बाख्रापालनले बदलिएको जीवन …

  •   
  •  

लिलाधर वली
दाङ, २९  भदौ ।लमही नगरपालिका–९ रिहार निवासी हुमा वलीले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेको आधादशक भएको छ । त्यसअघि परम्परागत रूपमा बाख्रापालन गर्दै आएकी वलीले विगत पाँच वर्षदेखि रिहारमा व्यवस्थित खोर निर्माण गरेर बाख्रापालनमा लागेकी छिन् ।

गाउँमा सहकारी सस्था स्थापनासँगै सहकारी संस्थाले बाख्रापालनका लागि ऋणसँगै तालिम र पालेका खसी–बोकाहरू बजारीकरणमा समेत सहयोग गर्न थालेपछि उनले व्यावसायिक रूपमा बाख्रापालन गर्दै आएकी छिन् । मानबहादुर वली बाख्रापालन फर्म दर्ता गरेर बाख्रा पाल्दै आएकी वलीको फर्ममा अहिले साना–ठूला गरेर ५५ वटा बाख्रा, खसी तथा बोका रहेका छन् । ‘अहिले करिब ५५–६० वटाहरू खसी तथा बाख्राहरू रहेका छन्’, वलीले भनिन्, ‘परम्परागत रूपमाभन्दा व्यावसायिक रूपमा बाख्रापालन गर्दा फाइदा हुने गरेको छ ।’

गाउँघरमै व्यावसायिक रूपमा गरिएको बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका श्रीमान समेत फर्किएर अहिले बाख्रापालन व्यवसायमा सहयोग गर्दै आएको उनले बताइन् । ‘व्यावसायिक रूपमा बाख्रापालन नगर्दा घरमा आम्दानीको स्रोत थिएन । जसले गर्दा घरखर्च जुटाउनका लागि श्रीमान विदेश जानुपर्ने बाध्यता थियो’, उनले भनिन्, ‘तर व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि बाख्रापालनबाट पनि राम्रो आम्दानी हुनथालेको छ । अहिले श्रीमान विदेश जान छोडेर बाख्रापालनमा लाग्नुभएको छ ।’ उनले बाख्रापालनका लागि करिब १५ लाख रूपैयाँ लगानी गरेको समेत बताइन् ।

यसैगरी रिहारकै गोमा घर्तीले मगरले समेत व्यावसायिक बाख्रापालनबाट राम्रो आम्दानी गर्दै आएकी छिन् । कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध भएकी घर्तीले पनि ५० बढी बाख्रापालन गरेको बताइन् । परम्परागत रूपमा बाख्रापालन गर्दै आएकी घर्तीले सहकारी संस्थामा लागेपछि बाख्रापालनका लागि तालिम, व्यवसायका लागि ऋणसँगै उत्पादन भएका खसी–बोकाहरू बजारीकरणमा सहकारी संस्थाले सहयोग गर्न थालेपछि व्यावसायिक रूपमा बाख्रापालनमा लागेको बताइन् ।

‘सहकारीले महिलाहरूलाई जोड्ने मात्रै काम गरेको छैन । आर्थिक र सामाजिक रूपमा बलियो बनाउँदै अघि बढ्न समेत सहयोग गरेको छ’, घर्तीले भनिन्, ‘जसले गर्दा पहिले परम्परागत रूपमा बाख्रापालन गर्ने महिलाहरू पछिल्लो समय व्यावसायिक बन्दै गएका छन् ।’ हुमा र गोमा मात्रै होइन हेफर इन्टरनेशलन र ग्रामीण उत्थान केन्द्रद्वारा सञ्चालिन पशुवस्तुको मूल्य शृंखलामा आधारित साना किसानहरूको संस्था सरलीकरण परियोजना (एसएलभिसी) परियोजनामार्फत धेरै महिलाहरू उद्यमी बनेका छन् । उनीहरू पछिल्लो समय सहकारीमा आबद्ध भएर मासिक बचत गर्ने, आपूmलाई आवश्यक रकम सहकारीबाट ल्याउनेदेखि कृषिका बारेमा सहकारीमार्फत् जानकारी समेत ल्याउन थालेका छन् ।

व्यावसायिक रूपमा बाख्रापालन गरेका महिलाहरूले घाँसखेती समेत गर्ने गरेका छन् । २०७० सालमा स्थापना भएको सहकारी संस्थामा आबद्ध भएका १ हजार ३ सय ३५ महिलामध्ये ६ सय बढी महिला व्यावसायिक बाख्रापालनमा जोडिएको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाले बताइन् । उनीहरूले सहकारीमार्फत राम्रो आर्थिक आम्दानी गर्ने गरेको बताइन् । ‘कुनै बेला सहकारीमा लागेपछि डुबिन्छ भन्ने मानिसहरू अहिले आबद्ध भएर बचतमा लाग्नुभएको छ ।

