लोक गीत, संगीतको क्षेत्रमा देखिने गरी काम गर्छु : अध्यक्ष दाहाल (अन्तर्वार्ता)
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ शाखाका अध्यक्षमा पुनः राजेन्द्र दाहाल निर्वाचित भएका छन् । लामो समयदेखि लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा संलग्न दाहाल प्रतिष्ठानको दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मतिमै निर्वाचित भएका छन् । दाहालले पहिलो कार्यकालमा प्रतिष्ठानको विकासका लागि जग्गाको खोजी, भवन निर्माणको शिलन्यासदेखि स्वर्गीय लोकदोहोरी सम्राट स्व. नारायण पाण्डे, बरिष्ठ गायक तथा संगीतकार मधुबाबु थापा र सारँगी सम्राट स्व.जंगबहादुर गन्धर्वको शालिक निर्माणका लागि पहलसँगै विभिन्न अक्षकोष समेत स्थापना गरेका छन् । लोक गीतसंगीतसँगै प्रतिष्ठानको विकासका लागि पहिलो कार्यकालमा गरेको प्रतिबद्धताअनुसार कामको सुरुवात गरेको भन्दै तिनै योजनाहरूलाई पूर्णता दिनका लागि दोस्रो कार्यकालमा दोहोरिनु परेको बताउने गरेका छन् । उनै अध्यक्ष राजेन्द्र दाहालसँग गोरक्षकर्मी लिलाधर वलीले गरेकोे कुराकानीको सार संक्षेप ।
तपाईं पुनः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा निर्वचित हुनुभएको छ, प्रतिष्ठानको दोस्रो कार्यकालका लागि तपाईँलाई फेरि किन अध्यक्ष बन्नुपरेको नि ?
म अहिले दोस्रो कार्यकालका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ शाखाको अध्यक्षमा निर्वाचित भएको छु । यसको मुख्य कारण मैले पहिलो कार्यकालमा अध्यक्षमा निर्वाचित हुँदै गर्दा केही प्रतिबद्धता गरेको थिएँ । तर दुई–दुई पटक विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण प्रतिबद्धता गरेका महत्वपूर्ण कामहरू पूरा गर्न सकिनँ ।
त्यीमध्ये केही योजनाहरू सुरुवात भएका छन् । तपाईँलाई पनि थाहा छ, प्रतिष्ठानको भर्खरै मात्रै भवनको शिलन्यास भएको छ । प्रतिष्ठानको शिलन्यास भएको भवनलाई पूर्णता दिनु मेरो दायित्व हो । यसैगरी दाङलाई लोकदोहारी गीतसंगीतको माध्यमबाट देशभर चिनाउनुहुने स्वर्गीय गायक तथा संगीतकार मधुबाबु थापाको नाममा उहाँको घर जाने सडकलाई ‘मधुबाबु थापा मार्ग’ नामाकरण गर्ने प्रयासमा छौँ । त्यसको सुरुवात भइसकेको छ । त्यसलाई पूर्णता दिनुछ ।
यसैगरी विभिन्न प्रतिभा पुरस्कार वितरण, प्रतिष्ठानमा स्थापना भएका अक्षयकोषलाई वृद्धि गरेर गीतसंगीतका क्षेत्रमा लाग्नेहरूको मनोबल बढाउन सम्मान एवम् पुरस्कृत गर्नेलगायतका योजनाहरू पूरा गर्नका लागि म प्रतिष्ठानको अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित भएको छु । सबैसँग समन्वय र सहकार्य गरेर प्रतिष्ठानको दोस्रो कार्यकालमा लोक गीतसंगीतको विकासका लागि देखिने गरी काम गर्नेछु ।
तपाईं अध्यक्षमा निर्वाचित भएपछि अबका योजना के–के छन् ?
