्ता सुतुवा, नमकहरामहरुको जमात फेरि पनि हामीले पठायौँ भने हाम्रो दूरदर्शिता उही हुनेछ । अब कस्तो उम्मेदवार रोज्ने ? अबको निर्वाचनमा युवा र बिज्ञता हासिल गरेका अनुभवीहरुको लागि हामीले खोज्नुपर्छ ।

देशको राष्ट्रियता र नेपालको आफ्नो पहिचान आफ्नो मुलुकमा हुँदै आएको दृश्य, अदृश्य, बिदेसीहरुको दबावमा पारेर नेपालमा शान्ति र बिकास हुन नपाओस् र सधै नेपालीहरु बिदेस नै पलायन होऊन् भन्ने छुद्र बिचार बोकेको भारत, अमेरिका मैले नेपाललाई के–के न दिँदैछु भनी ललिपप देखाउने चाईनाहरुले नेपालमा आ–आफ्नो रणभूमि बनाउने तयारीका लागि अमेरिकाले एमसीसीको पासो फालेर नेपाल सरकारका राज्य सञ्चालकहरुको घाँटीमा माछालाई थापेको बल्छी अड्किएजस्तो एमसीसीको पासो थापेको छ त्यसैमा एकथरीले एमसीसी मैले निल्छु भन्दै तम्सिएका छन् भने अर्को थरी यो एमसीसी कुनै हालतमा निल्न सकिँदैन भन्ने त्रासमा छन् ।

खै केहो एमसीसी किन नेपालमा एमसीसी ल्याउन मरीहत्ते गर्दछ त अमेरिका ? यस्को बास्तबिक केहो बुझ्न र बुझाउन नसक्नेहरुले के देशको रक्षा गर्लान् त ? भनिन्छ अमेरिकासँग सम्झौता गरेकै ४ बर्ष भइसक्यो तर अमेरिकाले तुरुन्त गर भन्दैछ भने नेपालमा यसैको पक्ष–बिपक्ष तानतान छ । नचाहिने र कानुनबिपरीत गर्नेहरुलाई दण्डको सट्टा पुरस्कृत गरिन्छ, पुरकृत हुनुपर्ने दण्डित हुन्छ । नेपालको शासन नेपाल सरकारको हातमा छ कि कस्को हातमा छ ? नेपालमा भारतले जे–जे गरे पनि नेपाली चुपचाप रहनुपर्ने हो त ?

यस्तो अबस्थामा सरकार बोल्न चाहँदैन भारतसँग किन ? आफ्नो हातमा परेको रोटी फुत्केला भन्ने डर छ तर देशको बारेमा वास्ता छैन । किन सबै अमेरिकाको होलीवाइन्को कारण बोल्न सक्दैनन् होला ? तर हिजो १८ गते आफूले चुच्चे नक्सा सार्बजनिक गरेका पूर्वप्रधानमन्त्री केपी ओलीले मैले मेरो नेतृत्वमा सरकार बन्यो भने अब कुनै हालतमा नेपालको भूमि फिर्ता नलिएर छाड्दैन भन्ने चुनाबी नारामार्फत जनताको सामु बोल्नुभएको छ । अब के हुन्छ ? को–को जान्छन् सरकारमा ? हेरौँ ।

यस्तो स्वतन्त्र नेपाल सर्बसम्पन्न नेपाल राष्ट्रिय सम्पदाले भरिपूर्ण नेपाल, जल–जमिन, जंगलको धनी नेपाल तर हिजडा राजनेताहरुको कारण भिखमगुवा बनाइदिए नेपाललाई । कस्तो बिडम्बना आज हामीले भोग्नुपरेको छ र भोलीको पुस्ताको हालत के हुने हो थाहा छैन । नेपाललाई बिदेसीहरुले पहिलेदेखि नै जनसांखिक आक्रमण सुरु गरिएको रहेछ । यसका बिज्ञ राजनीतिक बिश्लेषकहरुले भन्दै आएको बिषय नेपाल प्राचीन र सानो भूपरिवेष्ठित मुलुक भए पनि कहिल्यै उपनिबेस स्वीकार गरेन बरु इतिहासमा ठूला–ठूला बीरताका लडाइँहरु लडे तर आफ्नो स्वभिमान गुमाउन तयार भएनन् । हाम्रा दुबै बिशाल छिमेकीहरु कुनै दिन अंग्रेज र जापानको उपनिबेस थिए ।

