खेमराज रिजाल
बिजौरी,२ कार्तिक । आयुर्वेद चिकित्सा पद्धतिमा फड्को मार्दै आएको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा दोस्रोपटक सुरु भएको छ । मितिमा भन्दा तिथिमा विश्वास गरिएको यो स्वास्थ्य सेवा दोस्रोपटक बिजौरी अस्पतालमा सुरु भएको हो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्व रेक्टर प्राध्यापक भागवतप्रसाद शर्माले शुभारम्भ गरेका हुन् ।
सेवा सुरुआत भएको दोस्रो चरणमै करिब आठ गुणा बढी सेवाग्राहीहरुले सेवा लिएपछि अस्पताल व्यवस्थापन पनि उत्साहित भएको छ । पछिल्लो समयमा अस्पतालले दिन सक्ने सेवाहरु विविधीकरण गर्दै बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयले स्वर्ण प्राशन विधिबाट उपचार सेवा सुरु गरेपछि सेवा लिनेहरुको भीडले सार्वजनिक विदाको दिन पनि बिजौरी आयुर्वेद अस्पतालमा थामिनसक्नुको भीड थियो । दोस्रो पटक सुरु भएको यो सेवा लिन मंगलवार विहानैदेखि बालबालिकाहरु लिएर अभिभावक लाममा लागेका थिए । औषधि सेवन गराउन आमाहरुको तछाड–मछाड देखिएको थियो ।
मंगलवार दिउँसोसम्म ८ सय ५१ जना बालबालिकाले यो सेवा लिएको अस्पतालका चिकित्सक डा. मदन भण्डारीले जानकारी दिएका छन् । अघिल्लो पटक १ सय जना बालबालिकाले मात्र सेवा लिएका थिए । नयाँ प्रविधिको सेवा लिन बालबालिकाहरुलाई लिएर आउने अभिभावकहरुको यो पटक अत्यधिक सहभागिता रहेको अस्पतालले जनाएको छ । जन्मेको एक महिनादेखि सोह्र वर्षसम्मका सबै बालबालिकाहरु यो सेवा लिन सक्नेछन् । यसका लागि एउटा नियमित कार्ड बनाउने र बढीमा दश रुपैयाँसम्म शुल्क लिन सकिने चिकित्सालय विकास समितिका अध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिए । अर्को सेवा कार्तिक २८ गते प्रदान गरिने अस्पतालले निधो गरेको छ ।
‘आयुर्वेद चिकित्साप्रतिको विश्वासले हामीले छोरालाई लिएर यहाँ आएका हौं’, तुलसीपुर उपमहानगरपालिका–१८ मा कार्यरत प्राविधिक तथा मनिकापुर निवासी विमला केसीले भनिन् । एलोप्याथिक मेडिसिनसँगै दीर्घरोगका लागि आयुर्वेद चिकित्साप्रति आफ्नो पूर्ण विश्वास रहेको पनि विमलाको अभिव्यक्ति थियो । उनले आफ्नो बच्चालाई नियमितरुपमा सोह्र बर्षसम्मै यो स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिन् । त्यसैगरी तुलसीपुरका पत्रकार मनु शर्मा पनि यो सेवा लिनका लागि एक गाडी बालबालिका बोकेर विहानै अस्पताल आइपुगेका थिए । ‘मलाई आयुर्वेद चिकित्साप्रति पूर्ण विश्वास छ, त्यसैले यहाँ सुरु भएको यो नयाँ सेवामा जोडिन आफन्तका बालबालिकासहित म आफ्नो बच्चालाई लिएर यहाँ आएको हुँ,’ मनुले भने ।
बालरोग विशेषज्ञ डा. हरिशंकर चौधरीले बच्चाहरुलाई पनि आयुर्वेद पद्धतिबाट सेवा दिने जानकारी दिएका छन् । प्रत्येक महिनाकोे पुष्य नक्षत्रको शुभ साइतमा स्वर्ण प्राशन दिने÷लिने गरिन्छ । यो उपचार बच्चाका लागि लाभदायक हुने चिकित्सकहरुले बताएका छन् । चिकित्सकका अनुसार स्वर्ण पाशन बच्चाहरूका लागि आयुर्वेदको बरदान हो । उनीहरुलाई बलियो र बुद्धिमानी बनाउनको लागि गर्नुपर्ने कृत्य हो, यो । जब घरमा बच्चा जन्मिन्छ, आमाबुबाको खुशीको कुनै सीमा हुँदैन । यो खुशीको अवसरमा सम्पूर्ण परिवार र यहाँसम्म कि आफन्तहरु समेत खुशी मनाउँछन् । यस्तो स्थितिमा आमा बाबुले बच्चाको राम्रो स्वास्थ्यका लागि र रोगहरुबाट बचाउनका लागि केही प्राचीन संस्कारहरु अपनाउँछन् । ताकि बच्चा स्वस्थ रहन्छ र रोगहरुसँग लड्नका लागि सक्षम हुन्छ ।
