हरायो दयाको भावना

  •   
  •  

युवराज शर्मा
मानिस सामाजिक प्राणी हो । समाजबिना एक्लै बस्न सक्दैन । जुन मानिसमा दयाको भावना छैन । उसमा ममता, श्रद्धा, अनुशासन पाइन्न । मानव समाजमा परापूर्वदेखि चल्दै आएको सामाजिक व्यवहार र आत्मानुशासन पाइन्न । तर भनिन्छ– परिवर्तनको परिणाम हो ।

समाजमा आपसी विशवास, आस्था र ममता देखिँदैन । यस्तो अवस्था देखिनु रहनसहनमा विलासी जीवनशैली देखिएको छ । आपसमा अहंकार, आडम्बर प्रवृत्तिको विकास भएको समाजशास्त्रीहरुको भनाइ छ । एकल परिवार होस् वा संयुक्त परिवार होस्, उनीहरुका सदस्इहरुबीचमा आपसी सम्बन्ध गहिरो देखिन्न । समाजोपयोगी वातावरण पनि गाउँघरमा हराउँदै छ । ए

उटा मान्छे देखेर अर्को मान्छे डराउने वातावरण गाउँघरमा बढिरहेको छ । आपसमा गहिरो सम्बन्धमा स्थापना हुनुपर्ने लोकतान्त्रिक गणतन्त्रमा आपसी दूरताको जीवनशैली बनेको छ । गाउँघरमा पानी खान माग्दा दयाको भावनाले पानी खान दिने चलन थियो । अहिले हरायो । यात्रा गर्दा बोत्तलमा पानी बोकेर हिड्नुपर्छ ।

२०३४ साल माघ महिनाको यात्राको झल्को दर्शाउन चाहन्छु । दाङबाट कर्णालीको मुगु जिल्लामा प्राथमिक विद्यालय निरीक्षक पदमा सरुवा भएर जाँदा नेपालगञ्ज धम्बोझी चोकबाट पैदयात्रा गर्दै सुर्खे, दैलेख, कालीकोट (त्यस समयको तीब्रीकोट जिल्ला महावै हिमछादित पहाड पार गरेर तिलानदीको तिरैतिर जुम्ला जिल्ला सदरमुकाम खलंगा पुगेको थिएँ । त्यहाँबाट पनि पैदल बाटो हिमछादित डाँफेलेक र चङखेली लेख पार गर्दै मुगु जिल्लाको गमगढी सात दिनको सातौँ दिन बेलुकी चार बजे पुगेको थिएा ।

मेरो झोला २५ केजीको भारी थियो । यो यात्राको तीतो अनुभव छ । उकाली, ओरालीको गोरेटो बाटो पार गर्दा सबैभन्दा कठिन पैदल बाटो महावै लेख पार गर्दा भोगेको थिएँ । सात दिन पैदल यात्रामा बास र गासको समस्या थिएन । साथमा बटुवाहरु र भरियाहरु भेटिन्थे । उनीहरुले मलाई जुम्ला पुगेपछि गोर्खाली आया छन्, हाम्मा साथमा भन्थे । नेपाली शुद्ध शब्दको भाषा पहिलो पटक सुनेथेँ । बाटोमा गोरेटो बाटो कठिन थियो ।

गाउँमा बास माग्दा कसैले पनि दिन्नौा भन्दैनथे । माया र दयाको भावना देखाउँथे । उनीहरुलाई घरमा पाहुना आउनु लक्ष्मी घरमा प्रवेश गरेको ठान्थे । कतै कुनै ठाउँमा पनि बस्न र खान समस्या भोग्नु परेन । घरमा केटाकेटीहरु पाहुना देखेर रमाउँथे । उनीहरुमा देखिने हँसिलो र फुर्तिलो स्वभावले भविष्य उज्ज्वल मान्थे ।

सरकारी कर्मचारीहरुमा चाकडी, चाप्लुसी र चुक्लीको ज्ञान नभएका र त्यस्ता विषयहरुमा सप्पको विकास नभएका व्यक्तिहरु कर्णालीको जुम्ला र मुगु पठाउँदा रहेछन् । त्यस्ता व्यक्तिहरु पहुँच र सम्बन्ध स्थापना गर्न नसक्ने हुँदारहेछन् भन्ने गहिरो ज्ञान भयो । मन दुखेन । नयाँ ठाउँ र समाजको व्यवहार सम्बन्धमा अनुभूति भयो ।

हिमाली भूभागमा बस्ने नागरिकको जीवन शैली, शिक्षा, स्वास्थ्य र सामाजिक व्यवहार जान्ने अवसर जाग्यो । सर्वप्रथम मुगु जिल्लाको नाम मुगु हुनुको कारण सम्बन्धमा अध्ययन गर्ने मनसाय जिशिअ गोपालप्रसाद शर्मा समक्ष राखेको थिए तर एक वर्ष बिताएका जिशिअलाई ज्ञान रहेनछ । उनी समय बिताउने क्रममा मुगुबाट जुम्ला जाँदारहेछन् । त्यहाँ प्लेन करेर काठमाडौं जाने रहेछन् । एक वर्षमा १५ दिन बितेको पाइयो ।

