कांग्रेसलाई ‘आफ्नै’को डर

  •   
  •  

विपी जयन्ती
अमरराज आचार्य
दाङ, २५ भदौ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले कांग्रेसलाई अन्य पार्टीभन्दा आफ्नैसँग डर भएको बताएका छन् । उनीहरुले पार्टीभित्र आफ्ना उम्मेदवार हराउने रोग मौलाएको समेत बताए । नेपाली कांग्रेस दाङले शुक्रवार गरेको १०९औँ विपी जयन्ती तथा जनताका साथमा कांग्रेस अभियानको पहिलो चरणको समापन कार्यक्रमका सहभागी नेता तथा कार्यकर्ताहरुले यस्तो समस्या राखेका हुन् ।

सहभागी नेता तथा कार्यकर्ताहरुले गुटबन्दीको असर तल्लो तहका कार्यकर्तासम्म परेको समेत बताए । कांग्रेसको गुटबन्दी तल्लो लेवलसम्म छ । त्यो आफ्नैलाई हराउन चुनावमा प्रयोग हुने गरेको समेत कार्यक्रममा बोल्ने वक्ताहरुले राखेका थिए । उनीहरुले त्यो प्रवृत्ति रोक्न सबै नेताहरुको जिम्मेवारी भएको भन्दै नेतृत्वलाई गम्भीर बन्न सुझाव दिए । ‘कांग्रेस मुलुकको सबैभन्दा पुरानो र जनाधार भएको पार्टी हो । तर आफैभित्रका समस्याले पार्टीलाई कमजोर बनाउँदै लगेको छ’ , नेविसंघ दाङका कार्यवहाहक अध्यक्ष टोपबहादुर बुढाथोकीले भने– ‘यो पार्टीभित्रको सबैभन्दा ठूलो रोग नै भएको छ ।’

कार्यक्रमका वक्ताहरुले नेतृत्व एकताबद्ध भएमा पार्टीलाई बलियो बनाए अगाडि बढाउन सकिने सुझाव राखेका थिए । जनताका हरेक सुख–दुःखमा पार्टीसँगै रहनुपर्नेमा जोड दिएका वक्ताहरुले विपी कोइरालाले देखाएको बाटोमा अगाडि बढ्नुपर्ने राय राखेका थिए । कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति शंकरप्रसाद डाँगीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा बोल्दै डा. दहितले मुलुकका लागि प्रजातन्त्र आवश्यक रहेको बताए ।

प्रजातन्त्र रहेमा मात्र नागरिक रहने र नागरिक रहेमा मात्र देशको समृद्धि हुने उनले बताए । वर्तमान अवस्थामा विपीको सान्दर्भिकता बढेको समेत उनले बताए । ‘विपीले देखेको समृद्धि समाज बनाउने जिम्मा कांग्रेसको काँधमा छ’, केन्द्रीय सदस्य चौधरीले भने– ‘देश समृद्धि भएमा नागरिक पनि समृद्ध हुन्छन् ।’ दाङमा कांग्रेसले थालेको पहिलो चरणको जनताको साथ कांग्रेस अभियान उत्साहपूर्ण रुपमा सम्पन्न भएको समेत उनले बताए । यस अभियान सफल बनाउन सबैको सहयोग रहेको समेत उनले बताए । नेपाली कांग्रेस सधै जनताको साथमा नै रहेको उनले बताए । जनताको सुख–दुःखमा नेपाली कांग्रेस रहने उनले बताए ।

कार्यक्रममा पूर्व सभापति मोहनलाल वली, नेपाली कांग्रेसका महासमिति सदस्यहरु भूपबहादुर डाँगी, कमलकिशोर घिमिरे, जानकीलाल बस्नेत, विमला योगी, शुष्मा गिरी, गोमा रावत महाधिवेशन प्रतिनिधिहरु बद्रीकुमार खड्का, गोपालराज शर्मा, देवा डाँगी, क्षेत्र नं १ का सभापति भेषराज पाण्डे, क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का, क्षेत्र नं. ३ का सभापति जगत खड्का, नेपाली कांग्रेसका क्षेत्र नं. ३ ख का सभापति खिमबहादुर वली, क्षेत्र नं. १ क का सभापति श्रील्त चौधरी, घोराही उपमहानगरपालिका सभापति तिलक रावत, गढवा गाउँपालिका सभापति किरण पौडेल, वडासभापतिको तर्फबाट पार्वती पुन, जिल्ला समन्वय समितिका निवर्तमान सदस्य लोका विश्वकर्मालगायतले मन्तव्य राखेका थिए ।

