कुनै नेताले पनि एयरपोर्ट स्तरोन्नतिमा ल्याकत देखाएनन् : अध्यक्ष चालिसे
वि.सं. २०११ सालमै घाँसेमैदानबाट सञ्चालनमा आएको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरोन्नति सेतोहात्तीको दाँतजस्तै भएको छ । त्यतिबेलै रसियन कम्पनीको डकौडा विमान अवतरण गर्ने एयरपोर्ट कालोपत्रे त भयो, तर ठूला विमान अवतरण गर्न नसक्ने गरी प्राविधिक स्टीमेटमा ।
नेपाल वायुसेवा निगमले कहिले जहाज नभएको त कहिले यात्रु नभएको भन्दै एयरपोर्टलाई अस्थायीकरण गर्दै लग्यो । कहिले चल्ने त कहिले बन्द हुने नियतिले दाङबासीले नियमित हवाई सेवा पाउन सकिरहेका छैनन् । निगमले बन्द गराउन खोजेको विमानस्थललाई पुनः सञ्चालनमा ल्याउन तात्कालीन अवस्थामा सबैभन्दा पहिलो पहल तुलसीपुर उद्योग वाणिज्य संघले ग¥यो, निजी विमान कम्पनीमार्फत ।
त्यसपछि तुलसीपुर उपमहानगरपालिकाले निगममै पैसा धरौटी राखेर जहाज सञ्चालनको ग्यारेन्टी लियो । तर विमानस्थलमा ठूला जहाज बस्ने गरी स्तरोन्नति हुन सकेको छैन । विमानस्थलको स्तरोन्नति सेतोहात्तीको दाँतजस्तै भएको छ । यसै सन्दर्भमा गोरक्षकर्मी खेमराज रिजालले तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेसँग गरेको कुराकानीको सारसंक्षेप…
टरिगाउँ विमानस्थल स्तरोन्नतिका लागि तपाईले चलाएको खुत्रुके अभियान कहाँ पुग्यो ?
कहीँ पुग्या छैन, हामीसँगै छ अभियान । एयरपोर्ट स्तरोन्नतिका लागि सरकारले नै पहल गर्छ यसपटक बजेट विनियोजन हुन्छ । तयाईहरुले यो अभियान रोकिदिनुस् भनेर यहाँका सांसदज्यू तथा मन्त्रीज्युहरुबाट आश्वासन पाएपछि खुत्रुके अभियान रोकेका हौं । यस बीचमा हामी तीनपटक राजधानीमा पुगेर शहरी विकास मन्त्री मेटमणि चौधरी, नागरिक तथा पर्यटन मन्त्री, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई समेत भेटेर लिखित ज्ञापन–पत्र पनि बुझाइसकेका छौं ।
उहाँहरुबाट आश्वासन पनि पाएका मन्त्री नेताहरुको प्रतिक्षामा छौं, अहिले हामी । यदि उहाँहरुबाट फुक्लो आश्वासन मात्रै भयो भने हामीले पुनः खुत्रुके अभियानलाई निरन्तरता दिने छौं । तर शहरी विकास मन्त्रीज्युले आजै आउँछु, भोलि आउँछु भनेर हामीलाई शान्त पारिरहनुभएको छ ।
चालु आर्थिक बर्षको बजेट आउनुअघि नै सुरु भएको थियो, तपाईहरुको खुत्रुके अभियान, खै बजेट त ज्यादै न्यून प¥यो नि ?