उनी बढुवाको नम्बर बढाउन मुगु आएका रहेछन् । स्थानीय गाउँले शिक्षक याङ्गेल लामालाई सोध्दा वास्तविक मुगु जिल्लाको नाम बौद्धगुम्बा मुगुबाट नामाकरण भएको बुझियो । उनी मुगु गुम्बा नजिक भएको प्राथमिक विद्यालयका शिक्षक रहेछन् । त्यो स्कूल मेरो निरीक्षण क्षेत्रमा पर्दो रहेछ । चैतदेखि स्कूल खुल्छ भन्ने जानकारी शिक्षकको थियो ।

असार २५ गते मुगु बौद्धगुम्बा हेर्न जाने गरी उत्तरी क्षेत्रको यात्रामा लागेको थिएँ । मुगु दुई क्षेत्रमा विभाजित छ । उत्तरलाई कएन र पश्चिमी–दक्षिणलाई खत्याउ भन्दारहेछन् । मुगु कर्णाली नदीको किनारैकिनार पैदल बाटो यात्रा गरियो । साथमा जिसिअ र प्रजिअ पनि थिए । यात्रामा ६ जनाको लस्कर थियो । प्रजिअका अङ्गरक्षक प्रहरी पनि थिए । बाटोमा बास बस्न र खान कुनै दुःख भएन ।

करिब १३० किमि दूरीमा पर्ने मुगु कएन क्षेत्रको मुगु गुम्बा पुगेपछि मुगु बौद्ध गुम्बा हेर्न अर्को दिन बिहान गएको थिएँ । करिब पाँच हजार वर्ष पुरानो बौद्ध गुम्बा रहेछ । यसको महत्व तिब्बतमा धेरै छ । उनीहरुले नमोबुद्ध गुम्बा मुगुलाई धेरै सम्झन्छन् । त्यहाँबाट नेपाल–चीन (तिब्बत) सीमा २० किमि दूरीमा पर्दोरहेछ । नून, तेल, लत्ताकपडा, घरेलु सामानहरु खरिद गर्ने थलो पनि रहेछ तर गोरेटो र घोरेटो बाटोका कारण आउजाउमा कठिन थियो ।

यदि सरकार चलाउनेहरुमा नागरिकप्रति दयाको भावना भएको भए सडक, विद्युत र खानेपानीको सुव्यवस्था गरिदिने थियो । शिक्षा र स्वास्थ्यमा सुधार गरिदिने हो भने नेपाल सुन्दर, शान्त हुने थियो भनाइ नागरिकको सुनियो । उत्तरतर्फ २० किमी दूरीमा भएका स्थानहरु उज्यालो बत्तीले झिलिमिली छन् तर नेपाली भूभागहरुमा अन्धकार देख्दा नागरिकको मन दुःखी छ, भनाइ सुनियो ।

नेपालगञ्जदेखि मुगुसम्मको जनजीवनलाई अध्ययन गर्दा नेपाललाई एकसूत्रमा बाँध्ने राजा पृथ्वीनारायण शाह थिए । नेपालको गौरव बढाउने कार्यकारिणी प्रधानमन्त्री जंगबहादुर राणा थिए । जसले ब्रिटिस–इण्डियालाई झक्याएर नेपालको सीमा रक्षा गरेका थिए । बेलायतको बडामहारानी एलिजाबेथकहाँ भेट्दा उनका सामू झुकेनन् । भारत स्वतन्त्र भएपछि भारतीय नेताहरुले नेपाललाई आफ्नो चंगुलमा राख्ने इच्छा गरे पनि राजा महेन्द्र शाहले उनीहरु समक्ष नझुकेर राजमार्गको शिलान्यास गरे ।

उनले दातृ देशहरुको सहयोगमा पूर्व–पश्चिम राजमार्ग बनाएर नेपालको स्वाभिमान बढाएका थिए । चीनसँग दैत्य सम्बन्ध स्थापना गरी काठमाडौंदेखि कोदारीसम्मको राजमार्ग बनाउन लगाएका थिए । नेपाली भाषालाई राष्ट्रिय भाषा र सरकारी कामकाजको भाषा बनाए र नेपाली भाषालाई अनिवार्य पाठ्य विषय पनि बनाएका थिए । त्यस समयको सामाजिक वातावरण सहयोगात्मक थियो । मानव समाजमा दया र मायाको भावना आपसमा थियो ।

नेपालमा गणतन्त्र आएपछि नेताहरुमा छाडा प्रवृत्ति, समाजमा डर र त्रासको भावना बढ्दै गयो । सरकार चलाउनेहरुमा अन्तरकलह आपसी द्वन्द्व मात्र देखियो । समाजमा हिंसा, हत्या, बलात्कार, अन्तरकलह, प्रतिस्पर्धा, धोका, विश्वासघात जस्ता प्रवृत्तिहरु बढ्दै गएका छन् । सामाजिक भावनामा कालोबादल छाएको छ ।

दलीय राजनीतिले वातावरणले अन्तरकलह चर्काएको छ । जनप्रतिनिधिहरुमा सेवाभावभन्दा शासक प्रवृत्ति देखिन्छ । तलव खाने जनप्रतिनिधिहरु भएपछि कर्मचारीवर्ग र उनीहरुमा फरक के पो छ र ? यस्तो वातावरणमा मानव समाजमा दाया, माया र सद्भाव रहन्न । स्वार्थी र स्वइच्छाचारी प्रवृत्ति बढ्छ । यसले के देखाउँछ भने मानव समाजमा हरायो, दयाको भावना ।