मैले माथि नै धेरै कुराहरू भनिसकेको छु । दोस्रो कार्यकाल अध्यक्षमा निर्वाचित भएपछि ती योजना पूरा गर्ने प्रतिबद्धता गरेको छु । महत्वपूर्ण कुरा भनेको प्रतिष्ठानको भवन निर्माणका लागि स्रोतको संकलन गर्ने हो । भवनलाई मेरै कार्यकालमा पूरा गर्नेछु । यसैगरी लोकदोहारी सम्राट स्व. नारायण पाण्डे, बरिष्ठ गायक तथा संगीतकार मधुबाबु थापा र सारँगी सम्राट स्व.जंगबहादुर गन्धर्वको शालिक निर्माण, प्रतिष्ठानमा अक्षयकोष बढाउने, घोराहीको कपासीदेखि पर्सा हुँदै राजपुर जोड्ने सडकलाई मधुबाबु थापा मार्ग नामाकरणका लागि वडा, स्थानीय सरकारसँगै संघसंस्थाहरूसँग समन्वय गरेर पहल गर्नेसँगै लोक तथा दोहोरी गीतसँगै लोकसंस्कृति संरक्षणका लागि काम गर्ने योजनाहरू रहेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको भूमिका के हो ?
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लोक तथा दोहोरी गीतसंगीतमा लागेका कलाकारहरूसँगै शुभेच्छुकहरूको संस्था हो । संस्थाले लोक तथा दोहोरी गीतसंगीतको विकाससँगै कलाकारहरूको हकहितका लागि काम गर्ने गर्दछ । प्रतिष्ठानले लोक तथा दोहोरी गीतको विकाससँगै नयाँ प्रतिभाहरूलाई अघि बढाउनका लागि भूमिका खेल्ने गर्दै आएको छ । यसैगरी कला संस्कृतिको संरक्षण तथा प्रबद्र्धन, लोक बाजाहरूको संरक्षण, स्रष्टा सम्मान तथा नवप्रतिभाहरूलाई प्रोत्साहनसँगै प्रतिष्ठानमा आबद्ध कलाकारहरूलाई अप्ठेरो परेको समयमा प्रतिष्ठानले सहयोग गर्ने काम गर्दै आएको छ ।
पहिलो कार्यकालमा के–के काम गर्नुभयो ?
मैले अघि पनि भनेँ, पहिलो कार्यकालमा केही देखिने उपलब्धिको सुरुवात भएको छ तर ती योजनाहरू पूरा हुनसकेका छैनन् । वडा कार्यालय, स्थानीय सरकारसँग पहल गरेर घोराही उपमहानगरपालिका वडा नं. १३ को सेवार लामीडाँडामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङ शाखाका लागि २ कठ्ठा १० धुर जग्गा प्राप्त गरेका छौँ । त्यसमा भवन निर्माणका लागि शिलन्यास भएको छ । भवन निर्माणका लागि प्रदेश सरकारले दश लाख रूपैयाँ पनि बजेट विनियोजन गरिसकेको छ ।
यसैगरी घोराही–तुलसीपुर सडकखण्डको कपासीदेखि पर्सा हुँदै राजपुर जोड्ने सडकलाई मधुबाबु थापा मार्ग नामाकरणका लागि टोल विकास संस्था तथा वडा कार्यालयबाट निर्णय सिफारिस भएको छ । अब माथिल्लो निकायबाट निर्णय गराउने काम गर्नुपर्नेछ । यसैगरी पहिलो कार्यकालमा तीनवटा अक्षयकोषहरू स्थापना भएका छन् । जसमा मधुबाबु थापा अक्षयकोष, मथुराप्रसाद श्रेष्ठ अक्षयकोष र प्रवीण भारती युवा अक्षयकोष समेत हामीले सम्बन्धित परिवारसँग समन्वय गरेर स्थापना गरेका छौँ ।
भर्खरै प्रतिष्ठानको भवन पनि शिलान्यास भएको छ, भवनका लागि आर्थिक स्रोत कसरी जुटाउनुहुन्छ ?
भवन निर्माणका लागि सुरुवात गरेका छौँ तर भवन निर्माणका लागि प्रतिष्ठानसँग बजेट छैन । भवन निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार, संघीय तीनै तहका सरकारसँगै संघसंस्थाहरूसँग समन्वय गर्ने सोचेका छौँ । घोराही उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएपछि प्रदेश सरकारले देश लाख रूपैयाँ दिएको छ । यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि एक लाख रूपैयाँ दिने भएको छ । बाँकी रकमका लागि प्रतिष्ठानको छिट्टै बैठक बसालेर भवन निर्माणको लागि स्रोत व्यवस्थापनको काम गर्नेछौँ ।
लोकदोहोरी गीत क्षेत्रको विकासका लागि के गर्न आवश्यक छ ?
