छाडा पशुकोभन्दा छाडा मान्छेको समस्या

खेमराज रिजाल
देउखुरी, २१ भदौ । एक महिनाअघि दंगीशरण गाउँपालिकामा आयोजना भएको जिल्लाका दशवटै पालिका प्रमुखहरुको अन्तक्र्रियामा छाडा चौपायाका विषयमा गम्भीर बहस भइरहँदा दाङ जिल्लाकै देउखुरी उपत्यकाको राप्ती गाउँपालिकामा भने छाडा मान्छेहरुको व्यवस्थापनमा समस्या भएको बताइएको छ ।

राप्ती गाउँपालिकाकै व्यवस्थापनमा जिल्ला समन्वय समितिले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा तुलसीपुर बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले छाडा चौपायाको निकै समस्या भएकाले सबै पालिकाले मिलेर छाडा चौपायाको व्यवस्थापन गर्नुपर्ने बताएका थिए । जवाफमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले भने आफ्नो पालिकामा त छाडा चौपायाको भन्दा छाडा मान्छेहरुको समस्या भएको बताए । देउखुरी क्षेत्र भारतीय सीमावर्ती क्षेत्रसँग पनि जोडिएकाले माग्नेहरुदेखि बेसहारा सडक मानवका कारण राप्ती गाउँपालिकालाई बढी समस्या भएको बताए ।

राप्ती पालिकामा सडक मानव आश्रम सञ्चालनमा आएकाले पनि जिल्लाका धेरै पालिकामा भेटिने सडक मानवलाई यहाँ पठाउँदा आर्थिक भार पनि थपिएको बताए । ‘हामीकहाँ सडक मानव आश्रम छ, अरु पनि राख्न सकौंला, तर तपाईहरुले सडक मानव यहाँ पठाउनुभयो भने आवश्यक बजेटसहित यहाँ पठाउनुहोला, यहाँ नअटे नेपालगञ्जको आश्रममा लगेरै पनि व्यवस्थापन गर्नेछौं’, अध्यक्ष विष्टले भने । छाडा मानवलाई आश्रय मात्र दिएर नहुने, उनीहरुको औषधि उपचार समेत गर्नुपर्ने भएकाले सबै पालिकासँग उनले आर्थिक सहयोगको पनि अपेक्षा गरे ।

प्रदेश सरकारले लुम्बिनी प्रदेशलाई सडक मानवमुक्त बनाउने उद्घोष गरिसकेकाले सबै पालिकाले यसमा गम्भीर भएर लाग्नुपर्ने पनि अध्यक्ष विष्टको राय थियो । प्रत्येक पालिकाले आफ्नो बार्षिक बजेटमा कम्तीमा ५ लाख रुपैयाँ विनियोजन गरेर राप्ती गाउँपालिकालाई उपलब्ध गराए जिल्लाभरका सबै सडक मानवलाई राप्ती गाउँपालिकाले व्यवस्थापन गर्ने पनि अध्यक्ष विष्टको अभिव्यक्ति थियो ।

असल अभ्यासका लागि साझा प्रतिबद्धता अभियानअन्तर्गत जिल्ला समन्वय समितिले एक महिना अघिदेखि हरेक पालिकामा महिनामा एक दिन जिल्लाभरका सबै पालिकाका प्रमुख र उपप्रमुख तथा स्थानीय प्रशासन र सुरक्षा प्रमुखको उपस्थितिमा अन्तक्र्रिया कार्यक्रम सुरु भएको छ । राप्ती गाउँपालिकामा भएको यो जिल्ला समन्वय समितिको दोस्रो अन्तक्र्रिया हो । कार्यक्रममा पालिका अध्यक्ष विष्टले आफूले नेतृत्व सम्हालेसँगै पालिकामा सबैभन्दा पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्यलाई दिएको बताए ।

