टिकटका आकांक्षी र विरासतको जागिर

  •   
  •  

केपी सुवेदी
प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन नजिकिँदैछ । निर्वाचनलाई मध्यनजर गरेर राजनीतिक दलहरुले निर्वाचन लक्षित कार्यक्रम अगाडि बढाइरहेका छन् । विभिन्न जनसहभागिता थप्ने प्रयास धेरै–थोरै सबै दलले गरेका भए पनि अरुको तुलनामा बढी सक्रियता नेकपा एमालेले देखाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली मेची महाकाली दौडाहामा छन् । यस क्रममा ओलीले आफूलाई राजनेता भनाउन चाहिरहेको प्रष्टसँग भनिरहेका छन् । कुराको प्रस्तुती असभ्य, उग्रपन्थीको शैलीमा आफूलाई अरुले तपाईं नभने पनि मपाई भनिरहेका छन् । संसदमा झण्डै दुईतिहाइ संख्यामा सांसद भएको पार्टी आफैले अदालतबाट छुट्याएर सानो गराएको कुरा बिर्सेको बहाना गर्दै सरकारबाट सडकमा आउनुपरेको झोक झारिरहेका छन् ।

एकातिर संवैधानिक संकट ल्याउन खोजेको आरोपको जोडदार खण्डन नगरी नहुने दबाबमा छन् । अर्कातिर भर्खरै सकिएको स्थानीय तहको निर्वाचन परिणामले झस्काएकोले चुनावी गठबन्धन आवश्यकता महसुस गरिरहेका छन् तर अभिव्यक्त भाषणको भाव सरकारबाट बाहिरिनुपरेको पीडा झल्किरहेको हुन्छ । अधिकांश सभाहरुको सम्बोधनमा सरकारमा जान हत्ते गरिरहेको बाहेक अरु बुझिँदैन, उनको रवाफ र कार्यकर्ताको भाव–भङ्गीमा हेर्दा त्यहाँ ओली र उनका कार्यकर्ताको सम्बन्ध राजा र रैतीको जस्तै देख्न सकिन्छ ।

पार्टीभित्रको फरक मत विस्तारै निस्तेज भइरहेको छ । किनभने आजभोलि एमालेको मञ्च ओलीको उत्तराधिकार सम्हालेका शंकर पोख्रेल उत्ताउलो भाषामा चिच्याइरहेको सुनिन्छ र फरक मतको नेतृत्वकर्ता भीम रावल नेपथ्यमा मौन बसिरहेका छन् । यसको खास रहस्य टिकट वितरण नजिकिएकाले हुनसक्छ ।

चुनाव नजिकिँदै गर्दा सत्ता गठबन्धन भने भागबण्डा नमिलेर एकअर्कालाई दोष दिन गठबन्धनको सीमा मिचिरहेका छन् । यसरी सीमा मिचेर साझेदार दलको हैसियतप्रति धावा बोल्ने एकजना व्यक्ति जसले गठबन्धन औचित्यहीन साबित गर्न मद्दत गरिरहेका छन् । उनी आफूलाई महान क्रान्तिकारी भन्ने ठानेका छन्, उनी हुन् माओवादी केन्द्रका अध्यक्ष नेता पुष्पकमल दाहाल (प्रचण्ड) जसले हजारौँ कांग्रेको घाँटी निमोठ्दा–निमोठ्दै अस्तिङ्खव संकटमा परेर का‘ंग्रेसकै उदारताले सिंहदरवार प्रवेश पाए र फेरि पनि कांग्रेसलाई नै प्रहारको निशाना बनाइरहेका छन् ।

गत स्थानीय चुनावमा छोरीलाई जिताउन कांग्रेसको काँध चढेर कांग्रेसलाई धम्क्याए । उनको छोरीले हारे देशमा उथल–पुथल ल्याउने घुर्की लगाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई तर्साए । अहिले फेरि धम्क्याउँदै छन् र कांग्रेसले आफूले त्यागेर उनलाई धेरै ठाउँ छोडिदिनपर्ने, चुनावमा भोट हालेर जिताउनैपर्ने । जव सिट बाँडफाँड सकिन्छ र त्यसप्रति कांग्रेस कार्यकर्ताबाट विरोध आउँछ, त्यतिखेर फेरि पनि धम्की सहन तयार भए हुन्छ कांग्रेस ।

यसपटक भाइ, बुहारी, ज्वाईं क–कसलाई जिताउन्पर्ने हा ? का‘ंग्रेसले खुरुक्क मत दिएर पार्टी अनुशासन पालना गरेकै हुनुपर्छ । अस्ति एउटा कार्यक्रममा प्रचण्डले भनिसके, कांग्रेसले माओवादी जंगलबाट आएको हो भन्ने नबिर्सियोस् । हामी फेरि पनि त्यतैतिर फर्किन नपरोस् । यो केभन्न खोजेका हुन् प्रचण्डले र के सुनेका छन् देउवाले ? नीति, सिद्धान्त र दर्शनले विपरीत पार्टी र त्यसका नेता कांग्रेस कार्यकर्ताको मत पाउनयोग्य हुन सक्तैनन् । निर्वाचन आचारसंहिता मान्ने हो भने यस्तो धम्की आचारसंहिता विपरीत छ ।