जिल्लामा लोक तथा दोहोरी गीतसंगीत क्षेत्रको विकासका लागि धेरै कामहरू गर्न आवश्यक छ । त्यसका लागि प्रतिष्ठानसँगै स्थानीय सरकार र संघसंस्थाहरूको साथ र सहयोग आवश्यक छ । जिल्लामा स्रष्टाहरूको सम्मान तथा नवप्रतिभाहरूको प्रोत्साहन, लोकदोहोरी क्षेत्रमा देखिएका विसंगति, विकृतिलाई न्यूनीकरण गर्नका लागि सबैको पहल आवश्यक छ । त्यसका लागि लोकदोहारी गीतहरूको प्रशिक्षण तथा प्रतियोगिताहरू नियमित रूपमा भइरहन आवश्यक छ । लोक गीतसंगीत क्षेत्रको विकासका लागि स्थानीय सरकारको विशेष साथ र सहयोग चाहिन्छ ।
दाङमा लोक गीतसंगीतको विकासका लागि स्थानीय सरकारको कस्तो भूमिका पाउनुभयो ?
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान स्थापना भएको करिब २० वर्ष भयो । २० वर्षको अवधिमा प्रतिष्ठानले स्थानीय सरकारसँग खासै सहयोग पाएको अवस्था देखिँदैन तर पछिल्लो समयमा केही स्थानीय तहहरूले प्रतिष्ठानप्रति चासोसँगै सहयोग गर्न थालेका छन् । यो राम्रो सुरुवात हो । त्यसको उदाहारण प्रतिष्ठानले जग्गा प्राप्त गर्नु पनि हो ।
दाङ लोक गीतसंगीतको राम्रो पहिचान भएको जिल्ला हो । यहाँ आफ्नै कला, संस्कृति छन् । यही जिल्लाका धेरै कलाकारहरू गीतसंगीतका माध्यमबाट देशव्यापी रूपमा चिनिनुका साथै लोक कला, संस्कृतिको विकासका लागि भूमिका समेत खेल्दै आउनुभएको छ । जिल्लामा पनि विभिन्न चाडपर्वअनुसार विभिन्न सांस्कृतिक िकार्यक्रमहरू समेत हुने गरेका छन् । ती कार्यक्रमहरूलाई पछिल्लो समयमा स्थानीय सरकारको साथ र सहयोग प्राप्त भइरहेको छ ।
गीतसंगीतमा देखिएका विकृति, विसंगति रोक्न प्रतिष्ठानको भूमिका के रहन्छ ?
पक्कै पनि राम्रो काम गर्दा केही नराम्रो हुने गरेका हुन्छन् । त्यसैले लोक तथा दोहोरी गीत क्षेत्रमा धेरै राम्रो काम भइरहँदा केही नराम्रा विकृतिका घट्नाहरू बाहिर आउने गर्दछन् । त्यस्ता कार्यलाई रोक्नका लागि प्रतिष्ठानले जिल्ला तहमा विभिन्न सचेतना तथा प्रतिभाहरूको विकासका लागि कार्यक्रमहरू गर्न सक्छ । त्यसका लागि सबैको साथ र सहयोग आवश्यक छ । प्रतिष्ठान एक्लैले मात्रै भन्दा पनि सबैको साथ र सहयोग रह्यो भने प्रतिष्ठानले राम्रो काम गर्नसक्छ ।
अन्त्यमा केही भन्नु छ कि ?
लोक तथा दोहोरी गीत क्षेत्रको विकासका लागि म र मेरो नेतृत्वको कार्यसमितिले काम गर्नेछौँ । त्यसका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक छ । त्यो सहयोग सञ्चार क्षेत्रबाट पनि निरन्तर रूपमा भइरहोस् भन्ने अपेक्षा छ । दाङमा लोकगीत क्षेत्रसँगै प्रतिष्ठानको विकासका लागि महत्वपूर्ण कामहरू अघि सारेका छौँ । त्यसका लागि सञ्चार क्षेत्रको सदैव हामीलाई साथ र सहयोग आवश्यक छ । अन्त्यमा फेरि पनि म र मेरो संस्थाको आगामी योजनाहरू राख्ने अवसर दिनुभएकोमा तपाईँ र तपाईँको सञ्चार माध्यमलाई धन्यावाद ज्ञापन गर्दछु ।