दलीय अकर्मण्यताको विद्रोह स्वतन्त्र उम्मेदवारी

भुवन पोख्रेल
स्वतन्त्र शब्दको अर्थ अरुको अधीन वा बन्धनमा नरही स्वयम् सोच विचार गरी काम गर्न पाउने, स्वाधीन हो । वर्तमान राजनीतिक परिदृश्यमा सबैभन्दा बढ्दा चर्चित शब्द स्वतन्त्र हो । स्थानीय निर्वाचनमा काठमाडौं, धरान, धनगढीलगायतका सहरहरुमा स्वतन्त्र उम्मेदवारले जितेपछि स्वतन्त्र शब्द शिखरमा पुगेको छ । अब आउने प्रदेश र संघीय निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या उल्लेख्य रुपमा वृद्धि भएको देखिन्छ ।

स्वतन्त्र उम्मेदवारको लहरको सुरुवात नै २०७९ सालको स्थानीय तहको निर्वाच्नबाट भएको भन्ने होइन, यसको इतिहास लामो छ । देशको पहिलो निर्वाच्न २०१५ सालमा पहिलो निर्वाचनमा १२ गैरदलीय १२ स्वतन्त्र उम्मेदवारहरु चरा, माछा, औँला, हात्ती, सारँगी, घोडा आदि स्वतन्त्र चुनाव चिह्न पाएर चुनावी मैदानमा उत्रेका थिए ।

बहुदलीय व्यवस्थाको पुनःस्थापना भएपछिको निर्वाच्नमा २० राजनीतिक दलले भाग लिएका थिए । २१९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसमध्ये ८ जना महिला उम्मेदवार थिए । २०४८ को निर्वाचनमा तीनजना स्वतन्त्र उम्मेदवारको जित पनि भएको थियो । त्यस्तै २०५२ सालमा २८५ स्वतन्त्र उम्मेदवारमध्ये ७ जनाको जित भएको थियो । २०४८, २०५२, २०५६ र संविधान सभाका दुईवटा निर्वाचनमा स्वतन्त्र उम्मेदवारले उल्लेख्य संख्यामा चुनावमा भाग लिएका थिए । संघीय निर्वाचन २०७४ मा कूल ४९२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

अहिलेको बहुदलीय व्यवस्थामा किन स्वतन्त्र उम्मेदवारीको लहर चलेको छ । कोही पनि व्यक्ति पार्टी प्रणालीबाट चुनाव नलडेर किन स्वतन्त्र चुनाव लडिरहेको छ त भन्ने अनेकन तर्कवितर्क र विश्लेषण तथा बहस चल्न सक्छन् । यसमा विभिन्न कारण हुनसक्छन् । कोही दलले टिकट नदिएर स्वतन्त्र रुपमा निर्वाच्नमा खडा हुन्छन्, प्रायः यस्ता उम्मेदवारलाई बागी पनि भनिन्छ । कोही भने दलो टिकट दिने झमेलासँग चित्त नबुझेर आफ्नो सिद्धान्त र वादअनुसार दल नचलेकाले आफ्नो निष्ठामा टेकेर स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिन्छन् । कोही भने कुनै पनि दल मन नपरेर स्वतन्त्र रुपमा उठ्छन् । यस्ता व्यक्तिले बरु पञ्चायत नै ठिक, राजावादी नै ठिक र जंगबहादुरजस्तो अधिनायकवाद हुनुपर्छ भन्ने प्राचीन खालको विचार राख्दछन् ।

कोही व्यक्ति भने निर्वाच्नमा उठौँ न त अलिअलि चर्चा पनि थपिन्छ । मुलुकमा केही न केही गर्ने कोसिस त गरेकै हो भन्ने आदर्शपुरुष बन्ने चाहनाले पनि निर्वाचनमा उठ्छन् । अहिलेको परिस्थितिमा चुनावको यति क्रेज बढिरहेको छ कि जागिरले राजिनामा दिएर, विदेशमा काम गरिरहेका व्यक्ति काम छाडेर वा छुट्टी लिएर भए पनि चुनाव लड्न नेपाल आइरहेका छन् । २०७९ सालको निर्वाचनमा यतिसम्मको निर्वाचनको इतिहासमै धेरै व्यक्ति स्वतन्त्र शब्दलाई अंगीकार गर्दै उम्मेदवारको घोषणा गरिरहेका छन् ।