पालिकालाई जंकफुड निषेधित क्षेत्र बनाउन पहल सुरु भएको बताउँदै अध्यक्ष विष्टले त्यसै अभियानअनुरुप सहभागी अतिथिहरुलाई कोल्ड ड्रिंक्सको सट्टा मही खुवाएर स्वागत गरिएको बताए । शिक्षालाई विशेष महत्व दिने अभिव्यक्तिसहित यो शैक्षिक सत्रदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई कुनै पनि शुल्क नलिने उद्घोष पनि गरे । ‘हामीले अब हरेक विद्यालयमा निजी स्रोतबाट शिक्षक राख्ने र अभिभावकबाट सहयोग शुल्क उठाउने अभ्यासलाई चालु शैक्षिक सत्रदेखि पूर्णरुपमा बन्देज गरेका छौं, विद्यालयलाई शिक्षक पालिकाले उपलब्ध गराउने छ’, अध्यक्ष विष्टले भने ।

सो अवसरमा शिक्षा तथा खेलकुद महाशाखा प्रमुख विश्वास विक र स्वास्थ्य शाखा प्रमुख नारायण रावतले शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको उपलब्धिका विषयमा जानकारी गराएका थिए । पालिकाले सिसहनियाँको स्वास्थ्य चौकीलाई १५ बेडको सामुदायिक अस्पतालका रुपमा विकास गरिएको र भालुवाङको प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञसहितको अस्पतालका रुपमा सञ्चालन गरिएको बताइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा दशवटै पालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शर्माले पालिकाका असल अभ्यासका विषयमा जानकारी गराउन आग्रह गरेका थिए । सो अवसरमा राजपुर गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकी, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री, बंगलाचुली गाउँपालिकाका प्रमुख तुलसीराम पुनलगायतले जिज्ञासा राखेका थिए ।

सो अवसरमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन थापा, जिल्ला प्रहरी प्रमुख बीरबहादुर वलीलगायत पालिकाका विभिन्न विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेपबहादुर वलीले गरेका थिए । समन्वय समितिको आयोजनामा हुने अर्को अन्तक्र्रिया आगामी असोज २८ गते शान्तिनगर गाउँपालिकामा हुनेछ ।

यसैबीच अन्तक्र्रिया कार्यक्रममा विभिन्न विषयमा निर्णयहरु भएका छन् । राप्ती गाउँपालिकाको आर्थिक, धार्मिक, सामाजिक, शिक्षा, स्वास्थ्यलगायत विविध विषयहरुप्रति छलफल गर्दा सहमति, सहकार्य र एकताका लागि स्थानीय पालिकाहरु एक भएर अगाडि बढ्ने, स्थानीय तहका साझा एजेण्डाको विषयमा सबै स्थानीय तहहरु एक आपसमा सहमत भई अगाडि बढ्ने निर्णय भएको छ ।

त्यस्तै राष्ट्रिय गौरवका आयोजनाहरु एउटै पालिकाले मात्र गर्न नसक्ने भएकाले यसमा सबै पालिकाहरु एक भएर अघि बढ्नुपर्ने पनि अन्तक्र्रियामा निर्णय भएको छ । छाडा चौपायाको उचित व्यवस्थापन स्थानीय तहबाट गर्ने निर्णय गरिएको जिल्ला समन्वय अधिकारी मोहन सुवेदीले बताएका छन् ।

त्यसैगरी सडक मानवहरुको उचित व्यवस्थापन गरी प्रदेशलाई नै सडक मानवमुक्त बनाउनका लागि सबै पालिकाहरुको सहकार्य हुने निर्णय भएको छ । त्यसका लागि राप्ती गाउँपालिकाले समन्वयकारी भूमिका निर्वाह गर्ने छ । साथै अन्तक्र्रिया कार्यक्रममा आगामी असोज महिनाको अर्को घुम्ती बैठक तथा अन्तक्र्रिया कार्यक्रम शान्तिनगर गाउँपालिकामा हुने निर्णय भएको छ । जिल्ला समन्वय समितिले सो बैठकमा सहभागिताका लागि दशवटै पालिकाका प्रमुख उपप्रमुख तथा स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेको छ ।