राजनीतिक सदुपयोगका लागि गठबन्धन  : केन्द्रीय सदस्य दहित

जनताको साथमा कांग्रेस अभियान
गोरक्ष समाचारदाता
दाङ, १९ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि डा गोपाल दहितले राजनीतिक सदुपयोगका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसले सुरु गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानअन्तर्गत नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले शनिवार घोराहीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य दहितले सत्ता प्राप्तिका लागि नभएर राजनीतिक सुदपयोगका लागि गठबन्धन गर्नुपर्ने आवश्यक रहेको बताएका हुन् ।

‘सत्ताका लागि मात्रै गठबन्धन होइन, मुलुक चलाउनका लागि बहुमत आवश्यक छ’, केन्द्रीय प्रतिनिधि समेत रहेका दहितले भने, ‘कांग्रेसले माओवादीलगायतका दलहरूलाई नमिलाउँदा कम्युनिस्ट मिल्ने खतरा छ ।’ विगतको निर्वाचनको तुलनामा आउने निर्वाचनमा कांग्रेसले सिट बढाउने गरी गठबन्धन गरेर जाने बताए । नेता दहितले कांग्रेसले २०७४ सालको निर्वाचनको घटना दोहो¥याउन नदिनका लागि विचार र घोषणापत्र नमिले पनि राजनीतिक सदुपयोगका लागि कम्युनिस्टहरू गठबन्धन गरेर जाने तयारीमा रहेको बताए ।

उनले गठबन्धनमा अन्य मधेस केन्द्रित दलहरू समेत सामेल हुनसक्ने बताए । निर्वाचनमा जाँदा विगतमा कांग्रेसले दाङमा गरेका विकास निर्माणका योजनाहरू सूचिसँगै अगामी योजना लगेर जनताका माझमा जान आग्रह गर्दै त्यसो गर्दा जनताले दाङको विकासमा कांग्रेसले गरेको योगदान सम्झने बताए । उनले त्यो सूचि नयाँ पुस्ताका लागि समेत काम लाग्ने बताएका हुन् । नेता चौधरीले निर्वाचनलाई प्राथामिता कसलाई भन्ने नभएर हरेक नेता तथा कार्यकर्ताहरू संघ र प्रदेशमा कांग्रेसलाई विजयी बनाउने सोचका साथ लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेले विगतका निर्वाचनमा भएका कमीकमजोरीलाई सच्याउँदै आगानी निर्वाचनका लागि माहोल बनाउन लाग्नुपर्ने बताए । केन्द्रीय सदस्य घिमिरले त्यसका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूलाई व्यक्तिको उम्मेदवार हुने भन्नुभन्दा पनि कांग्रेसलाई जिताउनुछ भनेर लाग्न समेत आग्रह गरे । कांग्रेसलाई सुदृढ गर्दै बहुमत प्राप्त पार्टी बनाउन लाग्नुपर्ने बताए । जनतासँग कांग्रेस अभियान पार्टीले सुरुवात गरेको भन्दै अभियानका क्रममा कांग्रेसले हालसम्म गरेका कामहरूको प्रचार गर्दै मतदातालाई बढीभन्दा बढी मतदानमा सहभागी गराउने, जनताका कुरा सुन्ने र समस्या समाधानका लागि पहल गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले अभियानका क्रममा जनताको घरदैलोमा पुगेर समस्या बुझ्ने र समाधानका लागि पहल गर्दै आगामी निर्वाचनमा कांग्रेसलाई प्रमुख शक्तिका रूपमा स्थापित गराउनका लागि जनतासँग कांग्रेस अभियान सुरु भएको भन्दै अभियानमा जोडिन सबैलाई आग्रह गरेका थिए । जनताको घर–घरमा पुगेर कांग्रेसले गरेका महत्वपूर्ण कामहरूका बारेमा बुझाउन नसक्दासम्म पार्टी संगठित र व्यवस्थित बन्न नसक्ने भन्दै सहभागीले टोल समितिमा प्रतिनिधित्व गर्नेदेखि केन्द्रीय तहका नेताहरू आ–आफ्नो वडामा पार्टीका लागि खटिनुपर्ने बताएका थिए ।