सामाजिक सञ्जालमा युवा अनुहार, उर्जाशील व्यक्तित्व, होनहार प्रतिभा भएका व्यक्तिको चर्चा सुनिन्छ । उम्मेदवारले पक्कै भाइरल र चर्चा मात्र बटुल्न उम्मेदवारी दिएका होइनन् । सबैको मन धेरै थोरै मुलुकको बारेमा चिन्ता भएर नै देशको अवस्था सुधार गर्न आफ्नो उम्मेदवारीको खाचो देखेर चुनावी मैदानमा उत्रिनु भएको होला । दलीय अकर्मण्यताबाट जन्मिएको विद्रोहको स्वर हो, स्वतन्त्र उम्मेदवारी । दलीय चरित्रको पर्दाफास गर्ने प्रवृत्ति हो, स्वतन्त्र शब्द ।

चुनाव लड्न जोसुकै व्यक्तिले हिम्मत राख्न सक्दैन । चुनाव लड्ने भनेको आफ्नो व्यक्तिगत जीवन दैनिकी, कामकारबाही, परिवार, घरपरिवार, आर्थिक अवस्था सबैमा सम्झौता गर्दै अघि बढ्ने प्रक्रिया भएकाले यो पक्कै पनि चुनौतीपूर्ण र दुःसाध्य कार्य हो । अझ दलीय प्रणालीबाट चुनाव लड्दा भन्दा स्वतन्त्र रुपमा चुनावी मैदानमा उभिने उम्मेदवार सबैको आँखाको तारो भइदिन्छ । सबै दलहरुले हाम्रो भोट काट्न उठेको भनेर आँखाको कसिंगर ठान्छन् तर चुनाव भनेको दलहरुको मत मात्र पर्छ भन्ने सोच अब प्राचीन भइसक्यो ।

मतदाताले आफ्नो स्वविवेकलाई प्रयोग गरेर दलीइ ह्वीपलाई नमानेर आफूलाई मनपरेको उम्मेदवारको चिह्नलाई अत्यधिक बहुमत प्रदान गरी जिताउन सक्छन् । जनताको बहुमूल्य मत स्वतन्त्र उम्मेदवारलाई पनि परेको ज्वलन्त उदाहरण स्थानीय चुनावमा देखियो । अबको चुनावमा पनि आशलाग्दा युवा अनुहार स्वतन्त्र रुपमा चुनाव लड्दै छन् । दलीय चिन्तनबाट माथि उठ्न सक्ने मतदाताले स्वतन्त्र उम्मेदवारलाई अत्यधिक बहुमतले मज्जाले विजयी बनाइदिन सक्छन् ।

अहिलेको स्वतन्त्र शब्द दलीय प्रणालीलाई ध्वस्त पार्न त पाएको छैन भन्ने पनि सोच राख्न सकिन्छ । तर अहिले फराकिलो ढङ्गले दलीय संकीर्ण घेराभन्दा माथि उठेर सोच्ने हो भने त्यस्तो होइन बरु बहुदलीय व्यवस्थालाई सुधार गरी संस्थागत गर्न, दलहरुको प्रवृत्तिमा सुधार गर्ने, दलहरुमा हुने पद, पैसा, कुर्सीका लागि हुने रस्साकस्सीलाई आफ्नो प्राथमिकता बनाउनु भन्दा राजनीतिक विचार, देशको अर्थतन्त्र बलियो बनाउने, सामाजिक कुरीति र अन्धविश्वासलाई जरैदेखि उखेल्ने विगुल फुक्ने काम स्वतन्त्र उम्मेदवारले गरिरहेका छन् । ठूला दलहरुको अकर्मण्यता र दलीय स्वार्थको विरुद्ध दरो झापड हो, स्वतन्त्र उम्मेदवारी ।

हुन त दलीय झुण्डमा एकजनाले जितेर के पो गर्न सक्छ र भन्ने सोच पनि आउन सक्छ । दलहरुको सिण्डीकेट भएको ठाउँमा एकजनाले जितेर उसलाई काम गर्नै वातावरण बन्न सक्दैन भन्ने पनि छ । दलीय प्रणालीबाट जितेर संसदीय प्रणालीभित्र आबद्ध संसदहरुमा पनि संसदीय गरिमामा ठेस लाग्ने थुप्रै कामकारबाही भएका छन् । संसदमा बेलाबेलामा सांसदहरु जो पाखुरा बजारेर मारुला र काटुलाझैँ गर्दै कुर्सी बजारेका दृश्य हामीले देखे–भोगेका छौँ । अहिले सांसदका त्यस्ता हर्कत देखेर आम जनताले कस्तो पात्रलाई अमूल्य मत हालेर जिताइएछ भनी पश्चाताप गरिरहेका छन् ।

एउटा सांसद चाहे दलबाट चाहे गैरदलीय रुपमा विजयी भएर आयो भने उसले पार्टी निर्दैशनबाहेक पनि गर्न सक्ने थुप्रै कामहरु हुन्छन् । दलीय स्ट्याम्प्याड मात्र होइनन्, सांसद । चुनाव जितेर गएपछि त्यो सांसदले देश र जनताका लागि के–कस्तो राम्रो काम गर्ने, मूल्यांकन गर्न जरुरी छ । यदि उल्लेख्य काम गर्न सकेका छैनन् भने अबको चुनावमा ती उम्मेदवारलाई सजिलै पाखा लगाउन सकिन्छ । सही विवेकको प्रयोग गरी सतपात्रको छनोट गर्ने अवसर नै निर्वाचन हो ।

