मन्त्री भन्छन : पैसाको अभावले काम रोकिन्न, डिजी भन्छन : पैंसा नभए हुन्न

  •   
  •  

खेमराज रिजाल
तुलसीपुर, ७ असोज । निर्वाचनको समय नजिकिंदै गर्दा तोरी वारीमा चलेको टरीगाउ एयरपोर्टको पनि चर्चा परीचर्चा सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाले जिल्लाका दश पालिका र छिमेकि जिल्लाका पालिकालाइ समेत निम्तो गरेर एउटा खाका बनाएको भोलिपल्ट यहाबाट प्रतिनिधित्व गर्ने शहरी विकाश मन्त्री र स्वास्थ्य राज्य मन्त्री को समन्वयमा पर्यन मन्त्रीलाइ समेत एयरपोर्टमा झिकाएर एयरपोर्ट चर्चा परीचर्चा व्यापक बन्यो ।

खासगरी यहांबाट निर्वाचित मन्त्री मेटमणी चौधरी र हिराचन्द केसीको पहलमा पर्यटन तथा नागरीक उडुययन मन्त्री जिवनप्रेम श्रेष्ठ तथा नागरीक उड्ययन प्राधिकरणका डिजि प्रदिप अधिकारी समेतको टोलि विहिवार विहानै जहाज रिजर्भ गरी टरीगाउ विमानस्थलमा आएको छ । मन्त्री त्रय सहित डिजि र पाइलट सहितले स्थलगत अनुगमन पनि गरे । एयरपोर्टमै कोणसभा गरे ।

कोणसभामा पर्यटन मन्त्री तथा शहरी विकाश मन्त्रीले अव एयरपोर्ट विस्तारकालागी बजेटको कुनै समस्या हुने छैन भनिरहंदा प्राधिकरणका डिजि प्रदिप अधिकारीले भने यो विमानस्थल स्तरोन्नती फलामका चिउरा जस्तै अभिव्यक्ति थिए । उनले बोलेको प्राविधिक भाषामा यो विमानस्थललाइ रनवे बढाउनकालागी कम्तिमा पनि चार अर्व पैसा लाग्ने र त्यो पैसा अहिले राज्यले विनियोजन गर्ने अवस्था नरहेको पनि अभिव्यक्ति दिए ।

किन,हो कुन्नी प्रदिप इन्जिनियरलेनै यो एयरपोर्ट बनाएका हुन् । त्यो वेलानै उनले अव थप विस्तार हुन नसक्ने गरी अक्षांश देसान्तर निर्धाैरण गरे भन्ने दाङबासीको आरोप पनि छ । जहिल्यै पनि उनले तुलसीपुरको विमानस्थलको रनवे बढाउन थुप्रै प्राविधिक कटिन्याइ भएको बताइरहेका छन् । यसलाइ चिर्ने अर्को प्राँविधिक आउनु पर्छ वा डिजि प्रदिपले अवकाश लिनु पर्छ अन्यथा एयरपोर्टको स्तरोन्नती हुन्न भन्नेमा पनि दंगालिहरुको विश्वास छ ।

एकातर्फका सरकारी मन्त्रीहरु आइरहंदा प्रतिपक्षि दलका जनप्रतिनिधि र नेताहरु पनि एयरपोर्टको कार्यक्रममा सहभागी भएनन् । यसो हुनुमा नेकपा एमालेक महासचिव शंकर पोख्रेलको सिन्डकेट रहेको पनि सहभागिले कानेखुसी गरीरहेका थिए । किनकि दुइ महिना अघि तुलसीपुर आउंदा पनि एमाले महासचिव शंकर पोख्रेलले तुलसीपुरको एयरपोर्टको स्तरोन्नतीको संभावना झिनो भएको बताएका थिए ।

शंकर पोख्रेलको अभिव्यक्ति र डिजि प्रदिपको प्रबृत्तिले मेल खाएको छ । यसको अर्थ राजनितिक एकता, सहमती र सहकार्य नभएसम्म तुलसीपुरको विमानस्थल स्तरोन्नती आकाशको फल जस्तै हो । अर्थात एयरपोर्ट चुनावी प्रपोगण्डा जस्तै बनेको छ । जव चुनाव नजिकिन्छ, तव मात्र टरीगाउ विमानस्थल हाम्रो टिमले गर्छ भनेर पार्टिका नेताहरु कुर्लने गरेका छन् । जसलाइ नागरीकहरुले राम्ररी मुल्यांकन पनि गरेका छन् ।

टरीगाउ विमानस्थलमै आयोजना भएको संक्षिप्त कोणसभामा संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री जीवनराम श्रेष्ठले दाङ एयरपोर्टमा ७२ सिटे हवाज बस्न सक्नेगरि धावनमार्ग बिस्तार गरिने बताएका छन् । बिहीबार दाङस्थित टरिगाउँ एयरपोर्टको स्थलगत निरीक्षणपछि मन्त्री श्रेष्ठले एयरपोर्ट बिस्तारका लागि राम्रै सम्भावना आफूले देखेको प्रतिक्रिया दिए । उनले नयां सिराबाट दशै लगत्तै स्थलगत प्राविधिक सर्वेक्षण हुने र चांडै डिपिआर बनाएर एयरपोर्ट एयरपोर्टलाइ स्तरोन्नती गर्ने बताए ।

