विनोद पोख्रेल
२०७८ बैशाख ५ गते
अलि ढिलो भयो । त्यो एक्लो चरोसँग भेट त भएको हो तर अहिले उ मेरो नजिक छैन । शनिवार र आइतवार निद्रा राम्ररी प¥यो भने म अलि ढिलो उठ्छु । कारण ती दुई दिन इण्डियन आइडल भन्ने रियालिटी शो आउँछ । नयाँ कलाकारहरुले गीत गाउँछन् । म यो सुन्न र हेर्न मन पराउँछु । यो कार्यक्रमले ११ भन्दा बढी बजाइदिन्छ । यस पटक त्यहाँ पनि कोरोनाको प्रभाव परेको छ । जित्ने निश्चित जस्तै भएको कलाकार (गायक) सहित प्रवल दाबेदारहरु तीन जना अस्पतालमा छन् ।
त्यसैले होला टप नाइनबाट केही हप्ताको लागि हट्ने हटाउने नगर्ने भन्ने निर्णय भएको छ । त्यतातर्फ हामीलाई त्यति मतलव हुँदैन । सबैले राम्रो गाउँछन् । हामी स्रोताको स्थानमा छौँ । रमाइलो लाग्छ । त्यसैले आइतवार र सोमवार बिहान अलि ढिलोसम्म सुत्ने सम्भावना हुन्छ । अरु केही काम पनि आइतवार गर्ने गर्छु । आफ्नो सरसफाईका कामहरु । त्यसकारण अरु दिनभन्दा आइतवार बिहान अलि व्यस्त हुन्छु । कहिलेकाहीँ त अलि हतार नै हुन्छ । आज पनि त्यस्तै छ ।
कामलाई समय नपुग्ने होइन तर मन आत्तिन्छ । यस्तो व्यस्तताले पनि आनन्दको अनुभव गराउँछ । फुर्सद छैन जस्तो, समय कटाउन मुस्किल भएको बेला यत्ति व्यस्तता पनि रमाइलो मानेको हुन्छु । केही छुट्छ कि जसतो । छुट्ने केही होइन । आजभोलि चैतेदसैँको पक्ष चलिरहेकाले बिहान नुहाएर एकपटक मन्दिरसम्म पुग्ने गरेको छु । आज के हुन्छ । फेरि एउटा तर्सो बढेको छ । पहिलेको भन्दा अलि बढी प्रभावकारी रुपमा फेरि कोरोनाको संक्रमण बढेको छ भन्ने चर्चा छ । कुनै कुनै समाचार माध्यमका अनुसार यस पटकको संक्रमणले स्कूले उमेरका बालबालिकालाई बढी प्रभाव पारेको छ ।
त्यसैले सामान्य तनाव बढाएको छ । घरमा चारजना स्कूल उमेरका छन् । अब त घामले पनि जित्नथाल्यो । झ्यालको नजिकै भएर धेरैबेर बस्न पनि अलि गाह्रो भएको छ । यो सब ढिलो भएर हो । पानी पनि पर्दैन । तुवाँलोको प्रभाव कस्तो पर्ने हो थाहा छैन । एउटा कुरालेभरि ध्यान तानेको छ । सरकारले न त पहिलेको जस्तो विद्यालय बन्द गर्न सकेको छ न त खोल भन्न नै सकेको छ । खोल्नलाई प्राइभेट स्कूलहरुको बढी जोड छ । उनीहरुका पनि तर्कहरु छन् । सरकारले निर्णइ लिनुपर्ने हो तर जे गर्छौ गरको निित बनाएको जसतो छ ।
आफ्नो कुनै बुझाई वा नीति नै नभएको जस्तो । यो गैरजिम्मेवारीपन हो । यस्तो क्रिटिकल स्थितिमा सरकार अनिर्णयको बन्दी हुनु भनेको संवेदनाहीन हुनु हो । यो लहरले मलाई पनि केही प्रभाव त पारेको छ । म घोराहीसम्म कहिलेकाहीा डुल्न जाने सोचेको मान्छे फेरि यसरी प्रकोप बढेपछि अर्धबन्दीकै अवस्थामा अझै धेरै समयसम्म बस्नुपर्ने भएको छ । कहिलेसम्म भन्ने थाहा छैन । तर दिक्दार मानेर केही हुँदैन । जस्तो परे पनि यसैगरी भोग्ने हो । म त तयार भएर बसेको छु ।
