Goraksha

National Daily

गठबन्धनको कारण नागरिकले सास्ती : महासचिव पोख्रेल

दाङ, १८ कार्तिक । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २ का उम्मेदवार शंकर पोख्ररेलले गठबन्धनको सरकार लम्बिए जनजीवन थप कष्टकर बन्ने बताएका छन् । उनले त्यसको लागि मंसिर ४ को मतदाताबाट गठबन्धनलाई विदाई गर्नुपर्ने समेत बताए । ‘गठबन्धन सरकारसँगै देशको आर्थिक अवस्था धरापमा छ ।

मूल्यवृद्धि आकासिएको छ’, नेकपा एमाले घोराही उपमहानगरपालिका वडा नं. ६ ले शुक्रवार गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने– ‘यो रोक्न र जनजीवनलाई सहज बनाउन एमालेको सरकार बन्न आवश्यक छ ।’ उनले एमालेको सरकारमा भएको ४ प्रतिशत मूल्यवृद्धि गठबन्धन सरकार आएसँगै ८ प्रतिशत पुगेको तर त्यो रोक्न गठबन्धनसँग कुनै योजना नभएको समेत बताए । महंगीले जनता निराश छन् । तर गठबन्धन देशलाई आर्थिकरुपमा कमजोर बनाउने काममा लागेको छ’, उनले भने– ‘जनताप्रति उत्तरदायित्वविहीन भएर बसेको छ ।’ मुलक आर्थिक संकटमा गएपछि देश निर्माणमो अभियान रोकिने भन्दै गठबन्धनलाई विदाई गर्नुको विकल्प नभएको बताए ।

किसानले खेतीको समयमा मल पाउन नसकेको तर सरकारले कुनै पहल नगरेको समेत उनले बताए । ‘किसानले खेतीको समयमा अनुदानको मल पाउन सकेका छैनन् । महंगो र कालोबजारीको मल प्रयोग गर्न कृषक बाध्य छन्’, उनले भने– ‘तर यो सरकार किसानको समस्यामा चुपचाप छ ।’ एमाले महासचिव पोख्रेलले एमालेसँग देशको समृद्धि र विकासको खाका स्पष्ट भएको समेत बताए ।

‘एमालेले सरकारको नेतृत्व गर्दा विकासको आधारशिला खडा गरेको थियो । लुम्बिनी प्रदेशमा पनि ठूला–ठूला विकास योजनाको काम शुरु भएको थियो । तर एमाले सरकार विस्थापित र गठबन्धनको सरकार बनेसँगै विकास योजना ठप्प छन्’, महासचिव पोख्रेलले भने । महासचिव पोख्रेलले मंसिर ४ गते परमादेश सरकार विस्थापित गरेर जनताको नेकपा एमालेको सरकार बनाउन मतदातालाई अपिल समेत गरे ।

सभामा नेकपा एमाले दाङ क्षेत्र नं. २ (२)का उम्मेदवार गिरिराज केसी, प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार मेनका पोख्रेल, प्रदेशसभा समानुपातिक उम्मेदवार सीता चौधरीलगायतले सम्बोधन गरेका थिए । पहिलो चरणको भेटघाटपछि चुनावी घोषणापत्रको लागि काठमाडौँ गएको महासचिव पोख्रेल बुधवार राति दाङ फर्केका थिए । विहीवारदेखि मतदाता भेटघाट थालेका पोख्रेलले शुक्रवारदेखि वडास्तरका चुनावी सभामा सहभागी छन् । सभा वडा कमिटी अध्यक्ष मोहन खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।