गुणस्तरीय शिक्षाका लागि सवैले प्रयास गरौ : अध्यक्ष गिरी

प्रमोद आचार्य
दंगीशरण,२९ भदौ । दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बालबालिकालाई गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउनुपर्ने बताएका छन् ।

५८ बाल दिवसका अवसरमा श्री सिद्ध पृथ्वी जनता माध्यामिक विद्यालय श्रीगाउँले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष गिरीले सामुदायिक विद्यालयको शैक्षिक सुधारले योग्य, सक्षम र सामाजका लागि योगदान दिने व्यक्ति उत्पादन हुने बताएका हुन । गाउँपालिका अध्यक्ष गिरीले साुमदायिक सुधारका लागि राज्यले ठुलो लगानी गरेको भन्दै त्यस अनुसारको शैक्षिक सुधार भए बालबालिकाहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्ने बताए ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि हरेक विद्यालयका शिक्षकहरुले विशेष ध्यान दिनुपर्ने बताए । ‘सरकारले सामुदायिक विद्यालयमा थुप्रै लगानी गरेको छ । त्यस अनुसारको शिक्षा हुन सकेको छैन’,अध्यक्ष गिरीले भने,‘शैक्षिक सुधारका लागि विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुले ध्यादिन आवश्यक छ ।’

साथै उनले सामुदायिक विद्यालयप्रति अभिभावकहरुको विश्वास बढाउँदै विद्यार्थीहरुको आकर्षण गराउने गरि लाग्न शिक्षकहरुलाई निर्देशन दिएका थिए । कुनै बेला सिद्ध पृथ्वी जनता उच्च माध्यामिक विद्यालय श्रीगाउँमा विद्यार्थी भर्ना लालाहित हुने गरेको स्मरण गर्दै अध्यक्ष गिरीले विद्यालयको त्यो गौरवलाई फर्काउन सवैले ध्यानदिनुपर्ने बताए । साथै त्यसका लागि आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताएका थिए ।

‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मुल नारासहित साथ विद्यालयले आयोजना गरेको कार्यक्रममा बादविवाद प्रतियोगिता समेत भएको थियो । साथै विद्यालयमा स्थापना भएका २ वटा अक्षकोषबाट शैक्षिक सामाग्री बितरण गरिएको थियो । नियमनाथ–पार्वती अक्ष्यकोष र टिकाबहादुर डाँगी अक्ष्यकोषबाट बिपन्न, जेहेन्दार र उत्कृष्ट अंक ल्याउने १५ जना विद्यार्थीहरुलाई प्रति विद्यार्थी नगद एक हजार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

अक्ष्यकोषका संस्थापक नियमनाथ योगीका छोरीहरु बृन्दा योगी, लक्ष्मी योगी र दिपा योगीले पुरस्कार वितरण गरेका थिए । त्यसैगरी टिकाबहादुर डाँगी अक्ष्यकोषका सस्थापक छोरा नरेश डाँगीले वितरण गरेका थिए । साथै उनीहरुले विद्यालयका लागि आफ्नो अभिभावकहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनहरुमा समेत विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि सहयोग गर्ने बताएका थिए ।

बाल दिवसका अबसरमा विद्यालयमा सरुवा भएर आएका र नयाँ नियुक्त भएका शिक्षकहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष लिलाधर वलीको अध्यक्ष तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रम्ख आतिथ्यतामा भएको कार्यक्रममा अक्ष्यकोष स्थापनाकर्ताहरु बृन्दा योगी ,लक्ष्मी योगी, दिपा योगी, नरेश डाँगीलगायतले बोलेका थिए ।

विद्यालयका प्रधानाध्यापक हर्कबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक गोबिन्द आचार्यले गरेका थिए । बाल दिवस सम्बन्धि प्लेकार्डसहित उच्च माध्यामिक विद्यालय श्रीगाउँबाट निस्केको ¥यालीले बागर बजार परिक्रमा गरेर कार्यक्रमस्थल पुगेको थियो ।