दंगीशरण गाउँपालिकामा बार्षिक स्वास्थ्य समीक्षा

प्रमोद आचार्य
दंगीशरण, २५ भदौ । युएसएआइडीको साझेदारि, दंगीशरण गाउँपालिका स्वास्थ्य शाखा हेकुलीको आयोजनामा दंगीशरण गाउँपालिकाअन्तर्गतका स्वास्थ्य शाखाहरुको पालिका स्तरीय २ दिने बार्षिक समीक्षा कार्यक्रम दंगीशरण गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

दंगीशरण गाउँपालिकाका ७ वटै वडामा रहेका स्वास्थ्य शाखाहरुको बार्षिक प्रगति समीक्षा गरिएको छ । दुई दिनसम्म चलेको बार्षिक समीक्षा कार्यक्रममा प्रत्येक स्वास्थ्य शाखाका प्रमुखहरुले आफ्नो स्वास्थ्य संस्थाको विगतको अवस्था र अहिलेको अवस्था प्रस्तुत गर्दै गरेका उपलब्धि र भएका समस्याहरुको बारेमा जानकारी गराएका थिए । समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका तथ्यांक अधिकृत मेघराज पौडेल, स्वास्थ्यका लागि सक्षम प्रणालीका शशिदेब शाह, र निर्माया गुरुङको सहभागिता रहेको थियो ।

बार्षिक समीक्षा कार्यक्रमको सभापतित्वको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले स्वस्थ नागरिकको महत्वपूर्ण पक्ष भएकाले पनि समृद्ध दंगीशरणको नारालाई सार्थकता दिन हरेक नागरिकमा स्वास्थ्यको पहुँच पुग्न जरुरी रहेको बताए । स्वास्थ्य संस्थाहरुलाई चुस्तदुरुस्त राख्न र मापदण्ड अनुसारका औषधि र दिनुपर्ने सेवाहरुमा सक्रिय रहेर सेवा दिन स्वास्थ्य शाखा प्रमुखहरुलाई निर्देशनसमेत दिए ।

विशिष्ट अथितिको आसनबाट बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा खड्काले दंगीशरण गाउँपालिकाभित्रका स्वास्थ्य शाखाहरुले आफ्नो स्वास्थ्य शाखाभित्रको अवस्थालाई सन्तोषजनक अवस्थासम्म ल्याएकोप्रति स्वास्थ्यकर्मीहरुलाई धन्यवाद दिइन् । यस्तै स्वास्थ्य शाखाहरुका समस्याहरुलाई मासिकरुपमा जानकारी गराउँदै औषधि र सेवा अभाव हुन नदिन आग्रहसमेत गरिन् ।

यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर वलीले हरेक स्वास्थ्य शाखाका समस्या र प्रगति विवरण समीक्षा कार्यक्रममार्फत आफूले बुझेको र यसको समाधानका लागि आफूले पहल थाल्ने बताए । स्वास्थ्य शाखा प्रमुख राजेन्द्र हमालको स्वागत मन्तब्यवाट शुरु भएको बार्षिक समीक्षा कार्यक्रमको सहजीकरण गाउँपालिकाका हेल्थ असिस्टेन्ट प्रदीप योगीले गरेका थिए ।