गुलाम बन्नुको वा हुनुको पीडा हामीलाई भन्दा उनीहरुलाई अनुभव छ । त्यही पीडाको ईशुमा आज उनीहरुले दुनियाँलाई चमत्कार गरी देखाइदिए । कुनै यस्तो जमाना थियो रे शक्ति राष्ट्रहरुले कमजोरहरुलाई आफ्नो अधिनमा राखेका हुन्थे भन्ने बिश्लेषकहरुको अनुभब सुनाउँछन् । त्यसरी नै कुनै मुलुकलाई उपनिबेस बनाउन शक्ति राष्ट्रले जस्तोसुकै हत्कण्डा अपनाउँथे । मुख्यगरी सैन्य आक्रमणमार्फत कुनै पनि मुलुकको सार्बभौमसत्ता, शासन ब्यबस्था कब्जा गरी उपनिबेस बनाउँथे । त्यसकारण शक्ति राष्ट्रहरुले उपनिबेसबादी नीतिको बलमा संसारमा साम्राज्य बिस्तार गरेका थिए भन्ने पुराना अग्रज बिज्ञहरुको बिचार आएको हुन्छ ।

यसैको सन्दर्भमा हिजो आज जमाना बदलियो । माथि उल्लेख गरेजस्तै हामी नेपाली जस्ले जे गर्दा पनि उठी नबस्ने र नबोल्ने हो भनी कतै अमेरिका, चीन, भारतको खेल यस्तै शक्तिराष्ट्रको उपनिबेसबादी नीतिको जमर्को गरेको त होइन कतै ? बिगत नेपाल पनि युगौंदेखि साम्राज्यबादी, उपनिबेसबादी, बिस्तारबादीहरुको गिद्धे दृृष्टिमा पर्दै आएको हाम्रो एउटा सुन्दर देश हो । भारतमा उपनिबेस भएका बेला अंग्रेजले यो मुलुकलाई आफ्नो मुठ्ठीमा ल्याउन अनेक प्रयत्न नगरेका होइनन् । हाम्रा पुर्खाले त्यसलाई बिफल बनाईदिएर मात्र बचेको हो ।

बिडम्बना आजकल त्यही पूर्खाहरुलाई गाली गरेर आफ्नो राजनीतिक मकसद पूरा गर्न खोजेका छन् । त्यो दिवालीयापनबाहेक केही होईन । बिश्वमा हिमालको काखमा अबस्थित ३ वटा राजतन्त्रात्मक मुलुक सिक्किम, भुटान र नेपालमध्ये सिक्किमलाई भारतले आफूमा मिलायो भुटानलाई आफ्नो संरक्षित मुलुक बनाएको छ । नेपालमा गणतन्त्र स्थापना भईसकेको छ भारतले नेपालको राज्यसत्ता, नीति निर्माणमा सरकार गिराउने र बनाउनेमा प्रत्यक्ष हस्तक्षेप रहँदै आएको सामान्य गाउँका किसानहरुले पनि नबुझेका होइनन् ।

पछिल्लो समय हुँदा–हुँदाको बहुमतको सरकार बिघटन गरी फेरि उही परमादेशी अदालतको हुकुम प्रमाणित पाँच दलीय गठबन्धनको सरकारले अब आउने मंसिर ४ गतेको संघीय तथा प्रदेशस्तरीय निर्बाचन गराउँदैछ बिगतको सरकार निर्माण, निर्दलीय सरकार प्रमुख बहालवाला प्रधान न्याधीश खिलराज रेग्मी प्रकरण र हालको जसले परमादेशी सरकार निर्माण गरेको हो उही प्रधानन्यायाधीश चोलेन्द्र राणालाई महाअभियोग लगाएर उसलाई कार्यकक्षमै जान नपाउने नजरबन्दमा राखेर बहादुरी देखाउँदै खिचडी सरकारको दम्भको बिरोध पनि भइरहेको छ ।

हिजोको गृहमन्त्री कमल थापाको आदेशमा दाङमा स्थानीय सरकारको निर्बाचनमा बर्बर दमनकारी बनेर नेका र नेकपाका नेतामाथि गोली हानेर उमेश थापाको हत्या भयो र कृष्ण गिरीलाई गोली लागेर आज अपांग जीवन लिएर बाँच्न बाध्य हुनुभएको छ । तर त्यही फेरि उही कमल थापासँग जोडिएर निर्वाचनमा सूर्यचिन्ह दिन कत्ति लाज मानेन एमालेले । के सन्देश दिन खोजेको हो नेताहरुले जनतालाई ? भेडो ठान्दैछन् आफै सचेत हुन जरुरी छ ।