र्यापिड टेष्टमा खटिने तालिम प्राप्त टोली आज सुदूरपश्चिम पुग्दै
भिम चाैधरी
कैलाली, २४ चैत्र । सुदूरपश्चिम प्रदेशकाे कैलाली र कञ्चनपुर जिल्लामा कोराना भाईरस (कोभिड–१९) को र्यापिड टेष्टमा खटिने तालिम प्राप्त टोली आज आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएक ७ सदस्यीय तालिम प्राप्त टोली आज सुदूरपश्चिम प्रदेश आउन लागेको प्रादेशिक स्वास्थ्य निर्देशनालय धनगढीका निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिनुभयाे ।
‘र्यापिड टेस्टिङका लागि ७ सदस्यीय तालिम प्राप्त टोली काठमाडौँबाट आज आउँदैछ, टोलीमा को–को हुनुहुन्छ अाएपछि थाहा हुन्छ।’ निर्देशक अवस्थीले भन्नुभयाे । कैलाली र कञ्चनपुरमा चार जनामा कोरोना संक्रमण देखिएपछि सरकारले डेन्जर जोनमा राख्दै र्यापिड टेस्टिङ गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले र्यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिबाट कोरोनाको परीक्षण गर्ने तथा पोजेटिभ देखिएकाहरुलाई पीसीआर प्रविधिबाट परीक्षण गरेर एकिन गर्ने निर्णय गरेको थियो। सुरुमा कैलालीमा दुबईबाट आएका धनगढी उप-महानगरपालिका वडा नम्बर ५, हसनपुर का ३१ वर्षीय युवकमा कोरोना भाईरस पोजेटिभ देखिएको थियो। पछिल्लो पटक युवककी भाउजुमा पनि कोरोना पोजेटिभ देखिएको छ।
यस्तै, भारतबाट फर्किएका कैलाली र कञ्चनपुरका थप दुई जना पुरुषमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएपछि सुदूरपश्चिमलाई डेन्जर जोनमा राख्दै दुवै जिल्लामा र्यापिड टेस्टिङ गर्न लागेको हो। काठमाडौँबाट आउने टोलीले पहिलो चरणमा कैलाली र कञ्चनपुरका क्वारेन्टाईनमा राखिएका सबैको नमुना परिक्षण गर्ने बताईएको छ।
सुदूरपश्चिममा भारतबाट फर्किएका झण्डै दुई हजारलाई क्वारेन्टाईनमा राखिएकोमा कैलाली र कञ्चनपुरमा छ सय जना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
