Goraksha

National Daily

बाढी प्रभावितका लागि गढवा एकीकृत स्वास्थ्य शिविर

देउखुरी,२ कार्तिक । देउखुरीको बाढी प्रभावित क्षेत्रमा सरुवा रोगको संक्रमण देखिन थालेपछि स्वास्थ्य शिविर गरिएको छ । बाढी प्रभावित क्षेत्रका नागरिकहरुमा ज्वरो आउने, रुघाखोकी लाग्ने, पेट दुख्ने जस्ता समस्या देखिन थालेपनि विभिन्न संघसस्थाको समन्वयमा मंगलवार गढवा गाउँपालिका–५ बाँकीमा निःशुल्क एकिकृत स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्वन्धि प्रकोप फैलन सक्ने जोखिम देखिएपछि निःशुल्क एकिकृत स्वास्थ्य शिविरको आयोजना गरिएको नेपाल परिवार नियोजन दाङ शाखाका शाखा प्रवन्धक बसन्त खनालले जानकारी दिएका छन् । नदी तटिय क्षेत्र तथा डुबान भएका बस्तीका नागरिकहरुमा ज्वरो आउने, रुघा खोकी लाग्ने, पेट दुख्ने जस्ता समस्या देखिन थालेका थिए ।

नागरिकहरुमा ज्वरो आउने, रुघा खोकी लाग्ने, पेट दुख्ने जस्ता समस्या देखिन थालेपछि जिल्ला स्वास्थ्य कार्यालय, गढवा गाउँपालिका र नेपाल परिवार नियोजन दाङ शाखाको आयोजना तथा नेपाल औषधी व्यवसायी संघ दाङ, हेल्थ फाउण्डेशन नेपाल, स्वास्थ्यका लागि सक्षम प्रणाली, नेपाल रेडक्रस सोसाइटी गढवा शाखा, लायन्स क्लव अफ घोराही सिटी, ग्रुप ५५ प.प.उमावि भरतपुर र क्रियटिभ पोसिविल्टिज नेपाललगायतका संघसस्थाको सहकार्यमा निशुल्क एकिकृत स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

बाढी प्रभावित क्षेत्रमा सरुवा रोग फैलन सक्ने जोखिम रहेकाले अहिले प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर समस्या देखिएका नागरिकको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । उनका अनुसार चिकित्सक र औषधीसहितको शिविर सञ्चालन गरेर विरामीहरुको स्वास्थ्य चेकसँगै समस्या देखिएकालाई औषधि समेत दिइएको बताए । स्वास्थ्य शिविर बाढी प्रभावित गढवा, राजपुरलगायतका पालिकाका अन्य विभिन्न स्थानहरुमा समेत गरिने भएको नेपाल परिवार नियोजन दाङ शाखाका शाखा प्रवन्धक खनालले बताए ।

गत असोज महिनाको १८ गतेदेखि परेको अविरल बर्षाका कारण जिल्लाका दश पालिकाभित्रका चार हजार ७ सय ४४ परिवार प्रत्यक्ष प्रभावित भएका थिए । जसबाट एक हजार ५ सय ६६ घर पूर्णरुपमा भत्किएका छन् भने ३ हजार एक सय ७८ घर आंशिक रुपमा क्षती भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रको तथ्याङकले जनाउने गरेको छ ।

लुम्बिनी प्रदेश सरकारले बाढी प्रभावितहरुको पुर्नस्थापनासंगै उपचारमा ध्यान दिएको स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले बताउनु भएको छ । साथै मन्त्री चौधरीले पीडितहरुको स्वास्थ्यलाई मध्यनजर गरेर सवैका समन्वयमा भएको एकीकृत स्वास्थ्य शिविरले ठुलो सहयोग पु¥याउने समेत बताएका थिए ।

गढवा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखराज थापाको अध्यक्षतामा भएको कार्यक्रममा पालिका भरका एक सय २ जना स्थानीयले स्वास्थ्य जाँच गराएका छन् । नेपाल परिवार नियोजन संघ दाङको आयोजनामा भएको एकीकृत स्वास्थ्य शिविरमा विभिन्न संघसंस्थाहरुले सहकार्य गरेका थिए ।