सहकारीमा आबद्ध भएका आधा महिलाहरू बाख्रापालनमा हुनुहुन्छ’, अध्यक्ष थापाले भनिन्, ‘व्यवसायी बाख्रापालनमा लाग्नुभएका महिला दिदीबहिनीहरूले राम्रो आम्दानी समेत गरिरहनुभएको छ ।’ अध्यक्ष थापाले बाख्रापालनमा लाग्न चाहनेलाई सहकारीले तालिमसँगै ऋण र उनीहरूले उत्पादन गरेका बाख्राहरूको बजारीकरण समेत गर्ने गरेको बताइन् । किसानहरूले पालन गरेका बाख्रा जिउँदो करिब ३ सय २५ र खसीहरू जिउँदो प्रतिकेजी ५ सय ३० देखि ४०÷५० रूपैयाँसम्म विक्री हुनेगरेका छन् ।

२०६८ सालमा महिला समूहका रूपमा रहेको उक्त समूह २०७० सालमा सहकारी संस्थाका रूपमा स्थापना भएको थियो । हाल सहकारी संस्थाको कूल पुँजी ४ करोड ७४ हजार ८ सय ६९ रूपैयाँ छ । शेयर पुँजी १९ लाख ५५ हजार ९ सय रहेको छ । २ करोड ४३ लाख ४८ हजार ७८ रूपैयाँ बचत रहेको सहकारी संस्थाले २ करोड ७० लाख ४० हजार ८ सय ९० रूपैयाँ ऋण लगानी गरेको सहकारी सँस्थाका व्यवस्थापक हेमनारायण चौधरीले जानकारी दिएका छन् । ११ जना सञ्चालक समिति सदस्य रहेको सहकारी संस्थाले पाँच जनालाई रोजगारी दिएको छ ।

दिदीबहिनीको कामबाट उत्साहित छु : मार्सिया

यसैबीच हेफर इन्टरनेशनल मुख्य कार्यालय अमेरिकाका प्रमुख लेखाअधिकृत मार्सिया रास्मुशेनले रिहारका महिला दिदीबहिनीहरूले गरेको कामबाट आफु उत्साहित भएको बताएकी छिन् । लमही नगरपालिका–९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाको प्रगति समीक्षा तथा अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै हेफर इन्टरनेशनल अमेरिकाका प्रमुख लेखाअधिकृत मार्सियाले महिलाहरू आफै नेतृत्वदायी तहमा रहेर आर्थिक र सामाजिक रूपमा सक्षम बन्नका लागि गरेको कामबाट आपूm उत्साहित भएको बताएकी हुन् ।

हरेक मानिसले आफ्नो र परिवारका लागि मिहिनेत गर्ने गरेको भन्दै उनले हेफर गरेको सानो सहयोगबाट महिलाहरूले ठूलो काम गरेर देखाएको बताइन् । ‘तपाईंहरूले आफ्नो परिवारका लागि दुःख गर्नुभएको छ । मैले पनि आफ्नो परिवारका लागि यो काम गरिरहेको छु’, कार्यक्रमकी प्रमुख अतिथि रहेकी मार्सियाले भनिन्, ‘तपाईलाई हेफरले सानो मद्दत गरेको हो तर तपाईँहरूले सानो सहयोगबाट ठूलो काम गरेर देखाउनुभयो, त्यसका लागि धेरै–धेरै धन्यवाद ।’

कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देवीमाया थापाको अध्यक्षामा कार्यक्रममा हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष महेन्द्रनाथ लोहनी र हेफर इन्टरनेशनल अमेरिकाका टेरी वायरले सहकारीले महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउनका लागि राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रममा ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानी चौधरीले महिलाहरूलाई आर्थिक विकास तथा सामाजिक रूपान्तरणका महत्वपूर्ण काम गरेको बताइन् । उनले ग्रामीण महिला उत्थान केन्द्र र हेफर इन्टरनेशनलले परियोजनामार्फत् समूह निर्माण गरेर सहकारीमार्पmत् सुरुमा महिलाहरूलाई सीप, ज्ञान र उत्साह दिँदै आर्थिक रूपमा सक्षम बनाउन भूमिका खेलेको बताइन् । उनले सानो सहयोगले अहिले धेरै महिलाहरूले आर्थिक रूपान्तरणका लागि उद्यमी बनेका देखाउन सफल भएको बताइन् ।

कार्यक्रममा सहकारी संस्थाका व्यवस्थापक हेमनारायण चौधरीले सहकारी संस्थाको आर्थिक विवरण, लेखापाल बेगम घर्तीले सहकारीले आर्थिक हिसाब–किताब राख्ने सफ्टवेयर र बजार सहजकर्ता बसन्ता बुढा मगरले सहकारी संस्थाले गरेका गतिविधिका बारेमा कार्यक्रममा जानकारी गराएका थिए । सहकारी संस्थाका सचिव आशा कुमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहकारी संस्थाका सञ्चालक समिति सदस्य गंगा घर्तीले गरेकी थिइन् ।