प्राचीन संस्कारमध्ये एक स्वर्ण पाशन पनि हो । यो सनातन धर्मको १६ संस्कारमध्ये एक हो । स्वर्ण पाशन संस्कार आयुर्वेदिक चिकित्साको विरासत हो, जसले बच्चाहरुमा हुने मौसमी रोगहरुबाट बचाउँछ । यसले बच्चाहरूको समग्र स्वास्थ्यमा भूमिका खेल्छ । डा. चौधरीका अनुसार स्वर्ण पाशन संस्कार जडिबुटी जस्तैः मह, अश्वगंधा, शंखपुष्पी, बाचा आदिलाई सुनसँग मिसाएर तयार पारिएको रसायन हो । जुन पुष्य नक्षत्रको शुभ साइतमा लिने गरिन्छ । स्वर्ण प्राशन संस्कार बच्चाहरूको शारीरिक र मानसिक गतिमा सुधार ल्याउने संस्कार हो । यो धेरै प्रभावकारी छ र प्रतिरक्षा बढाउने खालको पनि रहेको बताइन्छ । त्यसो त आयुर्वेद चिकित्सालय बिजौरीले पछिल्लो समयमा आयुर्वेद विधाका नवीनतम प्रविधिलाई अनुशरण गर्न थालेको छ ।
योगा, नागरिक व्यायमशाला, जलौका प्रविधि, क्षार सुत्रबाट पायल्स फिस्टुलाको शल्यक्रिया, पञ्चकर्म सेवा, अग्निकर्म सेवालगायत विविध आयुर्वेद चिकित्सा पद्धतिलाई सो अस्पतालले अनुुशरण गर्न थालेपछि यहाँ दाङ जिल्लाका मात्र नभएर रोल्पा, रुकुम, प्युठान, पाल्पा र अर्घाखाँचीदेखि जनकपुरसम्मका बिरामीहरु सेवा लिन आइरहेको अस्पतालका निमित्त निर्देशक डा. सन्तोष ठाकुरले बताएका छन् । उनले अस्पताललाई सबैको आकर्षणको केन्द्र बनाउने पनि अभिव्यक्ति दिए ।
आयुर्वेद चिकित्सासँगै अस्पतालले आधुनिक स्वास्थ्य विज्ञानको पद्धतिलाई पनि आत्मसात गर्दै अघि बढ्न थालेको छ । सो अस्पतालमा आधुनिक चिकित्सा पद्धतिबाट भिडिओ एक्सरे, इसिजी, रगतको परीक्षण, थाइराइड परीक्षणलगायतका सेवाहरु पनि उपलव्ध गराउँदै आएको छ । साथै सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले ज्येष्ठ नागरिकलाई निःशुल्क रुपमा सुगर परीक्षणसमेत गर्दै आएको छ ।
फिचर लेखन तालिम सुरु
दाङ, २ कार्तिक । फिचर लेखनसम्बन्धी ४ दिने पत्रकारिता तालिम मंगलवारदेखि घोराहीमा शुरु भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको संयोजनमा तालिम सुरु भएको हो । त्यस अवसरमा महासघ पूर्ब केन्द्रीय अध्यक्ष तथा तालिका प्रमुख प्रशिक्षक डा.महेन्द्र बिष्टले नेपालको परिवर्तन र परिवर्तनलाई संस्थागत गर्न खेलेको भूमिका अतुलीनय रहेको बताउँदै अहिले पत्रकारितालाई विश्वसनीय बनाउन पनि त्यत्तिकै चुनौती रहेको बताए । विष्टले नेपाली पत्रकारितालाई विश्वसनीय बनाउन जरुरी रहेको बताउँदै कसैले पनि गुनासो नगर्ने गरी समाचार सम्प्रेषण गर्न सक्ने अवस्थाको सिर्जना गर्नुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष उदय जीएमले पत्रकार महासंघले व्यावसायिकरुपमा सक्षम बनाउन पत्रकारहरुको दक्षता वढाउने सोचका साथ यस्ता तालिमको आयोजना गरेको बताए ।
उनले पत्रकारहरुको सीप अभिवृद्धि गर्न पछिल्लो समय फिचर लेखनमा अब्बल कसरी बनाउन सकिन्छ भनेर यस्ता तालिम देशका विभिन्न ११ जिल्लामा सञ्चालन गरिएको बताए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारितामा टिक्ने र बिक्ने खालको समाचार लेखन आवश्यक रहेको बताए । कार्यक्रममा पत्रकार महासंघ दाङ शाखा पूर्ब अध्यक्ष केबी मसाल, सल्लाहकार सबिन प्रियासन, लक्ष्मी आचार्यलगायतले मन्तव्य राखेका थिए । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बसुन्धरा गौतमको स्वागत र केन्द्रीय समितिका कार्यक्रम संयोजक रामप्रसाद दाहालले कार्यक्रमबारे प्रकाश पारेका थिए । तालिममा जिल्लामा क्रियाशील २५ जना पत्रकारहरुको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण महासंघ दाङका सचिब आर.के. शितलले गरेका थिए । तालिमको प्रमुख प्रशिक्षकमा महासंघका पूर्ब केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्ट छन् ।