जिल्ला उपसभापति गिरिराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव बालिका लम्सालले गरेकी थिइन् । कार्यक्रममा क्षेत्र सभापतिीहरुले जनताका साथमा कांग्रेस अभियानमा भएका गतिविधिका बारेमा रिपोर्टिङ गरेका थिए ।

‘विपीको सिद्धान्त कांग्रेसले छोड्यो’

यसैबीच विपीको सिद्धान्तलाई कांग्रेसले छोड्दै गएकोप्रति सहभागीहरुले दुःख व्यक्त गरेका छन् । कांग्रेसले आफ्नो सिद्धान्त र विपीबाद छाडेको भन्दै कांगे्रेस यसरी नै गए कुनै दिन बत्ती बालेर खोज्नुपर्ने अवस्था आउने चेतावनीसमेत दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ इकाईले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले भने– ‘विपीले भनेजस्तै आफ्नो सिद्धान्त त्यागेर कोहीसँग पनि सम्झौता गर्नुहुँदैन भन्ने भनाई अहिले लागू भएको छ ।’ नेपाली कांग्रेस वडा इकाई समितिका सभापति नन्दलाल पुनको अध्यक्षता तथा नेपाली कांग्रेस क्षेत्र नं. ३ का सचिव शोभाखर सापकोटाको प्रमुख आतिथ्यमा भएको छलफल कार्यक्रममा सापकोटाले जनताको साथमा कांग्रेस भन्ने अभियानको पहिलो चरण समाप्त भएको भन्दै अब दोस्रो कार्यक्रम छिट्टै सार्वजनिक हुने बताए ।

उनले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता पनि भएको बताए । कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ चित्रा गिरीले नेपाली कांग्रेसको पक्षमा जनलहर ल्याउन सबै लाग्नुपर्ने बताइन् । कांग्रेसका नेता सुरेन्द्रबहादुर खड्काले केन्द्रीय निर्णयलाई सबैले मान्नुपर्ने भन्दै कांग्रेसले थालेका अभियानहरुलाई सबैले सफल पार्नुपर्ने बताए । सहभागीहरुले गठबन्धनको नाममा कांग्रेसले आफ्नो सिद्धान्त भुलेको बताएका थिए ।

क्षेत्रीय प्रतिनिधि मिना आचार्यले कांग्रेसलाई अन्य पार्टीभन्दा आफ्नैको डर भएको बताइन् । स्थानीय निर्वाचनमा गठबन्धन गर्दा पनि मेयर उपमेयर सबै हारेका छौँ’, उनले भनिन्– ‘कांग्र्रेसले नै कांग्रेसलाई भोट दिने गरेका छैनन् ।’ उनले निर्वाचनको बेलामात्र कांग्रेस जुर्मुराउने गरेको आरोप समेत लगाउन भ्याइन् । त्यस्तै कांग्रेसका युवा नेता कृष्णबहादुर खड्का क्षेत्रीले जनताको साथमा कांग्रेस अभियान सञ्चालन गरेको भन्दै कांग्रेसको नीति तथा कांग्रेसले गरेका कामहरु जनता माझ लैजानुपर्ने बताएका थिए ।

क्षेत्रीय प्रतिनिधि प्रणव खड्काले कांग्रेसलाई मंसिर ४ मा कसरी विजय गराउन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने बताए । कार्यक्रममा प्रदेश क का सदस्य शोभाराम बुढाथोकी, नगर सदस्य शोभाराम भण्डारी, वडा नं. ४ का वडासदस्यहरु नारायणी पुन, दामोदर न्यौपाने, कुमारी विकलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण इकाई सचिव तेजप्रसाद भुसालले गरेका थिए ।