हो, विमानस्थल स्तरोन्नतिका लागि १ करोड ९४ लाख रुपैयाँ परेको आधिकारिक हो । यो बजेट त एउटा सामान्य कल्भर्ट बनाउन पनि अपुग बजेट हो । यति थोरै बजेट किन हालियो भन्ने सोच्दा नै हाँस्यास्पद छ । यो अत्यन्तै लाजमर्दो कुरा हो । हामी यो बजेट देखेपछि पनि दुईपटक राजधानी गयौं ।
शहरी विकासमन्त्री मेटमणि चौधरीले २२ करोड रुपैयाँ शहरी विकास मन्त्रालयको आन्तरिक कोषबाट हाल्छु र चाँडै टेण्डर गरौंला भनेर यही आएर पनि बोल्नुभएको हो । हामीसँग रेकर्ड पनि छ । उहाँका स्वकीय सचिव भूमाण्डव केसीले पनि यो कुरा बताउनुभएको हो । तर यो बजेटको अझै पनि कतै पनि सुनिश्चितता भने देखिएको छैन । हामीलाई उहाँहरुले सुरुमा भदौ ८ गते आउँछौं भन्नुभो, कहिले १२ गते त कहिले भदौ २० गते आउँछौं भन्नुभो ।
मैले हिजो मात्रै पनि फलो गरेँ, चाँडै आएर टेण्डर गरौंला भन्नुभएको छ । अब केही दिनभित्रै निर्वाचन आचारसंहिता लाग्ने छ । त्योभन्दा अघि असोज ८ गतेसम्म पनि बजेट सुनिश्चित भएन भने यो आर्थिक बर्षमा एयरपोर्ट स्तरोन्नतिको काम हुनेछ जस्तो हामीलाई लागेको छैन । हेरौं केही दिन । त्यसपछि अर्को योजना बनाऔला ।
तपाईहरु धेरै बर्ष अघिदेखि एयरपोर्ट स्तरोन्नति अभियानमा जोडिनु भएको छ । स्तरोन्नति नहुनुमा तपाई सबैभन्दा बढी दोष कसलाई दिनुहुन्छ ?
मैले नाम काढेर यो र त्यो भन्न चाहन्न । नेपालगञ्ज र भैरहवाको राजनीतिक शक्तिको नाम पनि लिन चाहन्न, नागरिक उड्ययन प्राधिकरणको नेतृत्वको पनि नाम लिन चाहन्न् । समग्रमा भन्नुपर्दा यहाँको विमानस्थलको स्तरोन्नति हुन नसक्नुको प्रमुख कारकतत्व भनेका यहाँबाट प्रतिनिधित्व गर्ने सांसद र मन्त्रीहरु नै हुन् । यहाँका कुनैपनि राजनेताहरुले एयरपोर्ट स्तरोन्नतिका लागि अर्थपूर्ण रुपमा बजेट हाल्ने ल्याकत राखेनन् ।
टरिगाउँ विमानस्थलको स्तरोन्नति नभइरहेको अवस्थामा यहाँ त नारायणपुरमा एयरपोर्टको चर्चा चल्दैछ, प्रदेशको राजधानी गढवामा पनि एयरपोर्ट नभई नहुने होला । के एउटै जिल्लामा तीन–तीन वटा एयरपोर्ट दिन सक्ला सरकारले ?
त्यो मलाई थाहा छैन । मलाई यति मात्रै थाहा छ, चलिरहेको एयरपोर्ट बन्द गराएर नयाँ एयरपोर्टको परिकल्पना गर्नु गलत हो । यहाँको विमानस्थलको स्तरबृद्धिका लागि पर्याप्त सरकारी जग्गा छ । सामुदायिक वनको जग्गा सँगै सटेको छ । भू–वनावट पनि अब्बल छ । यति हुँदाहुँदै यो विमानस्थललाई बन्द गराएर अन्यत्रको परिकल्पना गरिन्छ भने त्यो दुस्साहस मात्रै हो ।
एउटा विमानस्थल निर्माणका लागि कम्तीमा पनि सय बिगाहाभन्दा बढी जग्गा राज्यले अधिग्रहण गर्न आवश्यक हुन्छ । नारायणपुर क्षेत्रमा यति धेरै जग्गा नागरिकबाट किन्ने हैसियत मैले देख्दिन । प्रदेश राजधानीमा एयरपोर्टको कुरा स्वाभाविक होला । त्यसका लागि प्रदेशको स्थायी मुकाममा राजधानी स्थापित हुनुप¥यो, सबै मन्त्रालय र कार्यालयहरु सर्नुप¥यो । त्यो त पछिको कुरा हो ।
अहिल्यै त सरकारले गर्न सक्ने भनेको त चलिरहेकै विमानस्थलको स्तरोन्नति हो । यहाँ कम्तीमा पनि ४२ सिटे जहाज अवतरण गर्नका लागि धावन मार्गको लम्बाई कम्तीमा तेह्र सय मिटर पु¥याउनु हो । यो तत्कालै सम्भव पनि छ । यदि आवश्यक परिहालेछ भने अन्य स्थानमा पनि विकल्प खोजौला हुन्न र ?