कांग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा संविधानसभा सदस्य राजु खनालले संगठन सुधार गर्दै जनताको घरमा कांग्रेसलाई पु¥याउनका लागि अभियान चलेको भन्दै अभियानमा सबै तहका नेता तथा कार्यकर्ताहरू जोडिन आग्रह गरे । उनले त्यस क्रममा कतिपय जनता विचार नमिल्नेसँग किन गठबन्धन गरेको भन्ने भ्रममा रहेकाले गठबन्धनको आवश्यकता र औचित्यको बारेमा जनतालाई जानकारी दिएर सचेत बनाउनुपर्ने बताएका थिए ।

नेपाली कांग्रेस दाङ जिल्ला सभापति शंकरप्रसाद डाँगीले जनतासँग कांग्रेसलाई जोड्दै आउने मंसिर ४ गतेको निर्वाचनमा पार्टी र उम्मेदवारलाई सफल बनाउने अभियानमा लाग्न जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । पदमा बसेर पार्टीले दिएको जिम्मेवारीअनुसार काम नगर्ने तर चोकमा बसेर पार्टीकै विरोध गर्ने प्रवृत्तिलाई त्याग्न समेत सबैलाई आग्रह गरे ।

‘पार्टीलाई संगठित र मजबुत बनाउँदै आउने निर्वाचनमा प्रदेश र संघमा विजयी गराउनुपर्ने दायित्व छ । त्यसका लागि आफू रहेको वडामा सबै तहका नेता कार्यकर्ताहरू जुटौँ’, जिल्ला सभापति डाँगीले भने, ‘पार्टीले दिएको जिम्मेवारी पूरा नगर्ने तर चोकमा जम्मा भएर आफ्नै पार्टीका नेताहरूको कुरा काट्ने र विपक्षीलाई बल पुग्ने काम बन्द गरौँ ।’

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति विरकेशवरी गौतमले राजनीतिक व्यवस्था परिवर्तनका लागि योगदान दिएको पार्टीका नेताहरू बदलिन नसक्दा कांग्रेस कमजोर बन्न पुगेको बताए । सत्तामा जाने र जनताका मुद्दा भुल्दा तल्लोवर्गका जनता कांग्रेससँग टाढिन पुग्दा पार्टीले निर्वाचनमा पराजय भोग्ने गरेको भन्दै जनताका समस्या बुझेर उनीहरूको अवस्था बदल्न नसक्दासम्म कांग्रेसमाथि उठ्न नसक्ने बताएका थिए । उनले त्यसका लागि कांग्रेसलाई जनतासँग जोड्दै कांग्रेसको नर्सरीका रूपमा रहेको नेपाल विद्यार्थी संघलगायतका नेपाल महिला संघ, तरुण दललगायतका भ्रातृ संघसंस्थाहरूलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री खगराज पाण्डे, नेपाली कांग्रेस दाङका पूर्व पार्टी सभापति मोहनलाल वली, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश प्रवक्ता प्रचण्डविक्रम न्यौपाने, लुम्बिनी प्रदेशका उर्जा, सिंचाइ तथा जलस्रोत राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य तथा क्षेत्र नं २ (क) मा खटिएका प्रतिनिधि टेकबहादुर वली, लुम्बिनी प्रदेश सदस्यद्वय जानका केसी र पुष्पा श्रेष्ठ, महाधिवेशन प्रतिनिधि भूपबहादुर डाँगी, महाधिवेशन प्रतिनिधि गोपालराज शर्मा, नेपाली कांग्रेस क्षेत्र नं. २ (क) का सभापति प्रकाश श्रेष्ठ, नेपाल महिला संघ दाङका संस्थापक अध्यक्ष बिमला योगी, नेपाल महिला संघ दाङका अध्यक्ष गोमा रावत, नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष अमरबहादुर खड्का, नेपाली कांग्रेस क्षेत्र नं २ (क) का सचिव शिशिर अधिकारी, कांग्रेसका नेताहरू दुर्लभ केसी, खिमबहादुर बस्नेत, दीपक न्यौपाने, धनिराम चौधरीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण सचिव हिमबहादुर डाँगीले गरेका थिए ।