२०७८ बैशाख ६ गते
इतिहासमा कुनै प्रसंगमा शत्रु राष्ट्रको जिम्मेवार व्यक्ति सायद सेनापति नै हो, लाई मिलाएर आफूले त्यो राष्ट्र कब्जा गरेपछि त्यो सेनापति (व्यक्ति) लाई प्राणदण्ड दिएको घटना आज याद आएको छ । नेपाल राजनीतिमा विकृतिले सीमा नाघेको छ । केही व्यक्तिको आपसी दुश्मनी वा जुँगाको लडाइँले देशले लज्जा र पीडा भोग्न बाध्य भएको छ । हिजो मात्रै संसद सदस्यता गुमाएका गृहमन्त्री रामबहादुर थापालाई फेरि चोरबाटोबाट गृहमन्त्रालय जिम्मा दिइएको छ । यो नयाँ घटना होइन ।
योभन्दा पनिले केन्द्रमा लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र सायद गणेश चौधरी यसैगरी मन्त्री भइसकेका छन् भने कर्णाली प्रदेशमा पनि प्रकाश ज्वालालगायत चारजना प्रदेशमन्त्री भएका छन् । यी घटनाहरु एमाले र माओवादीको आन्तरिक किचलोको परिणामको रुपमा लिइएको छ । तर बीचको यति धेरै नबढ्दै पनि युवराज खतिवडालाई खर्थमन्त्रालय उनी बिना चल्नै नसक्ने जस्तो गरेर जिम्मा लगाइएको धेरै भएको छैन ।
कसैको सेखी झार्नबाट कसैको तुष्टिकरणका लागि गरिने यस्ता जात्राले नेतृत्वको अक्षमता र सत्तालिप्सा दुवै एकैपल्ट सप्रमाण देखाउँछ भने हुनेहरुको चरित्र पनि बेसर्म र सत्ताभोगी भएको प्रमाणित गर्छ । राजनीतिमा नाम जहिले पनि जनताको लिइन्छ तर जनताको भावनाको सम्मान कहिल्यै हुँदैन । अथवा भनौँ जनभावना भनेो शासकको लडाइँ हो भन्ने कुरा बुझ्नुपर्ने भएको छ । कुनै पनि गतिविधि एक हदसम्म सह्य हुने रहेछ । हद नाघे मन छटपटिँदो रहेछ । आज यस्तै अनुभव भएको छ । केन्द्रको मन्त्रीमण्डलमा पार्टीले निकालेकाहरु सातजना छन् रे ।
मैले सञ्चार माध्यमबाट सुनेको हो । त्यस्तै प्रदेश मन्त्रिपरिषदमा पनि कमसेकम कर्णाली प्रदेशमा चारजना त भइहाले । १ नम्बर, गण्डकी, लुम्बिनी प्रदेशमा पनि खिचडी पाक्दैछ । त्यहाँ पनि केही भयो भने हुने यस्तै हो । संस्कारविहीन राजनीतिको उदाहरण योभन्दा राम्रो केही हुँदैन । कुरा परिवर्तनका गर्ने तर आफू सत्तामा आएपछि परिवर्तनले पूर्णता पाएको र अब कुनै परिवर्तन हुनु हुँदैन भन्ने चरित्र गैरजिम्मेवार चरित्र हो । दुखका साथ भन्नुपर्छ आजको नेपालको राजनीति यस्तै चरित्रको शिकार भएको छ ।
नेपोलियन बोनापार्टले म नै फ्रान्स हुँ भनेझैँ अहिलेका यहाँका शासकहरुले नेपाल भनेको आफू मात्रै सम्झेको जस्तो लाग्छ । राष्ट्र विखण्डित हुने तानाशाहहरुको अभ्युदय हुने वा राष्ट्रवादको नास भएर विदेशीको शरणमा आफै जानुपर्ने स्थिति ल्याउने यस्तै चरित्र र यस्तै परिवेश हो । स्वार्थको लागि राजनीति गर्नेहरु कति घटिया खेलसम्म खेल्न सक्छन्, यो बुझ्न अहिलेको नेपालको राजनीतिक दृश्य हेरे पुग्छ ।