बालविकासमा स्वागत एवं दशै मिलन

गोरक्ष समाचारदाता
दाङ, १० असोज । बालविकास माध्यामिक विद्यालय घोराही–१४ ले स्वागत तथा दशैँमिलन कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गरेका हुन् ।

विद्यालयमा गठन गरिएको सिर्जनशील बालक्लवका संयोजक कवीर झाँक्री मगरको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यता एवम् घोराही–१४ का वडा सदस्य टीका श्रेष्ठ मोहनको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । साथै विद्यालयको मावि तहका विद्याथीहरूसँग दशैँमिलन कार्यक्रम दिवासत्रमा पनि गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा विद्यार्थीले नृत्य, गीतलगायत सांस्कृतिक प्रस्तुती राखेका थिए । स्वागत तथा दशैँमिलन कार्यक्रममा बोल्ने वाक्ताहरूले जीवनलाई सफल बनाउन किताबी ज्ञानसँगै व्यावहारिक ज्ञान महत्वपूर्ण हुने बताएका थिए । अलस आचरण र सकारात्मक क्रियाकलाप गर्दै संस्कारयुक्त शिक्षा हासिल गर्नु आजको आवश्यकता भएको बताएका थिए । शिअसंघका अध्यक्ष सुरेश बुढा, शिक्षक तथा विद्याथीले मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक श्रीधर पोखरेलको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यार्थी हेलिसा घर्ती र शरद महतराले गरेका थिए ।