Goraksha

National Daily

सम्पादकीय : साङ्केतिक भाषालाई प्रोत्साहन गर

आज अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस मनाइरहँदा यहाँका साङ्केतिक भाषा प्रयोग हुनुपर्ने समुदायमा थुप्रै समस्या छन् । भाषागत समस्याका कारण उनीहरुले रोजीरोटी पाउन सकेका छैनन् । राजनीतिको मूलप्रवाहमा आउनसकेका छैनन् । उचित शिक्षा–दीक्षाको व्यवस्थापन हुनसकेको छैन । उनीहरु समाजमा अपहेलित हुनेक्रम रोकिएको छैन ।

शिक्षा–दीक्षाको समस्या छ । सामाजिक सम्मान र सद्भाव उनीहरुले पाउनसकेका छैनन् । अपाङ्गताका प्रकारमध्ये सुनाइ र बोलाईसम्बन्धी अपाङ्गता भएका व्यक्तिलाई बहिरा भनिन्छ । बहिरा अपाङ्गता भएका व्यक्तिलाई आफ्ना विचार सम्प्रेषण गर्नका लागि आवश्यक पर्ने भाषा नै साङ्केतिक भाषा हो तर राज्यले उनीहरुका विषयमा अर्थपूर्ण सम्बोधन गर्नसकेको छैन ।

आज २३ सेप्टेम्बर अर्थात् अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवस । यो दिवस विश्वभर एकसाथ मनाइन्छ । सन् २०१७ को युएनको महासभाले सेप्टेम्बर २३ लाई अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसका रुपमा मनाउने घोषणा गरेको हो । सोही घोषणापछि आजको दिनलाई भव्य रुपमा मनाउन थालिएको हो ।

विश्वभरि मनाइने यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ तर पनि यहाँका संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु समेत यी समुदायलाई राजनीतिको मूलप्रवाहमा समाहित गर्न सबै रुपले सकारात्मक देखिनसकेका छैनन् । भाषागत समस्याका कारण उनीहरुले न्याय पाउनसकेका छैनन्, अवसरबाट वञ्चित छन् । शिक्षा–दीक्षाबाट समेत उनीहरु वञ्चित छन् । यही कारण उनीहरुलाई समाजले हेर्ने दृष्टिकोण पनि पृथक छ ।

‘साङ्केतिक भाषाले हामीलाई एकताबद्ध गर्छ’, भन्ने मूल नाराका साथ यो वर्ष दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघकै आह्वानमा यो दिवस विश्वभरि नै मनाइन्छ । विभिन्न बहिरा संघ, राष्ट्रिय बहिरा महासंघले सप्ताहव्यापी कार्यक्रम गरी दिवस मनाउँदै छन् । साङ्केतिक भाषामा शिक्षा, बहिरा व्यक्तिहरुका लागि आर्थिक अवसरहरु, सबैका लागि स्वास्थ्य, सङ्कटको समयमा बहिरा नागरिकको सुरक्षा, साङ्केतिक भाषाले हामीलाई एकताबद्ध गर्छ, अन्तरछेदीय बहिरा समुदाय, भोलिका लागि बहिरा समुदायको नेतृत्वजस्ता नाराका साथा सेप्टेम्बर १९ देखि सेप्टेम्बर २५ सम्म सप्ताहव्यापी कार्यक्रम गरिँदैछ ।

दाङमा पनि आज ‘साङकेतिक भाषाले हामीलाई एकताबद्ध गर्छ’, भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । विशेष गरी साङ्केतिक भाषा र शिक्षालाई जोडेर विभिन्न निकायसँग छलफल गरिनेछ तर सारमा साङ्केतिक भाषाको अझै पनि उत्तिकै समस्या छ । यसलाई प्रबद्र्धन र परिमार्जन गर्न यो दिवसले सन्देश देओस् भन्ने हाम्रो मान्यता हो । उनीहरु पनि राष्ट्रका नागरिक हुन् । उनीहरुले पनि समान अवसर खोजिरहेका छन् । राज्यले साङ्केतिक भाषालाई प्रबद्र्धन गरी यी भाषीहरुलाई समाजको मूल प्रवाहमा ल्याओस् भन्ने शुभकामना ।