टरिगाउँ विमानस्थलको नियमित सञ्चालनका लागि विगत धेरै बर्षदेखि निरन्तर आन्दोलन गर्दै आउनुभएको छ । यो बर्ष पनि स्तरबृद्धिमा थप बजेट परेन भने के योजना बनाउनु भाछ ?
हो, तुलसीपुर उद्योग वाणिज्य संघले यहाँ नियमित हवाई सेवाका लागि धेरै प्रयास गर्दै आएको छ । नेपाल वायुसेवा निगमले यहाँ हवाई सेवा सञ्चालनमा हात झिके पनि उद्योग वाणिज्य संघकै पहलमा निजी विमान कम्पनीले सेवा दिन थाल्यो । हामीले टिकट समेत बेच्यौं । प्लेन नभरिएको अवस्थामा बाँकी सिटको पैसा हामी आफैले दिने शर्तमा पनि विमान सेवालाई निभ्न दिएका छैनौं ।
हो, हामी अब केही दिनका लागि मात्रै प्रतिक्षामा छौं । यदि बजेट परेन भने तुलसीपुर उपमहानगरपालिकाकै अगुवाइमा यहाँका दशवटा पालिका तथा छिमेकी रोल्पा र सल्यान जिल्लाका केही पालिकाहरुलाई समेत आमन्त्रण गरेर सर्वदलीय÷सर्वपक्षीय बैठक बस्ने योजना बनाएका छौं ।
प्रदेश सरकार र संघीय सरकारले केही नगरेको अवस्थामा टरिगाउँ विमानस्थलको रनवे बढाउन हामी स्थानीय सरकारबाटै पनि सहयोग जुटाएर चिरो भाट्ने र रनवेको लम्वाई बढाएर ठूला विमान चल्न सक्ने बनाउछौं । ठूला विमानले नियमित सेवा नदिएसम्म हाम्रो एयरपोर्ट आन्दोलन जारी रहने छ ।
अन्तमा थप केही भन्नुहुन्छ कि ?
हामीले थालेको हवाई आन्दोलन हामी व्यापारीका लागि मात्रै होइन । यहाँका बिरामीहरुका लागि पनि हो । राजनेता र कर्मचारीका लागि पनि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुका लागि पनि हो । अर्थात आम नागरिकका लागि हो । हामीले विमानसेवाका लागि अहिले नेपालगञ्ज र भैरहवा विमानस्थलसम्म निजी गाडी भाडामा लिनुपर्ने अवस्था छ ।
यसमा हाम्रो कम्तीमा पनि जाँदा आउँदा अतिरिक्त २० हजार रुपैयाँ र अतिरिक्त १० घण्टा समय खर्चनुपर्ने बाध्यता छ । यस अर्थमा हामीले थालेको यो महान अभियानमा यहाँका स्थानीय सरकारहरुले साथ दिनु हुनेछ । राजनीतिक दलहरुले साथ दिनुहुनेछ, नागरिक समाज एवं सञ्चार जगत्ले साथ दिनुहुनेछ भन्ने मैले पूर्ण विश्वास लिएको छु ।