दाङ एयरपोर्टको स्तरोन्नती गरी ७२ सिट क्षमताको प्लेन ल्याण्ड गर्न सक्ने बनाउन तत्काल पहल हुने उनले बताए । निरीक्षणपछि केही सर्भे गर्नुपर्ने आवश्यकता देखिएको भन्दै उनले दसैंपछि सर्भेका लागि प्राविधिक टोली खटाउले बाचा गरे । ‘अहिलेको रनवे बढाउन उपयुक्त लोकेसन कहाँ हुन्छ त्यसको सर्भे गर्न जरूरी देखियो,’ उनले भने, ‘मोटामोटी एक खालको सर्भे पहिल्यै गरिएको भए पनि अब डिटेल सर्भे गरी के कति कहाँको जग्गा आवश्यक पर्छ त्यो हेर्नुछ ।’

एयरपोर्ट आसपासमा सार्वजनिक जग्गा र मुआब्जा दिनुपर्ने पर्ने जग्गाबारे डिटेलमा अध्ययन गर्न प्राविधिक खटाउने उनले जानकारी दिए । दसैं लगतै सर्भेको काम सुरू हुने र त्यसपछि बजेट सुनिश्चितता गरि धावन मार्ग विस्तारको काम अगाडि बढ्ने मन्त्री श्रेष्ठले बताए । ‘हामी दाङ एयरपोर्ट बनाउने भनेर सकारात्मक सोचका साथ केन्द्रबाट सोझै अवलोकनका लागि दाङ आएका हौं,’ उनले भने, ‘त्यसकारण यो एयरपोर्ट बन्नैपर्छ, अब हामी ७२ सिटे जहाज अवतरण गर्ने गरि धावनमार्ग बिस्तारमा लाग्नेछौं ।’

तत्कालिन पर्यटन मन्त्री जीवनबहादुर शाहीको पालामा करिब एक महिना टरिगाउँ एयरपोर्ट बसेर प्राबिधिक टोलीले सर्भे गरेको थियो । स्थलगत निरीक्षण भन्दा पहिले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले दाङ जिल्ला एसियाकै ठूलो भ्याली भएको हुँदा तिब्र सहरीकरण वा वस्ती विकासको अवस्थालाई नियालेर सरकारले पनि दाङ एयरपोर्ट विस्तारलाई प्राथमिकतामा राखेको बताएका थिए ।

देशको साधन स्रोतलाई सबै ठाउँमा समानुपातिक रूपमा वितरण गरिने नीति अहिलेको सरकारले लिएको श्रेष्ठले तर्क गरे । ‘पहिलेको सरकारले जस्तो सबै बजेट एकै ठाउँमा झापामा मात्रै खन्याउनुपर्छ भन्ने सोच हाम्रो छैन,’ उनले अगाडि भने, ‘यहीँ ठाउँबाट जितेर मुख्यमन्त्री बनेका शंकर पोखरेलले दाङ एयरपोर्टको विकासका लागि केही नगरेको देख्दा आश्चर्य लाग्यो ।’

‘२०१७ सालदेखि नियमित सञ्चालनमा आएको एयरपोर्टको स्तरवृद्धि नहुँदा तपाईँहरू निराश हुनु स्वभाविक हो,’ उनले भने, ‘अब तपाईँहरू धेरै निराश हुनु पर्दैन । म काठमाडौं फर्केर आजै अर्थमन्त्रीलाई भेटी बजेटको सुनिश्चितता गराउँछु ।’ कार्यक्रमलाई सम्बोधन गर्दै शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङको टरिगाउँ एयरपोर्ट बनाउने सवालमा सबैले सकारात्मक सोचका साथ अगाडि बढ्न जरूरी रहेको बताए । ‘२०११ सालमा बनेको एयरपोर्ट पछिल्लो समय झन खस्किदै जाँदा लज्जाबोध भइरहेको छ,’ उनले भने, ‘म काठमाडौं जाँदा आउँदा बाँके वा भैरहवाबाट यात्रा गर्नुपर्दा निकै पीडा बोध हुनेगर्छ ।’

‘हामीले दाङका कस्ता नेता जन्माएका रहेछौं र हामी कस्ता नेता बन्यौं,’ उनले भने, ‘त्यति पुरानो एयरपोर्ट अहिले आउँदा झनै कमजोर अवस्थामा पुगेको छ। अब यो एयरपोर्ट कुनै पनि मानेमा बनाउन जरूरी छ ।’ उनले पनि ७२ सिटे प्लेन बस्न सक्ने गरि टरिगाउँ एयपोर्टको धावनमार्ग बिस्तारको काम अगाडि बढ्ने र त्यसका लागि पैंसाको अभाव हुन नदिने बताएका थिए। चौधरी दाङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

एयरपोर्ट भएकै क्षेत्र दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा स्वास्थ्य राज्य मन्त्री हिराचन्द्र केसीले एयरपोर्टको विस्तारका लागि सबै सकारात्मक बन्न आवश्यक रहेको बताए । उनले आफू एयरपोर्टमा राजनीति गर्न नआएको र एयरपोर्टलाई भोट बैंक बनाउन नआएको स्पष्ट पारे । ‘मेरो सवालमा निर्वाचनमा उठ्ने÷नउठ्ने अझैं पार्टीले निश्चित गरेको छैन,’ उनले भने, ‘मलाई एयरपोर्टको सेन्टीमेन्ट देखाएर भोट बटुल्न आयो भन्ने नठान्नु होला । । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर तथा दाङ एयरपोर्ट सहयोग समितिकी संयोजक श्यानी चौधरीले राज्यको सहयोग पाए ३ महिना भित्रै आफैं खटेर एयरपोर्टको धावनमार्ग बिस्तार गरेर देखाइदिने बताइन् ।