पार्टीले आफ्नो जनमतको परीक्षा गर्ने लोकतान्त्रिक आचारसंहिता विपरीत आम निर्वाचनमा विपरीत दर्शन मान्ने पार्टीसँग सिट बाँडेर आफ्नो कार्यकर्तालाई मतदान गर्न वाध्य गराउने नेतृत्व लोकतन्त्र विरोधी हो । तिनीहरुबाटै प्रताडित पीडित कार्यकर्ता चुनावी स्पर्धामा जनमतबाट अनुमोदित हुनपाउने सुनौलो अवसरबाट आफ्नै पार्टीले वञ्चित गर्ने निर्वाचन प्रणाली ल्याएर लोकतन्त्रको कलंक बन्ने ऐतिहासिक गल्ती कांग्रेस नेतृत्वले गरेको छ र यो आम निर्वाचन गठबन्धन गरेर जाँदा झनै ठूलो गल्ती हुनेमा दुईमत छैन ।

पाँच वर्षमा एकपटक जनताबाट आफूलाई पर्खने अवसरमा धेरै कार्यकर्तालाई वन्चित हुनुपर्ने भयो नै । एकसय पैसठ्ठी संसदका उम्मेदवार र तीन सय तीस प्रदेशसभा सदस्यका उम्मेदवार आफ्नै पार्टीका हुन्थे भने राजनीतिमा लामो समय आफ्नो सीप, क्षमता र उर्जाशील समय लगानी गरेको प्रतिफल प्राप्त भएको महसुस गरिने थियो हार जित जेसुकै भए पनि लोकतन्त्रका हिमायतीहरुसँग सहर्ष स्वीकार गर्ने संस्कार हुन्छ तर भगबण्डाबाट प्राप्त सीमितरुपमा प्राप्त गरेको कोटामा पनि नेतृत्वले त्यागी, निष्ठावान भन्दा निकटकालाई हेरेर टिकट दिइयो भने वर्षौं लगाएर बनेको संगठनात्मक ढाँचामा धाजा पर्नसक्छ ।

किनभने नेतृत्वले संगठनलाई स्वार्थमा भँजाएर सत्ताको पछि अनैतिक साँठगाँठ ग¥यो भने दासहरु मात्र चुप लागेर बस्नसक्छन् । इमानदार कार्यकर्ताले विद्रोह गर्छन् । आशा गर्ने सबै सम्भावनाहरु लगभग समाप्त भइसकेको छ । किनभने नेतृत्व नेतृत्वहीन मनोदशाबाट ग्रस्त भएर आफ्नो पार्टीको भन्दा अर्काको पार्टीको बढी चिन्ता गरिरहेको देखिँदैछ । तैपनि बचेको अवसरलाई सदुपयोग गर्न सही ठाउँमा सही मानिसको उम्मेदवारी हुने गरी निर्णय गर्ने अवसर बाँकी रहेकोले त्यतातिर नेतृत्वको ध्यानाकर्षण होस् भन्ने पार्टीका शुभचिन्तकहरुको चाहाना हुनु स्वाभाविक छ तर नेतृत्वका लागि यो पनि चुनौतीपूर्ण किन छ भने पुरस्कार र दण्डको व्यवस्था पार्टीमा छैन ।

यस अघिका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारको विरुद्ध लागेका व्यक्ति अहिलेका आकांक्षी भएको सुनिन्छ । अझ केही यस्ता कार्यकर्ता नेतृत्वको नजरमा टिकटका लागि योग्य होलान् जसले आफू उम्मेदवार भएको चुनावमा बाहेक अरु चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई मत दिएको छैन । आफ्नो साथीले टिकट पाएको रिसले विरोधीको चिह्नमा मत दिएको छ । त्यो पार्टीमा औपचारिक उजुरी परेको छैन र परेको भए पनि कार्यान्वयन गर्ने पद्धति बसेको छैन ।

जब आत्मसात् र अन्तरघात फरक हुन् भन्ने व्यवहारमा ल्याएर त्यसको सही अभिलेख राखिन्न तबसम्म इमानमाथि न्याय र बेइमानलाई दण्डित गरिँदैन । अहिलेका कुनै पनि राजनीतिक दलमा हुन सकेको देखिँदैन । वर्षौं भइसक्यो लाखौँले त्याग गर्छन् तर विरासतको जागिरजस्तै थोरैलाई बर्सेकै हुन्छ ।