प्रतिनिधिसभा नियमावली २०७५ को दफा ९९ ले प्रतिनिधिसभामा निर्वाचित कुनै पनि सदस्यले विधेयक प्रस्तुत गर्न सक्ने अधिकार प्रदान गरेको छ । कुनै पनि नीति संसदमा छलफल भएर पास हुनु अघिको चरणमा त्यसलाई विधेयक भनिन्छ । एक संसदले दर्ता गर्ने विधेयकलाई गैरसरकारी विधेयक भनिन्छ । मतदाताले आफ्नो प्रतिनिधित्व गरेर जाने संसदले कुनै विधेयक बनाए कि बनाएनन् भन्ने आम मतदाताले सोधखोज गर्न जरुरी छ ।

असल सांसदले कसैको प्रलोभनमा नपरेर संसदमा दत्तचित्त भएर मतदाताको आवाज बोल्न सक्नुपर्छ । जनताको म्याण्डेट बोकेर आएको सांसदको पहिलो प्राथमिकतामा जनता नै पर्नुपर्छ । लोकतान्त्रिक शासन प्रणालीमा राज्यशक्तिको स्रोत जनतालाई नै मानेको छ । स्वतन्त्र उम्मेदवार हुनु भनेको संसदमा पूर्ण वाक स्वतन्त्रता प्राप्त गर्नु हो । दलको तर्फबाट निर्वाचित सांसदले आफ्नो विवेकलाई प्रयोग गर्न पाउँदैनन् । दलको कडा निर्देशनका अघि छुडो टेक्नैपर्छ । वाकस्वतन्त्रताको बलिदानी दिनुपरेको छ भने स्वतन्त्र उम्मेदवारलाई यस्तो वाध्यता रहँदैन ।

जति नै असल मानिएका ठानिएका भए पनि पार्टीभन्दा बाहिरका व्यक्तिको भूमिका संसदमा निर्णायक हुँदैन, त्यसो भएको हुनाले दलीय प्रणाली मजबुत भएको हो । अवसरवादीहरु जता मह उतै माहुरी भनेझैँ कहिले कांग्रेस कहिले साझा, कहिले विवेकशील, कहिले एमाले, कहिले माओवादी बन्दै अहिले स्वतन्त्र भनेर जसरी भए पनि पद र सत्तामा पुग्ने जाल फिजिरहन्छन् । यसमा आम मतदाता निकै सतर्क र सजग भइ आफ्नो निर्णायक मतको प्रयोग गर्नुपर्छ । अवसरवादीलाई बेलैमा पाखा लगाइदिन सक्नुपर्छ । यदि चरित्रवान्, उर्जाशील, होनहार व्यक्ति स्वतन्त्र रुपमा उम्मेदवार भएका छन् भने गैरदलीय भए पनि दलीय वृत्तबाट माथि उठेर देशका लागि केही गर्ने चाहना बोकेकालाई अवस्य अवसर दिनुपर्छ ।

स्वतन्त्र उम्मेदवारी धमाधम देखापर्नुको प्रमुख कारण दलहरुको अकर्मण्यता हो भन्ने प्रमुख दलका नेताहरुले बुझेर बेलैमा सच्चिन जरुरी छ । दलहरु कुर्सीमोह, पद, पैसा र प्रतिष्ठाका लागि भएको रस्साकस्सीको विद्रोहको स्वर हो स्वतन्त्र । स्वतन्त्र उम्मेदवार र विजेताको चर्चा चुलिँदा राजनीतिक दलको साख घटेको छ । अहिलेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको चाखलाग्दो उदय भएको छ । ठूला दलका गलत हर्कतका कारण पनि जनताले स्वतन्त्र उम्मेदवारलाई जनमत दिएका छन् ।

दलीय प्रतिस्पर्धाका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार र विजेताको चर्चा बढी हुनाका कारणहरु थुप्रै छन् । राजनीतिक दलका निष्ठावान्, इमानदार र नैतिक व्यक्तिले टिकट नपाउनु, राजनीतिक दलका शीर्ष नेताले राम्रा मान्छेभन्दा पनि आफ्ना मान्छे छोरी, श्रीमती, साला, बुहारी आदिलाई टिकट दिनु, राजनीतिक दलमा धनवाद र डनवादले पकड जमाउनु, राजनीतिक अस्थिरता र सत्ता लोलुपता नै हुन् ।