शिवराज खनाल
लमही, २३ भदौ । लमही नगरपालिका वडा नं. ६ देउपुर निवासी शेषमणि अधिकारीको करिब एक धुर जग्गा लमही कोइलावास सडकमा पर्छ । त्यो जग्गा सडकमा परेवापत अधिकारीले करिब २ लाख ६ हजार रुपैयाँ मुआब्जा बुझिसकेका छन् । सडकमा पर्ने जग्गामा पुरानो घर छ । त्यो पुरानो घर भत्काएर नयाँ घर बनाउन चाहेका अधिकारीले नगरपालिकाले केही सडक क्षेत्र व्यवस्थित गर्छ कि भनेर कुरेर बसेको बताए ।
लमही कोइलावास हुलाकी राजमार्ग निर्माण गर्ने क्रममा ४३ करोड बढी रकम जग्गाको मुआब्जामा वितरण गरिएको छ । तर, जग्गाको मुआब्जा बुझे पनि सडक क्षेत्र खाली भएको छैन । सडकमा परेका घर तथा टहरा नहटाउँदा बजार क्षेत्रमा समस्या थपिँदै गएको छ । लमही कोइलावास सडक कालोपत्रे सुरु हुने बेला साविक सडकलाई आधार मानेर काम भएको थियो ।
पक्की नालासमेत नयाँ बनाइएन । पुरानै कायम गरियो । लमही–कोइलावास हुलाकी सडक निर्माण गर्ने क्रममा बजार क्षेत्रमा पर्ने संरचना पनि हटाउने योजना थियो । तर, स्थानीयले घरको मुआब्जा माग गरेपछि संरचना हटाउने काम रोकिएको थियो । अहिले पनि आफूहरुलाई जग्गाको जस्तै घरको मुआब्जा चाहिने स्थानीयको माग छ ।
सडकको दायाँबाँया १५÷१५ मिटर खाली हुनुपर्नेमा अहिले ७ मिटरको सडक मात्रै कालोपत्रे भएको छ । साविक सडकलाई नै आधार मानेर बजार क्षेत्रमा सडक निर्माण भएको थियो । अहिले बजारमा सवारी साधनको चाप बढेकाले दुर्घटनाको जोखिम समेत रहेको स्थानीयको भूपाल पाण्डेले बताए । अहिलेसम्म ४३ करोड ६१ लाख रुपैयाँ जग्गाको मुआब्जा वितरण गरिएको छ ।
जग्गाको मुआब्जा बुझ्ने तर, संरचना नहटाउने समस्या छ । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले प्रक्रिया पूरा गरेर सडक क्षेत्रमा पर्ने संरचना हटाउने बताए । लमही–कोइलावास सडक अन्तर्राष्ट्रिय सीमासँग जोडिएको छ ।