दाङ, २९ असोज । उद्योगीहरुलाई लेबलिङसम्वन्धी सचेतना प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघ र तुलसीपुर उद्योग वाणिज्य संघको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो । उद्योगीहरुलाई लेबलिङसम्बन्धी जानकारी दिनका लागि यस प्रकारको कार्यक्रम आयोजना गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङले जानकारी दिए ।
यस प्रकारको कार्यक्रमले उद्योगीहरुलाई उद्योग सञ्चालन गर्दा सहज हुने उनले बताए । सचेतना कार्यक्रमसँगै उद्योगीहरुले आफूले आफ्नो उद्योगमा गर्नुपर्ने कामका बारेमा जानकारी पाउने र कार्यान्वयनमा ल्याउन सहज हुने उनले बताए । उद्योगीहरुलाई पहिले सचेतना दिने र त्यसपछि अनुगमन गरिने उनको भनाइ छ । ‘अनुगमन गर्दा मापदण्डविपरीत सञ्चालन भएमा कारबाही हुन्छ’, उनले भने । सरकारको मापदण्ड तथा गुणस्तरीय वस्तु उत्पादन गर्न समेत उनले उद्योगीहरुलाई आग्रह गरे ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले उद्योगी तथा व्यवसायीहरु इमानदारिताका साथ अगाडि बढ्नुपर्ने बताए । ‘हामी उद्योगी तथा व्यवसायीहरु इमानदारी हुन आवश्यक छ’, उनले भने । आफूले गर्ने व्यापार व्यवसायमा गुणस्तरीय सेवा दिनसमेत उनले आग्रह गरे । गुणस्तरीय सेवा दिएमा मात्र उद्योग तथा व्यवसायीहरुले उपभोक्ताहरुको मन जित्नसक्ने उनले बताए ।
उद्योग व्यवसाय सुधारका लागि सबै सचेत भएर अगाडि बढ्नुपर्ने समेत उनले बताए । ‘सबै मिलेर लागेमा सुधार गरेर अगाडि बढ्न सकिन्छ’, उनले भने । मसला उद्योगी यज्ञबहादुर घर्तीले साना तथा घरेलु उद्योगहरु विभिन्न समस्यामा रहेको बताए । थोरै लगानीबाट सुरु भएका उद्योगहरु सबै मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्नका लागि समस्या पर्ने गरेको बताए । उपभोक्ताहरु सचेत नहुँदा समस्या हुने गरेको उनले बताए ।
उपभोक्ताहरुले लेबलिङविनाको वस्तुभन्दा पनि खुल्ला बढी खोज्ने गरेको उनी बताउँछन् । उपभोक्ताहरु सचेत नहुँदा यस प्रकारको कार्य गर्ने उनको भनाइ रहेको छ । मासु व्यवसायी निमबहादुर डाँगीले सरकारी निकायबाट हुने अनुगमन निरन्तर हुनुपर्ने बताए । ‘नियमित अनुगमन भएमा उद्योग तथा व्यवसायीहरु सचेत हुनेछन्’, उनले भने । सरकारी निकायबाट चाडपर्वको समयमा मात्र अनुगमन गरिने गरेको उनले बताए । अन्य समयमा पनि अनुगमन हुनुपर्ने उनी बताउँछन् ।
डेरी व्यवसायी मनबहादुर बुढाथोकीले प्याकेजिङ गरेको दूध उपभोक्ताले खान नमान्ने गरेको बताए । यसले गर्दा प्याकेजिङ गरेर दूध बिक्री गर्ने व्यवसायीहरु धरापमा पर्ने गरेको उनले बताए । डेरी व्यवसाय गर्नेहरुलाई अनुज्ञा–पत्र लिनका लागि नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको भन्दै यस प्रकारको समस्या समाधान गर्न समेत माग गरे । ‘हामी धेरै रकम तिरेर अनुज्ञा–पत्र लिन तथा नवीकरण गर्न जानुपर्ने बाध्यता रहेको छ’, उनले भने । व्यवसाय गर्नेहरुलाई सहजरुपमा दर्ता गर्ने वातावरण गराइदिनुपर्ने उनको भनाइ रहेको थियो ।
कार्यक्रममा विष्णु थापा, इन्द्रबहादुर बस्नेत, तिलसरी रावललगायतले भनाइ राखेका थिए । त्यस अवसरमा लेबलिङसम्बन्धी आधारपत्र उद्योगी विकास वली, उत्पादक उपभोक्ता र व्यवसायीको दायित्व र कानुनी विषयमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्मा र उत्पादित खाद्यवस्तुको गुणस्तर र लेबलसम्वन्धी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक राजेश चौधरीले प्रस्तुत गरेका थिए ।
कार्यालयका मिनराज पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यालयका अधिकृत विक्रम केसीले गरेका थिए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा थापा, घोराही तथा तुलसीपुर क्षेत्रमा रहेका उद्योगीहरुको सहभागिता थियो ।